यस्तो छ दुई दिनको मौसम पूर्वानूमान

walking-on-rain
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। पश्चिमी वायुको प्रभावले शनिबार उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको हो।

अइतबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ। हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पश्चिमी भूभागका केही स्थानलगायत मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औँल्याइएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सबैभन्दा धेरै नेपालगञ्जमा ९५ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्