विश्वका ९७ देशमा फैलियो कोरोनाको संक्रमण

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ। शनिबार बिहानसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या एक लाख २ हजार २ सय २४ पुगेको छ।

विश्वका करिब ९७ देशमा यसको संक्रमण फैलिएको छ। कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ९५ पुगेको छ। जसमध्ये चीनमा मात्रै ३ हजार ७० को मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार शनिबार बिहानसम्म चीनमा संक्रमितको संख्या ८० हजार ६ सय ५१ पुगेको छ।

त्यस्तै ५५ हजार ४ सय ४ जना निको भएका छन् भने ५ हजार ४ सय ८९ जना गम्भीर अवस्थाका बिरामी छन्। चीनमा पछिल्लो समय कोभिड-१९ को संक्रमण घटिरहेको छ। स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार शुक्रबार चीनमा थप ९९ जनामा संक्रमण देखिएको छ। त्यस्तै शुक्रबार २८ जनाको मृत्यु भएको छ।

चीनमा संक्रमणको दर घट्दै गए पनि इटाली, इरान र दक्षिण कोरियामा भने तीव्र रुपमा बढिरहेको छ। चीनबाहिर सबैभन्दा बढी इटालीमा १९७ जनाको मृत्यु भएको छ। शनिबार बिहानसम्म इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा १२४ जनाको मृत्यु र ४ हजार ७ सय ४७ मा संक्रमण देखिएको छ।

चीनपछि सबैभन्दा बढी व्यक्तिमा संक्रमणचाहिँ दक्षिण कोरियामा देखिएको छ। शनिबार बिहानसम्म दक्षिण कोरियामा ६ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ भने ४४ जनाको मृत्यु भएको छ।

अमेरिकामा पनि कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। त्यसमध्ये १४ जनाको मृत्यु वासिङ्टन र एक जनाको क्यालिफोर्निया राज्यमा भएको हो। अमेरिकामा संक्रमितको संख्या ३ सय २१ पुगेको छ। त्यस्तै जापानमा १२ जनाको मृत्यु र एक हजार एक सय १६ जनामा संक्रमण देखिएको छ।

कोभिड-१९ को संक्रमणबाट स्पेनमा ८, इराकमा ४, हङकङ र बेलायतमा २-२ तथा थाइल्यान्ड, ताइवान, नेदरल्यान्ड्स, सान मारिनो, फिलिपिन्स र स्विजरल्यान्डमा एक-एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्