अनेरास्ववियूले वेनोज स्मृति पार्क बनाउने

Benoj
लोकपाटी न्यूज

विराटनगर। नेकपा निकट अनेरास्ववियूले तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी ) का उपाध्यक्ष वेनोज अधिकारीको स्मरणमा उनलाई हत्या गरिएको स्थलमा गएर १८ औँ स्मृति दिवस मनाएको छ।

वि.स. २०५८ फागुन २४ गते अनेरास्ववियू (क्रान्तिकारी ) का तत्कालीन उपाध्यक्ष वेनोज अधिकारीलाई सुरक्षा फौजले मोरङ जिल्लाको खोर्सानेमा लगेर मुठभेडको नाममा हत्या गरेको थियो। अधिकारीलाई फागुन २२ गते विराटनगरबाट नियन्त्रणमा लिएको २ दिनपछि हत्या गरेको थियो।

मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिकाको खोर्साने बजारको उत्तरमा रहेको जङ्गलमा आज आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले उक्त स्थानमा वेनोज स्मृति पार्क र सहिद प्रतिमा बनाउने घोषणा गरे।

हाल अनेरास्ववियू नेता बस्नेतले वेनोजहरुको बलिदान विना मुलुकमा गणतन्त्र सहितको परिवर्तन सम्भव नहुने दाबी गरे। कार्यक्रममा अनेरास्ववियूका नेता मदन भट्टराई, भास्कर खनाल, डम्बर अधिकारी, खगेन्द्र सुवेदी, जिशस न्यौपाने, ताजिम अन्सारी, सन्तोष घिमिरे, टेकेन क्षेत्री लगायतको उपस्थिति रहेको थियो।