प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पशुपतिमा पूजा

PM_Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा विशेष पूजापाठ गरिएको छ। पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पहिलो प्रहरको पूजापाठ गराएका हुन्।

‘प्रधानमन्त्रीज्यू कोषको संरक्षक पनि हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गरेको हुँ,’ कोषाध्यक्ष थापाले भने। मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामनासहित बिहान भएको विशेष पूजापाठ र रुद्राभिषेकमा डा. थापासहित अन्य शुभेच्छुकसहितको सहभागिता रहेको थियो।

प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासहित सवा लाख दीप प्रज्ज्वलनसमेत गरिएको थियो। बुधबार विहान ९:३० बजे देखि १५ मिनेट विशेष पूजा गरिएको उनले जानकारी दिए। पशुपति मन्दिरका पूजारी भट्टले नै पूजा गरेका हुन्। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ।

प्रधानमन्त्रीको सबै स्वास्थ्य रिपोर्ट सामान्य आएको अस्पताल स्रोतले जनाएको छ। उनको आज दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुन लागेको हो। उनको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, पार्टी नेता कार्यकर्ता शुभेच्छुकहरु अस्पताल परिसरमा पुगेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्