कोरोना संक्रमण: मुलुकभर सभा सम्मेलनमा रोक

Korona_Virus
लाेकपाटी न्यूज

काठमाडौं । सरकारले विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको छ । कोरोना संक्रमणले त्रास बढाएकाले देशैभरी सभा सम्मेलन गर्न सरकारले अनिश्चितकालीन रोक लगाएको हो । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको हो ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदिन नेपाल–भारतका ३७ सीमा नाकामा पनि चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।

आउजाउ हुने चीन र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली खटाएर चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ । सरकारले प्रदेशहरूमा टोली पठाइसकेको छ। अन्य नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयकाले जनाएको छ । बाग्मती प्रदेशका १३ वटै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना भाइरसविरुद्ध तयारी अवस्थामा राखिएको  छ । सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई भाइरसविरुद्ध सचेत पार्दै तयारी अवस्थामा राखिएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालय हेटौंडाले भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी तयारी हालतमा राखिएको जनाएको छ । बाग्मती प्रदेश मातहतका ८ वटा अस्पताल, १३ वटा जिल्लाका स्वास्थ्य कार्यालय र १३ वटै जिल्लाका आयुर्वेद संस्थालाई सचेत रहँदै शंकास्पद बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको निर्देशनालयले जनाएको छ । बाग्मती प्रदेश सरकारले रसुवा अस्पतालबाट केरुङ नाकामा चिकित्सक खटाएको निर्देशक अधिकारीले बताए । त्यसैगरी, तातोपानी नाकामा पनि यसका शंकास्पद विरामी आइहालेमा उपचार गर्ने व्यवस्था मिलाइनुका साथै दुईवटा एम्बुलेन्स तयारी हालतमा राखिएको उनले बताए । मकवानपुर जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने सभा सम्मेलनलगायत कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाएको छ।

दार्चुला जिल्ला अस्पतालले सावधानी अपनाउन आह्वान गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन वाडेले बिहीबार विज्ञप्ति निकालेर जानकारी गराएका थिए । बुधबार सिन्धुपाल्चाक जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी जिल्लामा सभा, सेमिनार, गोष्ठी, मेला, पर्व, महोत्सव, भोजभतेर, होलीजस्ता भीडभाड हुने कार्यक्रममा रोक लगाइएको छ। काभ्रे जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भीडभाड हुने कार्यक्रमहरू स्थगन गर्न र कार्यक्रममा सहभागी नहुन सबैमा अनुरोध गरेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय र ललितपुरले छुट्टाछुट्टै सूचना जारी गरी जिल्लाभित्र भीडभाड हुने भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न भनेको छ ।  दुवै जिल्लामा अर्को निर्णय नभएसम्मका लागि भन्दै अनिश्चितकालीन रोक लगाइएको हो । काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढा र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बुधबार सूचना जारी गरेका हुन् । नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न आठ बुँदे निर्देशन जारी गरेकोछ । जिल्लामा कुनै पनि सभा सम्मेलनजस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमणका कारण अहिले संखुवासभाका १० वटै स्थानीय तहमा तय गरिएका कार्यक्रम गर्न रोक लगाउन निर्देशन दिइएको छ ।  प्रमुख जिल्ला अधिकारी जीवनप्रसद दुलालले संक्रमण हुनबाट बच्ने उपायहरूको पालना गर्न र भीडभाड हुने कार्यक्रममा सहभागी नहुन सबैमा आह्वान गरेका छन् । भोटखोला गाउँपालिका चीन सँग जोडिएका कारण सचेत रहन प्रशासनले आग्रह गरेको हो ।

धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भीडभाड हुने कुनै पनि गतिविधि नगर्न सूचना जारी गरेको छ । नगरप्रमुख नृपबहादुर ओडले नगरवासीमा अपिल गर्दै संक्रमणको जोखिमबाट बच्ने उपाय अवलम्बन गर्न आह्वान गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले पनि बिहीबार सूचना जारी गरी संयमता अपनाउन आह्वान गरेको छ। जिल्लाभित्र कुनै पनि सभा समारोह नगर्न जिल्ला प्रशासनले आह्वान गरेको छ । उदयपुर जिल्ला प्रशासन कार्यालयले पनि सभा सम्मेलन गर्न रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि सभा सम्मेलन तथा भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएका छन् । इलाम जिल्ला प्रशासन कार्यालयले पनि जिल्लामा भीडभाड हुने किसिमका कुनै पनि कार्यक्रम सञ्चालनमा रोक लगाएको छ ।

स्याङ्जामा पनि अर्को निर्णय नभएसम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायत कार्यक्रम नगर्न अनुरोध गरेको प्रशासन कार्यालयले निर्देशन दिएको छ। कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसँगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार सूचना जारी गर्दै सार्वजनिक समारोह नगर्न अनुरोध गरेको राजधानीकर्मी किरण कौशलले बताएका छन् । सूचनामा जिल्लाका स्वास्थ्य संस्थाहरूमा रोकथामका लागि पूर्वतयारी तथा सचेतना कार्यक्रम सञ्चालन गर्न भनेको छ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्