मार्च ८ का कार्यक्रम स्थगित

lokpati-favicon
लोकपाटी न्यूज

काठमाडौं। सरकारले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ का अवसरमा मार्च-८ मा गर्ने औपचारिक कार्यक्रम स्थगित गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी ‘हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गरी स्थगित गरेको जनाएको हो।

जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने सम्भावनालाई दृष्टिगत गरी बृहत भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रम नगर्ने’ मन्त्रिपरिषद् बैठकको फागुन २० को निर्णयअनुसार मार्च ८ को औपचारिक कार्यक्रम पनि स्थगित गर्ने निर्णय गरिएको जनाएको हो।

मन्त्री पार्वत गुरुङले कोरोना भाइरसका कारण उत्पन्न विशेष परिस्थितिले मार्च ८ को औपचारिक कार्यक्रमलाई स्थगित गर्नुपरेको बताए। मन्त्रालयले ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ राष्ट्रिय नारा तय गरी आगामी आइतबार प्रज्ञा भवनमा आयोजना गर्ने निर्णय गरेको थियो।