कोरोना प्रभावित देशमा अध्ययन अनुमतिमा रोक

Education ministry
लोकपाटी न्यूज

काठमाडौं। विदेशमा उच्च शिक्षा अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रोक लगाएको छ। विद्यार्थीको स्थास्थ्यलाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संवेदनशील भनेका देशहरुमा अध्ययनका लागि जान रोक लगाएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

डब्लुएचओको प्रतिवेदनलाई आधार मानेर तत्काललाई ती देशहरुमा अध्ययनमा जान रोक लगाइएको र विस्तारै खुलाउने उनले बताए। सोमबार बसेको मन्त्रिस्तरीय बैठकले चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटाली इरानलगायत कोरोना प्रभावित देशहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई अनुमति पत्र उपलब्ध नगराउने निर्णय गरेको हो।

विश्व स्वास्थ्य संगठनले अद्यावधिक गरेको पछिल्लो प्रतिवेदनका आधारमा कोरोना भाइरसबाट प्रभावित नभएका देशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई साविकबमोजिमै अनुमति दिइने मन्त्रालयले जनाएको छ।

शिक्षा मन्त्रालयले छात्रवृत्तिसम्बन्धी ऐन २०२१ को दफा ३ (ख) र छात्रवृत्ति नियमावली २०६० को नियम २७ बमोजिम वैदेशिक अध्ययन अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ। मंगलबारबाट लागु हुने यो निर्णय नयाँ सूचना प्रकाशन नभएसम्म जारी रहने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्