भरतपुर महानगर विकासको रफ्तारमा छ : रेनु दाहाल

Renu Dahal
लोकपाटी न्यूज

चितवन। भरतुपर महानगरपालिका अन्तर्गत वडा नम्बर १२ को कार्यालय प्रयोजनको लागि अत्याधुनिक भवन निर्माण शुरु भएको छ। सो भवन निर्माणका लागि एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरिन्।

भवनको शिलान्यास गर्दै महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिमा अगाडि बढिरहेको बताइन्। उनले महानगरको सेवा प्रवाहलाई ब्यवस्थित बनाइ नागरिकलाई चुस्त सेवा प्रवाह गर्न वडा कार्यालय निर्माणलाई अभियानकै रूपमा अगाडि बढाइरहेको उल्लेख गरिन्।

प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई सुरक्षित र व्यवस्थित शहरको रूपमा विकास गर्ने योजनाका साथ कामहरू अगाडि बढाएको बताउँदै उनले बालश्रमको अन्त्य, फोहोर मैलाको उचित ब्यवस्थापन, वातावरण संरक्षण, सूर्ति चुरोट सेवन तथा बिक्री बितरणमा रोकथाम, सेवा प्रवाहमा नवीनतम प्रविधिको प्रयोग, वैज्ञानिक कर प्रणाली लगायतका कामहरूलाई तिब्रता दिएको बताइन्। उनले नवनिर्मित भवन तोकिएको समयमा गुणस्तरीय ढंगले निर्माण गर्न आग्रह गर्दै महानगरका प्राविधिकलाई नियमित अनुगमन गर्नसमेत निर्देशन दिइन्।

ranu-dahal1

सोही कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोसीले महानगरपालिकाले पूर्वाधार विकास र सेवा प्रवाहलाई दु्रत गतिमा अगाडि बढाइएको भन्दै यो वडा कार्यालय निर्माणसँगै सेवा प्रवाह चुस्त दुरूस्त हुने विश्वास व्यक्त गरे। फोहोरमैला व्यवस्थापन अहिलेको ठूलो समस्या रहेको भन्दै यसलाइ व्यवस्थित गर्न सबै वडावासीहरू सजग हुनुपर्ने र समयमै कर तिर्ने परिपाटीको विकास गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।

भरतपुरका डिभिजनल इञ्जिनियर रत्न लामिछानेले समयमै गुणस्तरीय भवन निर्माण गरेर छिटोभन्दा छिटो सेवाग्राहीलाई सेवा प्रवाह गर्ने योजनाका साथ काम अगाडी बढाइएको धारणा राखे। सोही कार्यक्रममा वडा कार्यालय भवनका लागि जग्गा प्रदान गर्ने सूर्यबहादुर कार्कीलाई दाहालले धन्यवादसमेत ज्ञापन गरिन्।

धनगढा मन्दिर नजिकै २ कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको भवन ८ कोठाको एकतले हुने जनाइएको छ। कुल बजेट १ करोड ११ लाख ८१ हजारको लागतमा निर्माण हुने नव निर्मित अत्याधुनिक प्रविधिमैत्री हुने भवनमा मिटिङ हल, कार्यालय कोठा तथा शौचालय हुनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्