प्रदेश सरकारद्वारा उद्यमशिल युवालाई अनुदान

krishi
लाेकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटवल, २१ फागुन। प्रदेश नम्बर ५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शिक्षित किसान उत्पादन गर्ने गरी नयाँ योजना सार्वजनिक गरेको छ। मन्त्रालयले हालै सार्वजनिक गरेको योजना अनुसार कृषि तथा पशु विषय अध्ययन गरेका युवाहरुलाई उद्यमशिलता विकास अनुदान स्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

जुन पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत हो। यस्तै मन्त्रालयको कृषि विकास निर्देशनालयबाट कृषि तथा पशु विषय अध्ययन गरेका युवाहरुलाई उद्यमशिलता विकास अनुदानको लागि कुल २ करोड ५० लाख बजेट विनियोजन गरेको छ। यस्तै कृषिकसँग कृषि कार्यक्रममा (पढ्दै कमाउँदैका लागि) थप १ करोड रुपैयाँ विनियोजन गरेको छ।

मन्त्राललय नयाँ २७ वटा नयाँ कार्यक्रम सार्वजनिक गर्दै प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अब कुनै पनि शिक्षित युवा वेरोजगार बस्न नपर्ने बताइन्। उनले सरकारले अब उत्पादनको प्रतिफलमा आधारित अनुदान वितरण प्रणालीलाई बढोत्तरी दिएको भन्दै सोही अनुसार लाग्नको लागि युवा पंत्तीलाई आग्रह समेत गरिन्।

मन्त्रालयले किसानहरुलाई पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलय र कृषि विकास निर्देशनालयमार्फत् उत्पादनमा आधारित प्रतिफलमा अनुदान प्रदान गर्ने छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता, योजना तथा अनुगमन महाशाखा प्रमूख विनोद घिमिरेका अनुसार किसानहरुले दुधमा प्रतिलिटर २ रुपैयाँ, जिउँदो बोका, खसी र भेडामा प्रति किलो २५ रुपैयाँ, जिउदो रागोको प्रतिकिलो १५ रुपैयाँ, जिउदो बंगुरको प्रतिकिलो २० रुपैयाँ, माछामा प्रतिकिलो १० रुपैयाँ किसानलाई अनुदान उपलब्ध गराउने छ। यसको लागि यी सबै कार्यहरु सहकारीमार्फत् हुनुपर्ने हुन्छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय अन्र्तगत नयाँ थप ७ वटा र कृषि विकास निर्देशनालय अन्तर्गतका २० वटा गरी थप २७ वटा कार्यक्रममा किसानहरुले उत्पादनको प्रतिफलमा आधारित अनुदान पाउने छ। पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमूख तुलसीराम भण्डारीका अनुसार खसी, बोका र भेडाको हकमा सहकारीबाट एक वर्षमा कम्तीमा १०० वटा, बंगुरको हकमा ५० वटा, राँगो २०, माछा तराईमा प्रति सदस्य ५ सय किलो र पहाडमा २सय ५० किलो प्रति सहकारीले ५ मेट्रिक टन विक्रि गरेको हुनपर्ने हुन्छ।

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय मार्फत ४ करोड ३५ लाख रुपैयाँ अनुदानको लागि रकम विनियोजन गरिएको छ। कृषि विकास निर्देशनालयका प्रमूख याम नारायण देवकोटाका अनुसार नयाँ २० वटा कार्यक्रमका लागि कुल ३६ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्