सिञ्जाका तीन स्थानमा प्रहरी चौकी स्थापना

pic 2
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ सिञ्जा, २२ फागुन। जिल्लाका तीन स्थानमा स्थायी प्रहरी चौकी स्थापना गरिएको छ। नेपाल सरकार मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुसार जिल्लाका ३ स्थानमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली राजमार्ग अन्तर्गत जिल्लाको तातोपानी गाउँपालिका कार्यालय रहेको स्थान लिताकोट र डोल्पा जाने सडक क्षेत्रको गुठिचौर गाउँपालिकाको कार्यालय रहेको क्षेत्र झारज्वालामा प्रहरी चौकीको उद्घाटन गरेका हुन्। संघीय संरचना अनुसार गाउँपालिकाको कार्यालय र जनताको सेवाको लागि प्रहरी चौकीहरु स्थापना गरिएको हो। यसैगरी नाग्म गमगडि राजमार्गको बड्कीमा यस अगाडि नै प्रहरी चौकी उद्घाटन गरिएको थियो।

स्थायी प्रहरी चौकी तातोपानीको उद्घाटन गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले शान्तिसँगै समृद्धि जोडिने भएकाले प्रहरी चौकी स्थापना हुनु ठूलो विषय भएको बताए। उनले प्रहरी आफैमा एक जना जनशक्ति भएपनि राज्यको प्रतिनिधित्व भएकाले जनताले प्रहरीको काममा सघाउन आवश्यक रहेको जानकारी दिए। उनले शान्ति सुरक्षा विकासको आधारभुत आवश्यकता रहेकोले जनता र प्रहरी एकै साथमा अघि बढ्नु पर्नेमा जोड दिए।

उनले अब वैशाख सम्ममा प्रदेश प्रहरी आउने र समायोजन हुने भएकाले गाउँपालिकाको केन्द्रमा प्रहरी निरीक्षक सहितको टोली कल्पना गरिएको जानकारी दिए। यसैगरी प्रदेश सरकारले मदिरा नियन्त्रण अभियान शुरु गर्न लागिरहेको बताए। जिल्ला समन्वय प्रमूख लालबहादुर सार्कीले समाजमा हिंसा कम गर्न शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबी सहकार्य आवश्यक भएको बताए। गाउँपालिका अध्यक्ष नवराज न्यौपानले तातोपानी गाउँपालिकामा प्रहरी चौकी हुनु शान्ति सुरक्षा प्रभावकारी रहेको बताए। उनले तातोपानी पर्यटकीय क्षेत्र समेत भएकाले शान्ति सुरक्षाको आवश्यकता भएको बेला सरकारले स्थायी प्रहरी चौकी स्थापना गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जिल्लाको आवश्यकता अनुसार हिमा गाउँपालिकाको बड्की, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकामा स्थायी प्रहरी चौकी स्थापना भएको जानकारी दिँदै प्रदेश सरकारले र स्थानीय सरकारले आवश्यक जनशक्ति र स्रोतसाधानमा सहयोग गर्ने अपेक्षा गरिएको बताए। प्रहरी निरीक्षक धामीले अहिले जिल्लामा लागू औषध निशेषधका लागि प्रहरीले कडा सर्च अभियान थालेको भन्दै अब मदिरा नियन्त्रणमा जोड दिने बताए। प्रहरी चौकी स्थापना पछि स्थानीय नागरिकले बाजगाजासहित स्वागत तथा खुशीयाली मनाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्