७ हजार सवारी साधन ट्राफिक कारबाहीमा

Vechiles
लाेकपाटी न्यूज

सुर्खेत, १५ मंसिर । जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारबाही गरेको छ ।

ट्राफिक कारबाहीमा परेका सात हजार २४२ सवारीबाट चार महिनामा प्रहरीले रु. ४३ लाख ८० हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।

‘नियम विपरीत सञ्चालन गरी ट्राफिक कारबाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मादकपदार्थ सेवनका छन्,’ प्रहरी उपरीक्षक रजौरेले भने, ‘साउनमा एक हजार ४४१, भदौमा एक हजार ६९७, असोजमा एक हजार ८१४ र कात्तिकमा दुई हजार २९० सवारी कारबाहीमा परेका थिए ।’ उनका अनुसार ट्राफिक कारबाही प्रक्रिया बढे पनि ट्राफिक नियम विपरीत सञ्चालन हुने सवारी सङ्ख्या घटेको छैन ।

त्यसैगरी उनले अवैध रुपमा नदीजन्य पदार्थको अवैध निकासी पैठारी गर्ने कार्यमा संलग्न २२ ट्र्याक्टर, पाँच टिपर, तीन ट्रक र एक डोजर गरी ३१ सवारी साधनलाई आवश्यक कारबाहीका लागि स्थानीय तहमा पठाइएको जनाए । त्यस्तै सात हजार ३२० लिटर कच्चा, तीन हजार ५१४ लिटर तयारी र ५१ थान उत्पादन सामग्रीसहित अवैध स्थानीय मदिरा बरामद गरिएको उनले बताए ।