मास्कमा कालोबजारी : दुई मेडिकलमा तालाबन्दी

Talabandhi
लाेकपाटी न्यूज

पोखरा, २२ फागुन । मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ। कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको हो। औषधी पसलहरुले दोब्बर, तेब्बर मूल्यमा मास्क बेचिरहेको गुनासोपछि बजार अनुगमन भएको थियो।

गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएको हो। त्यस्ता २ मेडिकलमा अनुगमन टोलीले ताला लगाएको छ। महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अघिल्तिरको परी औषधी पसलमा ताला लगाएको छ।

स्याङ्जा औषधी पसलले २ सय बजार मूल्य पर्ने ९५ अंकित मास्कलाई ४ सय ५० रुपैयाँसम्ममा बचेको फेला परेको थियो। परी औषधि पसलले १० रुपैयाँ पर्ने साधारण मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। दुबै औषधी पसलका सञ्चालकलाई ३ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन टोलीले निर्देशन दिएको छ।

कोरोनाको सन्त्रास र साबधानी अपनाउन सूचित भएपछि बजारमा मास्कको अभाव तथा कालोबजारी भइरहेको गुनासो आइरहेको छ। टोलीले बिहीबार उपभोक्तासहित पोखराका थुप्रै पसलमा अनुगमन गरेको थियो।

यो पनि पढ्नुहोस् : वीर अस्पतालकै फार्मेसीले लुकायो मास्क, ६ लाख ५० हजार जरिवाना

कोरोना भाइरसको रोकथामको लागि नागरिकले मास्कको प्रयोग गर्न थालेसँगै बजारमा कृत्रिम अभाव सुरु भएको छ। वीर अस्पतालकै फार्मेसीले मास्क लुकाएर कृत्रिम अभाव सिर्जना गरेको भेटिएको छ।

वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको हो। फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो। यस्तै विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ। यस्तै क्षेत्रपाटीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ। विभागले पछिल्लो ४ दिनमा मेडिकल सप्लायर्समा अनुगमगन गरी ६ लाख ५० हजार जरिवाना तिराएको छ।

सामान किनबेच गरेबापतको बिल नभएकोले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ। विभागले अनुगमन कडा बनाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए। उनले मेडिकल पसलहरुमा शुक्रबारदेखि अनुगमनमा थप कडाइ गरिने पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्