‘सरकार धर्म परिवर्तनमा लाग्यो’ : डा. भण्डारी

Dr. Surendra Bhandari
लाेकपाटी न्यूज

काठमाडौं, १५ मंसिर । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायतका १५१ बुँदे मागहरु अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानविन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका अभियान्ता डा.सुरेन्द्र भण्डारीले वाइडबडी खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको खबरहरु आइरहेको बताउँदै यसका बारेमा एक हप्ताभित्र प्रभावकारी छानविन आयोग गठन गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न सकेन, असुरक्षा, हिँसा, बलात्कार, अपहरण, भ्रष्टाचारले सीमा नाघेको स्थिति छ, यो बेलामा पनि हामी जनताहरुले स्वस्फुर्त रुपमा अन्यायको विरोध गर्न सकेनौं भने देशको भविष्य ठीक हुँदैन, समाज दुर्गतिको बाटोमा जान्छ।’

भण्डारीले बहुलजाति र धर्मको रुपमा रहेको मुलुकको शान्ति, एकता र भातृत्वजस्ता विरासतहरु वर्तमान सरकारले धरापमा पार्ने काम गरेको गम्भिर आरोप लगाए ।

उनले भने, ‘२००७ सालदेखि आजसम्म जनताले ठूलो त्याग, तपस्या र जीवनको बलिदानी दिएका छन्, तर परिर्वतन भएन र विकास भएन, राजनीतिको मुल मर्म नै मरेको स्थिति छ ।’

आफूहरुले ०५२ सालमा तत्कालिन माओवादीले सुरु गरको द्धन्द्धको बेलामा कब्जा गरिएको सम्पति फिर्ता गर्नुपर्ने, मदन भण्डारीका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने, वाइडबडी खरिदको बारेमा सशक्त छानविन आयोग बनाउनुपर्ने, असमान सन्धि–सम्झौताहरु खारेज गरि समयसापेक्ष विदेश नीति बनाउनुपर्ने, राष्ट्रिय उदार अर्थतन्त्र विकास गर्नुपर्ने, स्वास्थ्य, शिक्षालगायतका मागहरु अघि सारेको बताए ।

त्यस्तै अर्का अभियान्ता तथा अधिवक्ता बालकृष्ण नेउपानले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य १५ सय जोडी ईसाइको आशिर्वाद लिन लाइनमा बसेको बताए । उनले भने, ‘धर्म परिर्वतनमा स्वयं हाम्रो सरकार लागेको छ, सत्ता, शक्ति र सम्पतिको चरम रुपमा दुरुपयोग भएको छ ।’