विदेश जान श्रम स्वीकृति रोकियो

Shram_Rojgar_Mantralaya
लोकपाटी न्यूज

काठमाडौं। चीनबाट फैलिएको कोरानो भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। कोभिड–१९ को सन्त्रास कम नभएसम्मका लागि श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले जानकारी दिए।

अत्यावश्यक बाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिएको अवस्थामा कोरोनाको जोखिम रहेका मुलूकमा नेपाली नपठाउन लागिएको उनको भनाइ छ। ‘सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलूकसँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ’, मन्त्री यादवले भने, ‘त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो।’

कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उनको भनाइ छ। अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरूलाई हाललाई स्वीकृति पत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको थियो।

दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ। विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए।

ठूलो सङ्ख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलूकमा कोभिड–१९ को संक्रमण देखिएको छ। दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र ओमानमा पनि कोरोना  सङ्क्रमित फेला परिसकेका छन्। कोरियामा झन्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेसामा संलग्न छन्। त्यस्तै मध्यपूर्वी मुलूकमा पनि झन्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्याङ्क छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्