ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर अभिभावक बन्नुपर्छ : मोदनाथ प्रश्रित

Modnath
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिकबाट विश्राम लिँदा उपयुक्त हुने मोदनाथ प्रश्रितले सुझाव दिएका छन्। अहिलेको राजनीतिमा नैतिक चेत र मानवीयता हराएको अनुभव भएको उल्लेख गर्दै उनले अब नैतिक चेतको आधारमा प्रधानमन्त्रीले पद छाड्न राम्रो हुने बताए।

‘म त केपी ओली जेलमा हुँदादेखि नै उनको उपचार गर्दै आएको मान्छे हुँ। भेट हुँदा जहिल्यै पनि ‘गुरुदेव’ भनेर सम्बोधन गर्ने गर्नुहुन्छ। तर, उहाँले प्रधानमन्त्री बनेपछिको यो समयसम्म एकपटक पनि कसरी अघि बढ्दा ठीक होला भनेर मसँग सुझाव लिनुभएको छैन।’

‘मसँग नै सुझाव लिनुपर्छ भनेको होइन। प्रधानमन्त्री बनेर कुर्सीमा बसिसकेपछि सबै कुराहरु आफैंलाई थाहा हुँदैन। सिस्टमका कारण धेरै काम आफूले सोचेजस्तो नभइरहेको हुन सक्छ। तर, त्यसका लागि बाहिर स्वतन्त्ररुपमा बसेका मानिसहरुले दिएको सुझाव पनि मान्ने स्वाभाव राख्नुपर्छ।’

‘तर, अहिलेका प्रधानमन्त्रीले भने अरुको सुझाव धेरै लिनुहुन्न कि जस्तो लाग्छ। उहाँहरुको आफ्नै एउटा समुदाय बन्यो। विश्वका मजदुरहरु एक हौं भनेको जस्तै एउटा समुदायको मात्रै कुरालाई विश्वास गर्दा पनि काम सोचेजस्तो हुन नसकेको हो कि भन्ने लाग्छ।’

‘अहिलेको राजनीतिमा नैतिक चेत र मानवीयता हराएको मैले अनुभव गरिरहेको छु। राजनीतिमा उमेर हदको कुरा पनि यसैको एक उपज हो। जसरी हिन्दू संस्कृतिमा हाम्रो उमेर अनुसारको आश्रम व्यवस्था छ। मेरो उमेर छँदासम्म र बल छँदासम्म काम गरेँ, अब तिमीहरु गर भनेर अरुलाई हस्तान्तरण गर्नुपर्ने हो।’

‘अझ अहिलेका प्रधानमन्त्री त जेलदेखि नै बिरामी हुनुहुन्छ। अहिले पनि त्यस्तै हुनुहुन्छ। त्यसैले उहाँले नैतिक चेतको आधारमा प्रधानमन्त्री पद छाडेर बस्नुभए पनि राम्रो हुने हो।’

‘म त भन्छु, यति समय भएपछि प्रधानमन्त्रीले स्वास्थ्यका कारण अब राजनीतिबाट विश्राम लिँदा पनि राम्रै हुन्छ। अहिले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष मध्ये केपी ओली शारीरिक रुपले कमजोर हुनुहुन्छ। छोराको मृत्युपछि प्रचण्ड पनि मानसिकरुपले कमजोर हुनुहुन्छ। दुबै कुनै न कुनै अवस्थामा कमजोर भएको अवस्थामा यही भावनाले पनि पार्टीलाई असर गर्छ कि भन्ने मलाई लागेको छ। तर, अब तपाईंहरुले चलाउनुहोस् भनेर छाडिदिनुभए हुने हो।’

‘राजनीतिमा लोभ हुन्छ, जसले गुटको जन्म गराउँछ। ओलीले हस्तान्तरण गरेपछि पनि चलाउने प्रचण्डजीले हो। उहाँले पनि कसरी पार्टी चलाउनु होला ? त्यसमा पनि आशंका नै छ। यसमा हामीले सबै मिलेर सिंगो पार्टीका रुपमा अघि नबढेसम्म जो सरकारमा आए पनि सोचेजस्तो प्रगति हुन समस्या नै छ जस्तो लाग्छ।’ अनलाइनखबरसँगको कुराकानीको छोटो अंश।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्