आठ मार्च : नारी दिवस कि श्रमिक महिला दिवस ?

women day
लोकपाटी न्यूज

मार्च ८ अर्थात् महिला मुक्तिको ऐतिहासिक दिन। आज यो दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी उत्साहका साथ मनाइन्छ। कतिले मार्च ८ लाई नारी दिवस, कतिले श्रमिक महिला दिवस त कतिले महिला दिवसका रुपमा समेत व्याख्या गर्दै आएका छन्। खासमा मार्च ८ नारी दिवस हो कि श्रमिक महिला दिवस ? यो सामान्य विषय नभएर एउटा गम्भिर विचारधारात्मक बहस पनि हो।

संसारमा जति बेलादेखि निजी सम्पत्तिको सुरुआत भएपछि नै वर्गीय सङ्घर्षको थालनी भएको हो। समाज वर्गीय हुन्छ, जहाँ वर्ग हुन्छ, त्यहाँ सङ्घर्ष हुन्छ। दास युगमा दास र दास मालिकको बीचमा सङ्घर्ष भयो, सामन्ती युगमा जमिनदार वर्ग र किसान बीचमा सङ्घर्ष भयो भने पुँजीवादी युगमा पूँजीपति वर्ग र मजदुर बीचमा सङ्घर्ष भयो।

अन्ततः एकपछि अर्को अत्याचारी शासन व्यवस्था ढल्दै गए। नयाँ समाज व्यवस्था निर्माण हुँदै गयो। हरेक पूरानो शासन व्यवस्थाको अन्त्य र नयाँ समाज निर्माण र विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो। महिलाहरु समाजको मुक्तिका लागि भएको महान् आन्दोलनमा अलग रहन सकेनन्। दासमुक्ति आन्दोलनमा लाखौँ सहिद भए, किसान अर्धदासको मुक्तिको सङ्घर्षमा पनि हजारौँ महिलाले भाग लिए भने यो युगको सबैभन्दा शक्तिशाली मजदुर वर्गको आन्दोलनमा पनि मजदुरको झन्डामुनि करोडौँ महिला संगठित भएका छन्।

युग अगाडि बढ्दै जाने क्रममा पन्ध्रौँ, सोह्रौँ शताब्दीमा पश्चिमी युरोपमा पुँजीवादी उत्पादन सुरु भयो। महिला पनि घरेलु कामबाट कलकारखानामा आउन थाले। भूमिबाट उद्योगधन्दामा रूपान्तरण हुन थाल्यो। सत्रौँ र विशेषतः अठारौँ शताब्दीमा बेलायतको औद्योगिक क्रान्तिपछि उद्योगधन्दा र पूँजीको विकासमा तीव्रता आयो।

नयाँ युगको जन्मसँगै महिलाको पनि कामको जिम्मेवारीमा परिवर्तन आयो। महिला घरको चार दिवार नाघेर तीव्रत्तर गतिमा उत्पादन कार्यमा भाग लिन थाले। सर्वहारा वर्गको एउटै साधन श्रमको मागभन्दा आपूर्ति धेरै भएको र पुँजीपति मजदुर वर्गप्रतिको अनुदार चरित्र र कठोर प्रवृत्तिका कारण कम ज्यालामा अधिकतम काम गर्न बाध्य भए। १७–१८ घण्टा र कहीँ–कहीँ २० घण्टासम्म बिना कुनै सुविधा अस्वस्थ वातावरणमा काम गर्न बाध्य थिए। यतिसम्म कि महिनावारी बिरामी र सुत्केरी अवस्थामा समेत अत्यन्त जोखिमपूर्ण काम गर्नुपथ्र्याे। कम तलब र गरिबीका कारणले थप आम्दानीका लागि ५/६ वर्षका आफ्ना केटाकेटीलाई समेत मेसिनको धूवाँमा जोखिमपूर्ण काम गराउन बाध्य भए।

‘जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ, जहाँ प्रतिरोध हुन्छ, त्यहाँ विस्फोट हुन्छ’ भनेजस्तै पुँजीपति वर्गले मजदुरमाथि नृशंस रूपले अमानवीय व्यवहार गर्दै जाने क्रममा मजदुर र पुँजीपतिबीचको अन्तरविरोध तीव्र गतिले बढ्दै गयो। परिणामस्वरूप अठारौँ शताब्दीमा ठूल्ठूला मजदुर आन्दोलन भए। सुरु–सुरुका यी मजदुर आन्दोलन उग्र मेसिन तोडफोड गर्ने खालको थियो, पछि कारखाना मालिकमा केन्द्रित भयो।

