गर्मीमा कसरी स्वस्थ रहन सकिन्छ ?

Sports-drink-energy water
लोकपाटी न्यूज

काठमाडौं। यतिखेर गर्मी मौसम सुरु हुन थालेको छ। खुम्चिएर रहेका किटाणुहरु सल्वलाउन सक्छन्। सरुवा रोग तथा महामारीको सम्भावना यही समयमा हुने गर्छ। पहाडी क्षेत्रमा गर्मी कम देखिए पनि तराई क्षेत्रमा गर्मी बढी सकेको छ। यसले कतिपय क्षेत्रमा सरुवा रोगको जोखिम बढाउँछ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीको बेला गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै आम सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै आएको छ। महाशाखाले अत्यधिक गर्मीका कारण आम सर्वसाधारणहरुमा उच्च ज्वरो आउन सक्ने, चक्कर लाग्ने, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै त्यसबाट सचेत रहन आग्रह गर्दै आएको छ।

गर्मीमा के गर्नुपर्छ ?

१. २४ घण्टामा ४–५ लिटर र पानी वा अन्य झोल पदार्थ जस्तै जीवनजल, तरकारी, दालको झोल पिउनु पर्दछ। २४ घण्टामा हरेक स्वस्थ व्यक्तिले कम्तिमा १ लिटर पिसाब फेर्नु पर्दछ।

२. अत्यधिक गर्मीको समयमा खेत बारीमा काम गर्नु वा कडा व्यायाम गर्नु हुँदैन। खेत बारीमा काम गर्नेले पनि विहान बेलुकाको समयमा काम गर्ने र दिउँसो सितल ठाउँमा बस्नु पर्दछ।

३. ‘लु’ अर्थात् तातो हावा चलिरहेको अवस्थामा बाहिर निस्कनु हुँदैन, घरभित्र बस्नु पर्दछ। अत्यधिक गर्मी समयमा जरुरी कामले बाहिर निस्कनु पर्दा छाता ओढ्ने र कालो चश्मा लगाउने गर्नु पर्दछ।

४. साना बालबालिकाहरु , अशक्त, बृद्ध व्यक्तिहरु, पुरानो रोग भई औषधि सेवन गरी रहेका व्यक्तिहरु, ज्वरो आएका बिरामीहरु, धेरै मोटा व्यक्तिहरु गर्मीका कारणले स्वास्थ्य जोखिममा पर्न सक्ने हुँदा उनीहरुको स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनुपर्छ।

५. गर्मी समयमा पुरै शरीर ढाकिने गरी खुकुलो र हल्का रंगका लुगा लगाउने गर्नु पर्दछ। अत्यधिक गर्मी भएको कारणले केही गम्भीर स्वास्थ्य समस्या देखिएमा तत्काल अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा लगि सल्लाह लिनु पर्दछ।

के गर्नु हुँदैन ?

१. रक्सी खानु हुँदैन, यसले झन जल वियोजन वा पानीको कमी गराउँछ। धेरै गुलिया खानेकुरा खानु हुँदैन, यसबाट पनि शरीरमा झन गर्मी उत्पन्न हुन सक्दछ।

२. बालबालिका र शिशुहरुलाई तोरीको तेल वा अन्य यस्तै तेल लगाउनु हुँदैन, यसबाट पसिना कम निस्कन गई झन गर्मी हुन सक्दछ। धेरै गह्रौ काम वा कडा व्यायाम गर्नु हुँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्