जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने को थियो ?

लाेकपाटी न्यूज

३ साउन, काठमाडौं । विहीबार जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ गर्दै भने- ‘एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले… हामीले पनि धेरैबेर संयमता अपनायौं । तपाईहरु कोही आन्दोलन गर्न आउनुभएको छ भने गर्नोस्, केही छैन त्यसमा । हामी तयार छौं तपाईहरुलाई…. ‘

अस्पतालमा भएको झडपमा प्रहरी जवानको मृत्यु भएको खबर डीएसपीले आफैं माइकबाट फुकेका थिए । उनले प्रहरी मरेको भन्दै सार्वजनिक रुपमा गरेको माइकिङ एउटा टेलिभिजनमा लाइभ प्रशारण भएको थियो ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बिहीबार दिउँसो काठमाडौं ल्याउने क्रममा डा. केसी समर्थक विद्यार्थी र प्रहरीबीच झपड भएको थियो । त्यस क्रममा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरसहित ३ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइतेमध्ये एक प्रहरी जवानको छातीमा सीसा र चिर्पटले लागेको प्रहरीले जनाएको छ ।

गल्ती गर्ने प्रहरी, गाली खाने मिडिया ?

जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्ने प्रहरी आफैंले सञ्चार माध्यमलाई गाली गर्दै बुधबार साँझ अनौठो विज्ञप्ति जारी गरेको छ । जुम्ला घटनामा प्रहरी जवानको मृत्यु भएको भनेर संवेदनशील विषयमा आधिकारिक पुष्टि नभई सञ्चारमाध्यमले गलत समाचार सम्प्रेष्ण गरेको भन्दै प्रहरी प्रधान कार्यालयले सञ्चारमाध्यमलाई गाली गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सञ्चार माध्यमलाई मानवीय संवेदनाको विषयमा सूचनाको आधिकारिक पुष्टि नगरी समाचार सम्प्रेषण गरेको आरोप लगाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार संप्रेषण गर्ने र मृत्यु जस्तो मानवीय संवदेनाको विषयमा सूचनाको आधिकारिकता पुष्टि समेत नगरी समाचार संप्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक आघात पर्न गएको छ ।’

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नै माइकबाट यसरी प्रहरीको मृत्यु भएको बताएपछि केही सञ्चारमाध्यमले दोहोरो झडपमा परी एक प्रहरीको मृत्यु भएको समाचार हतार-हतार प्रकाशित गरेका थिए ।

प्रहरी जवानको मृत्यु भएको घोषणा भएता पनि अनलाइनखबरले डीएसपी दाहालको माइकिङलाई पत्याएन । तत्कालै अस्पताल स्रोतमा सम्पर्क गर्दा कोही पनि प्रहरी जवानको मृत्यु नभएको पुष्टि भयो । त्यसपछि अनलाइनखबरमा प्रहरी मृत्युको हल्ला फैलाएर सरकारले डा. केसीलाई झुक्यायो शीर्षकमा समाचार प्रकाशित भयो र यथार्थ घटना जनसमक्ष आयो ।