राम्रा सात बानी, जसले जीवन बदल्छ

women health
लोकपाटी न्यूज

काठमाडौं। हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ। हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ। कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं।

हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ। तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं। यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ।

ग्रिसका प्रतिष्ठित दार्शनिक एरिस्टोटलले भनेका छन्, ‘हामी त्यही हौँ, जे हामी बारम्बार गर्छौं। उत्कृष्ट कुनै कार्यबाट हुने होइन, बानीबाट हुने हो।’ राम्रो बानीको विकासले नै जिन्दगी सुन्दर बनाउँछ। यस्ता छन् जीवन बदल्ने सात बानी:

सकारात्मक सोचको विकास: सकारात्मक सोच्ने बानीले जीवनका अन्य राम्रा विषयमा ध्यान दिन सघाउँछ। सकारात्मक सोच्दैमा छिटै सफलता प्राप्ति हुने पक्कै होइन, तर यसले लामो समयसम्म केही राम्रा काम गर्न हौसला दिइरहन्छ।

शारीरिक व्यायामः व्यायाम गर्दा स्वस्थ भइन्छ भनेर हामीले सुन्दै आएका छौँ। तर, यसले जीवन कसरी परिवर्तन गर्छ भन्नेबारे कमैलाई थाहा होला। व्यायाम गर्दा व्यक्तिमा आत्मविश्वास बढ्छ, तनाव व्यवस्थापन हुन्छ र रचनात्मक क्षमताको वृद्धि हुन्छ।

एकपटकमा एउटा कामः धेरैजसो व्यक्तिको एकै समयमा धेरै काम सक्नुपर्ने बानी हुन्छ। जसलाई ‘मल्टिटास्किङ’ पनि भनिन्छ। एकपछि अर्को काम गर्दा अपर्झट आइलाग्ने कामले ‘फोकस आउट’ हुन सक्छ। यसले तनाव पनि बढाउँछ। त्यसकारण एकपटकमा एउटा मात्र काम हातमा लिनु राम्रो हुन्छ।

एउटा उद्देश्यमा ध्यानः एउटा निश्चित उद्देश्य बनाएर त्यसको प्राप्तिका लाग्नु प्रभावकारी हुन्छ। यो देख्दा गाह्रो छ, तर कुनै पनि ठूला उद्देश्य हासिल गर्न यो बलियो माध्यम हुन सक्छ। एकपटकमा धेरै उद्देश्य बनाउन थालियो भने हामीभित्रको ऊर्जा र समय अनावश्यक रूपमा खेर जान्छन्।

कम आवश्यकलाई कमै प्राथमिकताः हामीले अनावश्यक कुरामा समय खेर फालेको पत्तै पाउँदैनौँ। जीवनमा त्यही कुरा महत्वपूर्ण हुन्छ, जसलाई हामी एकदमै माया गर्छौं। ती कुरा के हुन सक्छन्, समयमै छुट्याउन सक्नुपर्छ र त्यहीअनुसार प्राथमिकता दिनुपर्छ। यस्तो बानीको विकास गर्दा धेरै महत्व राख्ने चिजले राम्रो समय पाउँछ र हामीले चाहेको जीवन बाँच्न सक्छौँ।

दयाभावः कसैप्रति दयालु हुनु पनि एक किसिमको बानी नै हो। एक महिनासम्म तपाईं कति दयालु हुनुभयो, याद गर्ने बानी बसाल्नुस्, दिनदिनै राम्रो महसुस गर्न थाल्नुहुनेछ। दयालु कसरी हुने त ? यसलाई आफ्नो लक्ष्य बनाउनुस् र आज तपाईं कुन कुरामा दयालु बन्नुहुन्छ, त्यो पत्ता लगाउनुहोस्। अर्को व्यक्तिसँग अन्तरक्रिया गर्दा दयालु रूपमा प्रस्तुत हुनुहोस्। स-साना क्रियाकलापबाट दुःखीलाई सहयोग गर्दै जानुहोस्।

दैनिकीः काम गर्दा होस् या साधारण दिन, दैनिकी बनाउनुहोस् र त्यसको अनुसरण गर्नुहोस्। आफ्नो सुत्ने, उठ्ने, काम गर्ने र काम सक्ने समयबारे दैनिकीमा समावेश गर्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्