यी ठूला आन्दोलनमध्ये बेलायतको चार्टिस्ट आन्दोलन, १८३१ मा फ्रान्स, १८३४ को लिओन्स विद्रोह र १९४४ को जर्मनीमा सिलोसियाली विद्रोह विश्वका चर्चित मजदुर विद्रोह हुन्। हरेक वर्गीय र मजदुर आन्दोलनमा महिलाको सहभागिता महत्वपूर्ण रह्यो। त्यसबाहेक महिलामाथि हुने असमान तलब, व्यवहार र कानूनविरुद्धमा पनि एकजुट भएर महिला सडकमा ओर्लिए। मजदुर आन्दोलनबाट पूँजीवादी सरकार आत्तिएर प्रहरी सैनिकको प्रयोग, प्रेसको प्रयोग, आन्दोलनमा घुसपैठ गर्ने, गुण्डा लगाउने, जागिर खोस्ने, दमन, हत्या र फासीसमेत दिए। तर, पनि आन्दोलन दबाउन सकेनन्। तानाशाही शासक झुक्न बाध्य भए। यसप्रकार श्रमजीवी महिलाको निरन्तर सङ्घर्षको परिणामस्वरूप महिला अधिकार स्थापित हुँदै गयो।

पश्चिमा मुलुकमा अमेरिकी महिला मुक्ति आन्दोलनभन्दा युरोपेली महिला मुक्ति आन्दोलन मजदुर आन्दोलनबाट धेरै प्रभावित थियो। युरोपका महिला नेताहरूको समाजवादी वामपन्थी विचारधारबाट प्रभावित थिए। परिणामस्वरूप समाजवादी आन्दोलनलाई जन्म दिए। सन् १७७९ देखि बेलायतमा मेरी उल्सटोन क्राफ्टले महिला समान अधिकारको कुरा उठाउन सुरु गरेको भएतापनि सन् १८६५ तिर आइपुग्दा मात्र महिला मुक्ति आन्दोलनले संगठित रूप लिएको पाइन्छ।

सन् १८५०–६० मा अमेरिकामा पूँजीवादको तीव्र यान्त्रिकीकरणले शारीरिक कामलाई विस्थापित गर्दै अनिश्चित घण्टा कामको बोझ, मालिकको हैकम र शोषणले मजदुरको जीवन अत्यन्त कष्टप्रद थियो। यसविरुद्धमा ८ मार्च सन् १८५७ मा अमेरिकी सुती कपडा कारखानामा काम गर्ने महिलाले कामको समय कम गराउन आन्दोलन गरेका थिए। सन् १८६४ मा पहिलोपटक अन्तर्राष्ट्रिय श्रमिक सङ्घ गठन भयो र सदस्यका रूपमा क्लारा जेट्किन पनि रहिन्। त्यसबेलासम्म महिला आन्दोलनमा दुईवटा धार देखा परिसकेको थियो। (१) महिला आन्दोलनलाई पूँजीवादी सुधारमै सीमित राख्न चाहने (२) महिला मुक्तिलाई सर्वहारावादी आन्दोलनसँग जोड्ने।

पहिलो धारको नेतृत्व पूँजीवादी महिलाले गरेका थिए भने दोस्रो धारको नेतृत्व क्लारा जेट्किनजस्ता समाजवादी महिलाले गरेका थिए। त्यतिखेर फ्रेञ्च अराजकतावादी, निम्न पुँजीवादी समाजवादी मजदुर आन्दोलनको नेतृत्व गर्ने प्रुधोले महिलाले कारखानामा काम गर्नु हुँदैन भन्ने धारणाको खण्डन गर्दै कार्ल मार्क्सले सन् १८६८ मा भएको प्रथम इन्टरनेशनलमा महिला समानताका निम्ति सामाजिक उत्पादन काममा महिलाको संलग्नता नितान्त आवश्यक भएको निष्कर्ष निकाले।

उनले समान कामको असमान ज्याला प्रथा, अतिरिक्त श्रम शोषण, अनुत्पादक श्रमको बन्धनबाट मुक्ति प्राप्त नगरी महिलाले वास्तविक अर्थको आत्मनिर्भरता वा मुक्ति प्राप्त गर्न सक्दैन भन्ने दृष्टिकोण अगाडि सारे। त्यसका लागि अलग्गै राति काम गर्न निषेध गरी नयाँ कानूनको वकालत गरियो। प्रथम इन्टरनेसनलको यो विचारले विश्वभरि नै प्रभाव पार्‍यो। परिणामस्वरूप महिला पनि ट्रेड यूनियनमा संगठित हुन थाले, जसको प्रभावबाट सन् १८७१ मा फ्रान्समा भएको पेरिस कम्युन विद्रोहमा पनि सक्रिय सहभागी भए।

