सहकारी ‘मर्ज’ गर्ने प्रक्रिया सुरु हुन्छ : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

काठमाडौँ, मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादनको क्षेत्रका साथै रोजगारी दिने कार्यमा सक्रिय रहेका व्यावसायिक सहकारी संस्थालाई सरकारले प्रवर्द्धन, विकास र प्रत्यक्ष सहयोग गर्ने बताएकी छिन् ।

सिद्धिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोटेश्वरको १०औँ वार्षिक साधारण सभालाई शनिबार राजधानीको तिनकुनेमा सम्बोधन गर्दै नाम मात्रैको सहकारी संस्था अब क्रमशः घट्दै जाने र एकअर्कोमा गाभिने (मर्ज हुने) बताइन् ।

महिला र युवालाई उद्यमी बनाउने, कृषकलाई व्यावसायिकतर्फ लैजाने सहकारी नै अबका दिनमा फस्टाउने पनि मन्त्री अर्यालले धारणा राखिन् । प्रदेशसभा सांसद लक्ष्मण लम्सालले सहकारीले सर्वसाधारणबाट सङ्कलन गरेको निक्षेप घरजग्गा, सवारी साधन जोड्का लागि ऋण दिन नभई जलविद्युत्, कृषि उत्पादन र रोजगारीका क्षेत्रतर्फ लगानी गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा मन्त्री अर्यालले सिद्धिक बचत तथा अण सहकारी संस्था लिका उत्कृष्ट सञ्चालक लक्ष्मीप्रसाद श्रेष्ठ, सल्लाहकार राजकुमार मल्ल, तेजराम झा, शम्भुबहादुर बुढाथोकी, उत्कृष्ट कर्मचारी मेनुका खतिवडा, उत्कृष्ट बचतकर्ता, गोविन्द तिमल्सिना र केदार बुढाथोकी, आवधिक बचतकर्ता ओमप्रसाद तिमल्सिना र उत्कृष्ट शेयरतर्फ कुमारराज गिरीलाई सम्मान गरेकी थिइन् ।