प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

KP_PM
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण सफल भएको छ । ६९ वर्षीय ओलीको त्रिवि शिक्षण अस्पतालमा झन्डै पाँच घण्टा लगाएर सफल प्रत्यारोपण गरिएको हो। बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो ।

प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको डाक्टरको भनाई छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको बताए। प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी हुन्। ३२ वर्षीया संग्रौलाको स्वास्थ्य स्थिति सामान्य रहेको निर्देशक डा. खड्गाले जानकारी दिए।

ओलीको ०६४ सालमा पहिलोपटक भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई सोमबार साँझ अस्पताल भर्ना गरिएको थियो। संग्रौलाको बायाँ मिर्गौला झिकेर ओलीलाई बायाँपट्टि प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने ओली नवौं व्यक्ति हुन्।

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्