दोस्रोपटक प्रत्यारोपण जोखिमपूर्ण हुन्छ : डा. सुन्दरमणि दीक्षित

Sundar_Mani_Dixit
लोकपाटी न्यूज

काठमाडौँ। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा धेरै धक्का पुगिसकेकाले दोस्रो पटकको मिर्गौला प्रत्यारोपण जोखिमपूर्ण रहन सक्ने बताएका छन्। उनले पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको लामो समय भइसकेको र प्रधानमन्त्रीमाथि दबाब धेरै भएकाले नयाँ मिर्गौलालाई उनको शरीरले धान्न सक्ने नसक्ने अहिले यसै भन्न नसकिने बताए।

डा. दीक्षितले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णय सकारात्मक भएकाले यसको सबैले स्वागत गर्दै प्रत्यारोपण सफल होस भन्ने कामना गर्नुपर्ने बताए। ठुला नेता र प्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले ठुला र जटिल रोगहरूको उपचार स्वदेशमै गर्दा नेपालको नाम पनि विश्वमा जाने र नेपालमा भएका चिकित्सकहरूको पनि मनोबल बढ्ने उनको भनाई छ।

उनले नयाँ मिर्गौलाको काम गर्ने क्षमतालाई प्रधानमन्त्री ओलीको शरीरले ग्रहण गर्न सके खासै समस्या नआउने तर, ग्रहण गर्न नसकेको अवस्थामा समस्या आउने गरेको उदाहरण पहिले पनि धेरै देखिएकाले कस्तो काम गर्छ त्यसमा भर पर्ने बताए। डा. दीक्षितले ओलीले देशका लागि केही गर्ने मनसाय राखे पनि उनलाई लामो समयदेखि रोगले च्यापेको र पछिल्लो समयमा राजनीतिले पनि साथ नदिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्