कोरोनाको आशंका भएका व्यक्ति टेकु अस्पतालबाट भागे

Teku hospital
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस (कोभिड –१९) को आशंकामा उपचार गराइरहेका एक युवा अस्पतालबाट भागेका छन्। कोरियाबाट आएका ३८ वर्षीय नेपाली युवा अस्पतालको झ्यालबाट भागेका हुन्।

सुनसरी घर भएका उनमा कोरोनाको संक्रमण हुनसक्ने देखिएपछि उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण हुँदैथियो। आइसोलेसन वार्डमा भर्ना भएका ती युवा बुधबार राति अस्पतालको झ्यालबाट हाम फालेर भागेको भागेको अस्पताल स्रोतले जनाएको छ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार कोरियाबाट आएर बुधबार उनी भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा नआएको र प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पतालले जानकारी दिएको छ। कोरियामा ६ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने यसैका कारण मर्नेको संख्या ४० पुग्न लागेको छ।

कोरोना सुरु भएको मुलुक चीनमा हालसम्म ३ हजार १२ जनाको यसैका कारण मृत्यु भएको छ। त्यहाँ ८० हजार ४ सय ९ जनामा यसको संक्रमण देखिएको छ। इटलीमा ३ हजार मानिसमा संक्रमण देखिँदा सयभन्दा बढीको मृत्यु भएको छ। इरानमा पनि ९२ जनाको मृत्यु भइसकेको छ। त्यहाँ २ हजार ९ सय २२ जनामा यसको संक्रमण देखिएको छ।

कोरियामा नेपालीको संख्या उल्लेख्य रहेको छ। तर, संक्रमणबाट नेपाली प्रभावित भए नभएको खुलेको छैन। अस्पतालबाट गायव भएका ती व्यक्ति २० गतेमात्रै नेपाल आएका हुन्। उनमा कोरोनाको संक्रमणका संकेतहरु देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्