प्रधानमन्त्रीलाई खाना दिन थालियो

PM_KP_TU
लोकपाटी न्यूज

काठमाडौं। मिर्गौला प्रत्यारोपणको चौथो दिन प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ। फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेपछि शनिबार पहिलो पटक प्रधानमन्त्री ओलीलाई नर्मल खाना दिइएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार शनिबारबाट नर्मल खान दिन थालिएको हो।

उनले भने, ‘उहाँलाई सामान्य हिँडडुल गराउन थालिएको छ, फिजियोथेरापीलाई निरन्तरता दिइएको छ। उहाँका भाइटल तथा ल्याब सूचांक सामान्य अवस्थामा छन्। उहाँलाई नर्मल खाना दिन थालिएको छ।’ कार्यकारी निर्देशक खड्गाले मिर्गौला दाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि राम्रो सुधार भइरहेको बताए। ‘उहाँलाई पनि नर्मल खाना दिन थालिएको छ। हिँडडुल गर्न थाल्नुभएको छ। भाइटल र ल्याब सूचांकहरू सामान्य छन्’, उनले भने।

अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत् प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ। प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएका थिए। प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए। त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए। त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्