‘अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो’ : प्रचण्ड

Prachandaa
लाेकपाटी न्यूज

काठमाडौँ, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासमार्फत् समाजवादको आधार तयार गर्नुपर्ने बताएका छन्। राष्ट्रिय पूँजीलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्ने बताएका हुन् ।

“हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पूँजी निर्माण गर्न केन्द्रित छन् कि छैनन् ? प्रचण्डले सरकारले त्यस दिशामा गम्भीर बन्नुपर्ने बताउँदै समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पूँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पूँजीको विकासमा मद्दत पुगेको त छैन भन्ने प्रश्न गरे ।

समाजवाद उन्मुख राजनीति, अर्थतन्त्र, संस्कृति र विकासको समग्र आयामबारे चिन्तन, मनन र अध्ययन गर्नुपर्ने समय आएको बताउँदै उनले समाजवादतर्फ अघि बढ्ने प्रयास जारी रहेको बताए । प्रचण्डले थपे, “अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो । कम्युनिष्ट आन्दोलनभित्र अत्यन्त रुढीवादी चिन्तन हावी देखिएको अवस्थामा समाजवादको धरातललाई बलियो बनाउनु अत्यावश्यक भएको उनको धारणा छ ।

राम्रो भविश्यको चाहनामा विभिन्न चरणमा जनताले सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सङ्घर्षको एउटा बिन्दुमा समझदारीमार्फत गरिएको राजनीतिक घोषणा राज्यका अङ्गले अङ्गीकार गर्न नसक्दा पूराना र नयाँ लडाइँमा पूरानो विचार हावी भएको बताए । उनले भने, “सडकमा सङ्घर्ष गर्दा राजनीतिक नेतृत्व हावी हुने तर सत्तामा पुग्दा राजनीतिक नेतृत्व असफल हुने अवस्था सिर्जना भएको छ ।”

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व संविधानको आधारस्तम्भका रुपमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले यी चार आधार स्तम्भमध्ये एक कमजोर हुँदा मुलूक अप्ठ्यारोमा पर्न सक्नेतर्फ सचेत गराए । उनले भने, “सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास भइराखेको छ, यसलाई संस्थागत बनाउन सबै एकताबद्ध हुनु जरुरी छ ।”