नरेश दाईको चस्मा

प्रतिकात्मक तस्वीर
लाेकपाटी न्यूज

-देविका तिमिल्सिना 

नरेश दाई अर्थात प्रख्यात अर्थशास्त्री । टोल छिमेकका ठूला वुद्धिजीवी । देशको अर्थशास्त्रका । राष्ट्रका गहना । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार । राष्ट्र बैंकका मुख्य अधिकृत । नेपाली अर्थशास्त्रका विश्लेषक र राष्ट्र विकाशका होनहार जानिफकार । उनको दृष्टिकोण राष्ट्रको दृष्टिकोण । उनको हेराइ राष्ट्रको हेराइ । त्यो हेराइको माध्यम वा दृष्टिकोण उनको चस्मा ।

उनको चस्माको विशेषता प्लस माइनस एउटै ग्लासमा । प्लस चाहिए आफैंप्लस हुने माइनस चाहिए आफैं माइनस हुने नयाँ नामको अद्भूत जिनिस । उनले काठमाडौंका प्रख्यात चस्मा निर्माता रत्नमान बज्राचार्य कहाँ किनेका हुन् । उनले साथीभाइको संगममा भने, ‘मलाई रत्नमानले सोह्र हजार लियो यो चस्माको । चस्मा बढा गुणग्राही हो । अहिले खोइ के के भयो चस्माको पावर तलमाथि भए जस्तो छ । राम्रो दृष्टि दिइरहेको छैन । अब यसलाई फेर्नु पर्ने हुनसक्छ । आँखा विशेषज्ञ र चस्मा विशेषज्ञ कहाँ जानु पर्‍यो । कहाँ कसलाई देखाउने होला ?

मित्र मिलनमा जम्मा भएका अनेक विशेषताका पात्रहरु चिया गफमा गफिरहँदा एउटा विषयको प्रक्षेपण भयो नरेश दाईबाट । सबै विषय विज्ञ बनेर अभिव्यक्त हुन थाले एकएक गरेर । नरेश दाईलाई आजकल पैसा बढी भएको छ । जहाँ पनि बढी खर्च गर्न तम्सनु हुन्छ–एक अगुवा मित्र कुरो काट्छन् ।

जहाँ पायो त्यहीं, जस्तो पायो त्यस्तोलाई दाइको जस्तो चस्मा र आँखा देखाउन हुन्न । दृष्टि भ्रमको खतरा बढ्छ– एक पूर्व सह-सचिव मित्र सल्लाह दिन्छन् ।

आँखा त्यसै संवेदनशील हो । त्यहाँमाथि त्यस्तो नामको चस्मा । जुन विशिष्ट गुणयुक्त दामी छ । यसमा धेरै सोच विचार गरेर मात्र कहाँ कसलाई देखाउने निर्णय लिनु पर्दछ- एक समाजशास्त्रीले गम्भीर भएर भने ।

नरेश दाई बोल्न खोज्दाखोज्दै एक राजनीतिकर्मीले उछिनेर भन्यो, ‘जहाँ पायो त्यहीं नरेश दाईको आँखा जँचायो भने दृष्टि भ्रम हुने मात्र होइन, उहाँको दृष्टिकोण नै बद्लिन सक्छ । नरेश दाईको दृष्टिकोण बदलिनु भनेको नेपाली अर्थतन्त्रमा पहिरो जानु सरह हो । यसले आर्थिक चिन्तनमा गम्भीर असर पार्न सक्छ । एक गाउँ एक सहकारी एक घर एक रोजगारको अभियान विफल हुने खतरा हुन्छ । त्यसैले नरेश दाईको आँखा र चस्माको बारेमा सोचेर मात्र निर्णय गरौं ।

‘मेरो चस्माको पावर परिवर्तनले चिन्तनमा एकाएक परिवर्तन ल्याउँदैन । मेरो अर्थशास्त्रको स्कूलिङमा बिगार पर्दैन । म समाजवादी अर्थतन्त्रको दीक्षित हुँ । मैले बाँसबारी छाला जुत्ता कारखाना, हेटौंडा कपडा उद्योग, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट उद्योग आदि राष्ट्रिय उद्योगको पक्षमा पहिले पनि बोलेको थिएँ अहिले पनि बोल्छु । चस्मा फेरिँदैमा विचार फेरिन्न,’ नरेश दाईले जमेर तर्क गरे ।

‘हाम्रा पूर्वअर्थमन्त्री जर्मनमा अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनमा भाग लिएर प्रजातान्त्रिक समाजवादको पक्षमा वकालत गरी त्यतैबाट अमेरिका प्रस्थान गरे । अमेरिका पुगेका उनीले नेपाली चस्माको पावर कम भयो भनेर वाशिङ्गटनमा चस्मा फेरेका थिए । नेपाल फर्केपछि चलिरहेका उद्योगहरुको बिचल्ली पारेका थिए । समाजवादको कुरा गर्नेले नै तपाईंले भनेका उद्योगहरु पूँजीवादी अर्थतन्त्र मौलाउने नाउँमा नीजि क्षेत्रलाई बेचेका हुन्न नि ! नरेश दाइलाई राम्रो याद हुनु पर्दछ । त्यसैले तपाईको चश्मा र दृष्टिकोणको परिवर्तन हुन सक्ने सम्भावित जोखिमको विश्लेषण गरेर मात्र आँखा र चस्मा कसलाई देखाउने निर्णय गरौं,’ एक समाजशाश्त्रीले आफ्नो मत जाहेर गरे ।

