स्रष्टाका लागि कृति नै सन्तान हाे : मन्त्री भण्डारी

Naresh-Bhandri pic
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कृति जन्माउनु स्रष्टालाई आफनो सन्तान जन्माउनु जस्तै हुने बताएका छन्। उनले जसरी एउटा आमालाई सन्तान जन्माउन जति गाह्रो हुन्छ, त्यति नै स्रष्टालाई कृति जन्माउन गाह्रो हुने बताए।

जुम्लाका स्रष्टा पुरिचन्द्र देवकोटा र खडानन्द चौलागाइद्धारा लिखित साहित्यीक यात्रा र अनियन्त्रित मनका बरालिएका सपनाहरु नामक पुस्तक विमोचन गर्दै भण्डारीले साहित्यले समाजको सेवा गर्नु पर्ने बताए। उनले भने,‘ समाज रुपमान्तरणको अगुवाइ साहित्यले गर्नुपर्छ, समृद्धिको चाहना सम्वोधन गर्न खबरदारी गर्नुपर्छ। साहित्यले समाजमा रहेका विकृति बिसंगतिविरुद्ध चिरफार गर्नुपर्छ। साहित्यले समाजका हरेक पाटा पक्षको उजागार गर्नु पर्छ। यसका लागि जुम्लाका स्रष्टाहरुको यात्रा अघि बढिरहेको अनुभुति भइरहेको छ। ’

उनले थपे,‘ जसरी सन्तान जन्माइसकेपछि आमाको मुहारमा खुसियाली आउँछ, त्यसरी नै कृति जन्मिसकेपछि एउटा स्रष्टाको मुहारमा पनि खुसियालीको सीमाना नै हुँदैन। ’ उनले स्रष्टाहरुले आगामी दिनमा अब्बल सन्तान, सक्षम र प्रिय सन्तान निरन्तर जन्माउने प्रेरणा मिलोस भन्ने कामना समेत गरेका थिए। स्रष्टाले सिर्जना गरेका कृतिलाइ माया, सद्भाव, प्रेरणा र उर्जाको दिनका लागि सहभागि सबैलाइ अपिल गरे। जुम्लामा साहित्य जगतलाइ बेग्लै पहिचान दिँदै आशा लाग्दा स्रष्टाको उदय हुनुले निकै खुसी तुल्याएको मन्त्री भण्डारीको भनाइ थियो।

पूर्व पशुपंक्षि विकास राज्यमन्त्री गोमा कुँवरले सर्जकहरुले अत्यन्तै मेहनत र कष्टका सथ कृति जन्माएकोमा खुसि व्यक्त गरिन्। उनले भनिन्,‘ यहाँ स्रष्टा थुप्रैछन्। आर्थिक अभावका कारण कृति निकाल्न सकेका छैनन्। लुकेका प्रतिभावन स्रष्टालाइ बाहिर ल्याउनु अहिलेको अपरिहार्यता हो। ’ उनले पुस्तक प्रकाशन गरेका सबै स्रष्टालाई सम्मान गर्नु पर्नेमा जोड दिइन्। साहित्यमा आफ्नो बाटो नभएपछि राजनीतिक बाटोबाटै सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले सर्जकका किताब पढेर सुझाव दिन बताउँदै प्रकाशित हुने कृतिमा पनि खस भाषाको प्रयोग गर्नु पर्ने बताइन्।

चन्दननाथ नगरपालिकाका प्रमूख कान्तिका सेजुवालले साहित्यले सभ्यता सिकाउने तर्फ जोड दिँदै पुस्तक विमोचन कार्यक्रमले राजनीतिक सभ्यता सिकाउने बताइन्। उनले भनिन्,‘ साहित्यले यहाँको हावापानी,भुगोल, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको महत्व दर्शाउन सकिने भएकोले अबको साहित्य समृद्धितर्फ उन्मुख हुन जरुरी छ। लेखक तथा साहित्यकार रत्नाकर देवकोटालाइ सम्झदैँ प्रमूख सेजुवालले पछिल्लो समयमा साहित्यकारहरु जन्मने क्रम बढेकोले खुसी लागेको बताइन्। उनले साहित्यलाई जनचेतनाको प्रभावकारी माध्यम बनाउनु पर्ने बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्