यस्तै गरी ८ मार्च १८९७ मा उचित ज्याला र १० घन्टा कार्य दिनको माग गर्दै अमेरिकाको न्युयोर्कमा आन्दोलन भयो। १९०७ तिर आइपुग्दा समाजवादी महिलाको ठूलै पंक्ति तयार भयो। त्यसले जर्मनीको स्टुटगार्डमा पहिलो सम्मेलन गरी क्लारा जेट्किनको नेतृत्वमा ‘श्रमिक महिला संघ’ गठन गर्‍यो। यसको गठनले महिला आन्दोलन यूरोपमा मात्र होइन, अन्य देशमा पनि प्रभाव पर्न थाल्यो।

८ मार्च १९०८ मा अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाले मताधिकारका लागि पुनः सङ्घर्ष गरे। त्यस्तै गरी ८ मार्च १९०९ मा अमेरिकाको सिकागो सहरमा महिलाको ठूलो संगठित शक्तिले महिला अधिकारका निम्ति विभिन्न ठाउँमा हडताल, खुला सभा र सडकमा उत्रेर विशाल जुलुस प्रदर्शन गरे।

सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा १७ देशका महिलाको सहभागितामा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन सम्पन्न भयो। यस सम्मेलनमा ८ घण्टाको श्रम समय लागू गरिनुपर्ने, मातृशिशु कल्याण कार्यक्रम सञ्चालन हुनुपर्ने, आमा र बच्चाको संरक्षण हुनुपर्ने, हतियारको होडबाजी बन्द गरी युद्धको समाप्ति र शान्तिपूर्ण मानव जीवनको ग्यारेन्टी गरियोस् तथा महिलाले पनि आर्थिक र राजनीतिक काममा सक्रियतापूर्वक भाग लिन पाउनुपर्ने भन्ने विचार अगाडि सारियो।

साथै उक्त सम्मेलनले विभिन्न समयमा महिला अधिकार र समानताका लागि भएका महिला आन्दोलनबारेमा पनि गम्भीरतापूर्वक छलफल गरेको थियो। त्यो सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चको दिनमा विश्वका धेरै देशमा श्रमिक महिलाले आफ्नो अधिकारका लागि ठूल्ठूला सङ्घर्ष गरेका, ती सङ्घर्षमा धेरै बलिदानी पनि भएको र महिलाले आफ्नो हक–अधिकार स्थापित गर्न सफल पनि भएको हुँदा उक्त दिनको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै ८ मार्चलाई एकता, सङ्घर्ष र विजयको प्रतीकका रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन्।

प्रस्तावलाई सहभागी राष्ट्रका महिलाले सर्वसम्मतिले पास गरे र सन् १९११ देखि ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस निरन्तर मनाइँदै आएको छ। सन् १९६७ मा संयुक्त राष्ट्रसंघको महासभामा महिला भेदभाव र शोषणविरुद्ध प्रस्ताव पारित भयो। सन् १९७२ को संयुक्त राष्ट्रसंघीय साधारण सभाले सन् १९७५ लाई महिला वर्ष र १९७५–८५ लाई महिला दशकका रूपमा मनाउन आफ्ना सदस्य राष्ट्रलाई आह्वान गरेको थियो।

मार्च ८ महिला मुक्तिको दिन हो। तर, यसलाई कतिले नारी दिवस त कतिले श्रमिक महिला दिवसका रुपमा मनाउँदै आएका छन्। वामपन्थी कित्ताका विश्लेषक र अधिकारकर्मीहरु यसलाई श्रमिक महिला दिवसका रुपमा स्थापित गर्न चाहन्छन्। तर, प्रजातान्त्रिक खेमाका महिलाहरु यसलाई नारी दिवसकै रुपमा स्थापित गर्दै आएका छन्।

जतिबेला महिला मुक्तिको नारा अघि सारियो, त्यतिबेला सतहमा २ मत देखा परे। पहिलो, महिला आन्दोलनलाई सुधारवादमै सीमित गर्ने र दोस्रो, साम्यवादसम्म जाने लक्ष्य राख्ने। यहीँनेर महिलाहरु राजनीतिक धारामा बाँडिए। आज महिला मुक्ति आन्दोलनलाई सत्ता सङ्घर्षसँग जोड्ने महिलाहरु मार्च ८ लाई श्रमिक महिला दिवसका रुपमा मनाउँछन् भने पूँजीवादी राजनीतिक प्रतिस्पर्धा नै आफ्नो अन्तिम लक्ष्य ठान्नेहरु नारी दिवस भन्छन्।

कतिपयले श्रमिक दिवस र नारी दिवसलाई पर्यायवाचीको रुपमा प्रयोग गरेको पनि पाइन्छ। नारी शब्दले लैङ्गिक प्रतिनिधित्व मात्र गर्दछ। तर, श्रमिक महिला शब्दले निरन्तर सङ्घर्ष र अधिकारको सन्देश बोक्दछ। यसरी हेर्दा मार्च ८ लाई नारी दिवस होइन, श्रमिक महिला दिवसकै रुपमा स्थापित गरिनुपर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्