‘हो विदेशी धारामा बहकाउने र दृष्टिकोणमा दख्खल दिनेलाई नरेश दाईको आँखा र चस्मा देखाउन हुन्न,’ दलका स्थानीय नेताले फ्याट्टै भने ।

नरेश दाई आफ्नो आँखा र चस्माको छलफलमा हक्क न बक्क देखिन्थे । बोल्नेहरुको कमी थिएन । कसैले फेरी तुरुन्तै भन्यो, ‘विपी आँखा अस्पताल महाराजगंजमा एकदमै सटिक परीक्षण हुन्छ । त्यहाँ मैले चिनेका डाक्टरहरु पनि छन् । दाईलाई लिएर मै जान्छु । सस्तोमा सस्तो राम्रोमा राम्रो परीक्षण हुन्छ । हुन्न दाई ?

नरेश दाई पनि बोल्न खोज्दै थिए, विपी अस्पतालको कुरा भुईंमा झर्न नपाउँदै एकाएक दुई तीनजना एकैचोटी ठूलोठूलो स्वरमा बोल्न थाले, ‘हुन्न हुँदै हुन्न, यो सरासर षडयन्त्र हुनेछ । यदि त्यहाँ जचाउनु भयो भने उहाँले पनि हलो जोतिरहेको किसानको फोटो कार्य कक्षमा झुण्ड्याएर फोर्ड फाउण्डेशनको ग्लोबलाइजेशनको नीति कार्यान्वयन गर्नु हुनेछ । त्यसैले उहाँलाई गलत ठाउँमा जाने सल्लाह नदिऊँ, जसले दृष्टि भ्रम गराई दृष्टिकोणमा नै असर गरोस् ।

कसैले सुझायो– त्यसो भए मैत्री अस्पतालमा नरेश दाईको आँखाको जाँच हुनु पर्दछ । जसले भ्रातृत्वको दृष्टि गोचर गराउने छ । हुँदा खाने र हुने खानेको बीचको खाडल साम्य पार्ने योजना बनाउने दृष्टिकोणको आर्थिक प्रणालीको बहाली गर्न सघाउने छ र समाजवाद उन्मुख नेपाल राष्ट्रका जनताको जीवनस्तर उकास्ने नीति फलिभूत भई साँच्चिकै नयाँ नेपालको निर्माणमा सहयोग पुग्नेछ ।

यी सबै कुरा सुनेर आफ्नो सटिक कुरा राख्न खोजिरहेका नरेश दाई बोल्न नभ्याएर अक्क न बक्क भएर सुनिरहेका थिए । कुनै पूर्व उपसचिव र सहसचिव त्यहीँ आइपुगे । उनीहरुले एकै स्वरमा अभिवादन गर्दै भने– नरेश दाई, नमस्कार !

चर्को बहसको बीचमा आइपुगेका उनीहरुले कुरोको चुरो बुझेपछि अक्मकाएको स्वरमा भने– मैत्रीमा त झन् हुन्न !

किन ? कसैले प्रश्न गर्‍यो ।

दुइटैले एकैचोटी थपे– त्यहाँ त कानको औषधि गर्न जाँदा सुल्टो उल्टो दुवै एकैचोटी सुनिने । गलाको औषधि गर्न जाँदा एउटै बोली बेलाबेलामा फेरिएर आवाज आउने अनि आँखाको औषधि गर्न जाँदा एउटा आँखाले मोटो देखिएको मान्छे अर्को आँखाले दुब्लो देखिने भयो रे ।

सुन्ने जति सवै गलल्ल हाँसे । त्यसो भए के गर्ने त ? धेरै मुखबाट एकैचोटी सामूहिक प्रश्न आयो ।

त्यसपछि चिया गफका पारखीहरुले नरेश दाईको चस्मा नाम चलेको कुनै अस्पतालमा जचाएर लगाउनुको साटो चाबहिलको मुख्य चोक नजिकका भद्र दृष्टि विशेषज्ञ निरोधलाई अनुरोध गरेमा, उनले नरेश दाईको दृष्टिमा पहिले देखि नै कस जस्तै लागेर बसेका कचेडाहरुलाई फाली कञ्चन निरापद चस्मा बनाई दिनेछन्, जसको दृष्टि गोचरमा कुनैपनि खाले विकार, विकृति, विसंगति र अपवादहरुले नरेश दाईलाई वशीभूत पार्न सक्ने छैनन् ।

यस कुरालाई उपस्थित सबैले हो मा हो थपे । एकैछिनमा निरोधलाई अँगालोमा कसेर कसैले त्यहीँ जमघटमा ल्यायो । निरोधले सबैको कुरा र नरेश दाईको समस्या सुनेपछि भन्यो । चस्मा बनाउने कि दृष्टिकोण ? कोही बोलेनन् ।