भारत भन्यो- अत्यावश्यक औषधीको सूची देउ

Medicine
फाइल फोटो
लोकपाटी न्यूज

काठमाडौं। २६ प्रकारका औषधी र तीनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको छ। भारतको निर्णयसँगै नेपालमा औषधी अभाव हुने ठानिएको छ।

किनकी नेपालमै उत्पादन हुने औषधीका कच्चा पदार्थ पनि भारतबाट आयात गर्ने गरिएको छ। तर भारतले नेपाललाई जरुरी औषधीबारे जानकारी गराए आपूर्तिमा केही सहज बनाउने जानकारी गराएको उपप्रधानमन्त्री एवं कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए।

चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना (कोभिङ–१९) भाइरसको संक्रमण विश्वभर फैलिँदो छ। पछिल्लो तथ्यांकअनुसार यसको संक्रमण करीब ७० देशमा पुगेको छ। तीन हजारले बढीले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या ९३ हजार हाराहारीमा पुगेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई पनि कोरोना संक्रमण फैलिन सक्ने जोखिम युक्त क्षेत्रमा राखेको छ। कोरोनाको सन्त्रासपछि यसको रोकथामकोलागि प्रभावित देशमा जान आउन प्रतिबन्ध लगाइएको छ। यस्तो अवस्थामा अत्यावश्यक औषधीको समेत अभाव हुन थालेको छ।

कोभिड १९ को रोकथाम, नियन्त्रण र आवश्यक तयारीका लागि उच्च स्तरीय समिति समेत बनेको छ। समितिलाई रोकथाम, नियन्त्रण र आवश्यक तयारीमा समन्वय गर्न भनिएको छ। रोकथाम तथा नियन्त्रणका लागि सजकता अपनाउने, जनचेतना अभिवृद्दि गर्ने र आवश्यक सम्पूर्ण तयारी र निर्णय गरी यसको कार्यान्वयन र अनुगमनको जिम्मा समितिलाई दिइएको छ।

सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षमा थप जनशक्ति परिचालन गरेर चेकजाँचको व्यवस्था गरेको छ। कोरोना संक्रमण देखिएका देशबाट आउने सबै यात्रुहरुको ‘थर्मल गन’को प्रयोग गरी तापक्रम नाप्न सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार चीनसँग व्यापारिक कारोबार हुने प्रमूख नाका तातोपानी र रसुवागढीमा पनि चिकित्सक खटाइएको छ।

अनुसार शंकास्पद बिरामी देखिएमा तत्कालका लागि केही अस्पताल र त्यहाँ बेडहरु तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। त्यसका लागि तत्कालै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र प्रहरी अस्पतालमा बेडसहित तयारी अवस्थामा राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्