लगनशील व्यक्तिको स्वाभाव कस्तो हुन्छ ?

Earth globe
लोकपाटी न्यूज

काठमाडौं। सफलताका लागि लगनशीलता र धैर्यताको आवश्यकता हुन्छ। लगनशीलता र धैर्यताको कमीले नै धेरै मानिसहरूले आफूले सुरू गरेको काम बीचमै छोड्ने गर्छन्। आज देखेको सपना भोलि उठ्नासाथ पुरा हुँदैन। लगनशील व्यक्तिले यो कुरालाइ बुझेको हुन्छ। लगनशील व्यक्तिले काम छिटो सक्ने भन्दा काम राम्रोसँग सक्ने कुरालाई ध्यान दिन्छ। उसले परिमाणलाई होइन, गुणलाई महत्व दिन्छ। लगनशील व्यक्ति धैर्यवान हुन्छ।

उसलाई थाहा हुन्छ, अत्तालिएर मानिस झन् पछि धकेलिन सक्छ। त्यसैले लगनशील व्यक्तिले कहिले पनि केही काम अत्तालिएर गर्दैन। हरेक कुराको सुक्ष्म अध्ययन गर्नु, आफूलाई अपडेट गरिराख्नु, केही नयाँ कुराहरू सिकिराख्नु जस्ता गुणहरू लगनशील व्यक्तिमा हुन्छ। लगनशील व्यक्तिले कहिले पनि केही कुरामा बहाना बनाउँदैन। उसले केही गर्नका लागि आफ्नो वातावरण या परिस्थितिलाई दोष दिएर बस्दैन । केही गर्नु छ भने जस्तासुकै वातावरण होस् या परिस्थिति होस्, उसले त्यो काम गरेरै छोड्छ। लगनशील व्यक्तिले समस्यामा नै अवसर देख्छ।

लगनशील व्यक्तिले समयको महत्वलाई बुझेको हुन्छ र उसले जहिले पनि आफ्नो कामलाई प्राथमिकतामा राखेको हुन्छ। धैर्यता र ढिलासुस्तीको फरकलाई उसले बुझेको हुन्छ। उसले कुनै पनि अवसरलाई गुमाउँदैन र जस्तोसुकै चुनौतीको पनि सामना गर्ने गर्छ। लगनशील व्यक्ति जहिले पनि अनुशासनमा बस्ने गर्छ र अरूलाई पनि अनुशासनमा रहनका लागि प्रेरित गर्छ। अनुशासनले नै अवसर र उर्जा दुवै दिन्छ।

लगनशील व्यक्ति आवेगमा आउने नभई नम्र व्यवहारले नेतृत्व गर्नेमा विश्वास राख्छ। लगनशील व्यक्तिले कुनै पनि काम सुरू गर्दा सानो कामबाट सुरू गर्ने गर्छ। तर पछि उसले त्यही सानो कामलाई ठूलो योजनाको रूपमा अगाडि बढाएर लैजान्छ। लगनशील व्यक्ति असफलतामा आत्तिने र सफलतामा घमण्ड गर्ने गर्दैन। उसले सफलता भनेको एउटा समग्र यात्रा हो भन्ने बुझेको हुन्छ। उसले शून्यमा महल बनाउने सपना देख्दैन, झुपडी बनाउने योजना बनाउँछ।

सामान्य भाषामा भन्नुपर्दा कुनै पनि निर्धारित लक्ष्यमा पुग्नुलाई सफल भएको मानिन्छ। कुनै पनि व्यक्ति आफूले तोकेको उद्देश्य पूरा गर्न सकेको अवस्थालाई सफलता प्राप्त गरेको भनेर बुझ्ने गरिन्छ। वास्तवमा भन्नुपर्दा कुनै पनि निर्दिष्ट लक्ष्य हासिल हुनुलाई सफलतासँग जोडेर हेर्ने गरिन्छ। सफलताको यही अवधारणा नै जनमानसमा पाइएको छ। बाहिरबाट हेर्दा कुनै उच्च ओहदामा पुगेको, सम्मानित पद धारण गरेको अनि राम्रो आम्दानी गरेको तथा धनसम्पति कमाएको व्यक्तिलाई हामीले सफल व्यक्तिका रूपमा मान्ने गरेका छौं। कुनै पनि व्यक्ति जिन्दगीभर नै सफलता प्राप्तिका निमित्त दौडिरहेको हुन्छ।

आफूले बनाएको लक्ष्य प्राप्तिका निम्ति ऊ अनवरत रूपमा लागिरहेको हुन्छ। सफल हुँदा ऊ खुसी हुन्छ भने आफूले भनेअनुसारको काम नभइदिँदा अनि काम गरेअनुसारको नतिजा प्राप्त नभइरहँदाको अवस्थामा कहिलेकाहीं उसमा नैराश्यता पनि पैदा भएको हुन्छ। संसारमा जोसुकै व्यक्ति पनि सफलता प्राप्तिका निम्ति नै आफ्नो जिन्दगीलाई समर्पित गरिराखेका हुन्छन्।

सम्बन्धित क्षेत्रमा कसरी सफल बनिएला, कुन सूत्र प्रयोग गरेमा सजिलैसँग सफल भइएला अनि केके कार्य गरे अरूभन्दा छिटो सफलता प्राप्त गर्न सकिएला भनेर विभिन्न तरिका, सूत्र तथा विधिहरू प्रयोग गर्नतर्फ व्यक्तिहरू लागेका हुन्छन्। सफल हुन केके गर्नुपर्ला भन्ने सन्दर्भमा व्यक्तिहरूले विभिन्न उपाय अपनाउने गर्छन्। उनीहरु सफलतका सुत्रमा समाधान खोज्छन्।

व्यक्ति जसरी पनि सफल हुनु छ अनि अरूलाई केही काम गरी देखाउनु छ, यसैका लागि ऊ जिन्दगीभरि मेहनत गरिराखेको हुन्छ। हुन पनि सफलता प्राप्तिले व्यक्तिमा काम गर्ने नयाँ जोस, जाँगर, उमंग तथा उत्पे्ररणामा वृद्धि गराइराखेको हुन्छ भने बेग्लै किसिमको आनन्द र आत्मसन्तुष्टि पनि त्यसबाट प्राप्त भइराखेको हुन्छ, जसबाट व्यक्तिको आत्मविश्वास पनि बढ्न पुग्छ भने काम गर्ने थप ऊर्जा शरीरमा जागृत हुन पुग्छ।

यी सबै राम्रा प्रभावहरू सफलता प्राप्तिले व्यक्तिमा देखिएका हुन्छन्। जुन सफलता प्राप्त गर्नका निम्ति व्यक्ति जिन्दगीभरि लागिपरेको हुन्छ, त्यसलाई आत्मसात गर्न पाउँदाको क्षण निजलाई असीम आनन्दको पनि अनुभूति भएको हुन्छ र ऊ सम्झन्छ, मेरो सम्पूर्ण आनन्द र सन्तुष्टि नै यही हो भनेर। सङ्घर्षभित्र जसले जीवन देख्छ, त्यो नै भविष्यको यात्रामा सफल भइरहेको हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्