प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटरमा लगियो

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसनका लागि भर्खरै अपरेसन थिएटरमा लगिएको छ। दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि उनलाई अपरेसन थिएटर लगिएको हो। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौला आज बिहान ९ बजे प्रत्यारोपण हुने भनिए पनि केही ढिला भएको हो।

मंगलबार उनको प्रि–ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएको थियो। अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ। उनले भने, ‘प्रत्यारोपणको शल्यक्रिया ३-४ घण्टामा सकिन्छ । प्रत्यारोपण सफल भएमा ५–६ दिनमा डिस्चार्ज गर्न सकिन्छ।’

प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआईपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ। अस्पतालमा भीभीआईपीका लागि ६०१ र ६०२ गरी दुई वटा क्याबिन बनाइएको राजधानी दैनिकमा समाचार छ।

प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन्। त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका छन्। टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहेका छन्। यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ।

अन्य कुनै समस्या आएमा तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्