विद्यालयमा कुनै कार्यक्रम नगर्नू : शिक्षा मन्त्रालय

Education Ministry
लोकपाटी न्यूज

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन भनेको छ। सामूहिक भेला, सेमिनार, गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्न भनेको छ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेशनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर ठूलो जमघट हुने कार्यक्रम नगर्न निर्देशन दिएका हुन्। आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा ९एसईई० हुने निर्धारित तालिका रहेको छ। एसईई परीक्षा केन्द्रीय सरकार मातहत सञ्चालन हुने गरेको छ।

त्यसैगरी स्थानीय सरकार मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन हुने गर्दछ। उक्त परीक्षामा पालिकाले निर्माण गरेको प्रश्नपत्रको आधारमा लिइन्छ। त्यस निम्ति परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा लिने व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश नं.–१ ले विद्यालयहरुमा भइरहेको वार्षिकोत्सव तथा अन्य कार्यक्रमलाई स्थागित गर्न आग्रह गरेको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्याब्सन प्रदेश अध्यक्ष युवराज वाशिष्ठले यस्ता कार्यक्रमहरुमा ठूलो संख्यामा जनसमुदायको उपस्थिति रहने हुँदा त्यस्ता भेला संक्रमणका हिसाबले जोखिमपूर्ण रहने कुरालाई ध्यानमा राखी स्थागित गर्न लगाइएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्