कोरोनाको कारण विश्वभर उनान्तीस करोड बढी बालबालिकाको पढाइ अवरुद्ध

school01
लाेकपाटी न्यूज

काठमाडौं । कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहँदा थप संक्रमण रोक्नको लागि विद्यालय बन्द गर्दा २९ करोड बढी विद्यार्थीहरुको पढाइ अवरुद्ध भएको छ । संयुक्त राष्ट्र संघकाअनुसार गत मंगलबारसम्ममा २२ राष्ट्रले भाइरसका कारण स्कुल बन्द गराइसकेका छन् ।

यसबारे ‘युनेस्को’ का डिरेक्टर–जेनेरल अड्रे अजोलेले भनेका छन् बालबालिकाहरुको शैक्षिक कार्य निरन्तर रहोस् भन्ने सुनिश्चित गर्न युवा विद्यार्थीहरुसँग सहकार्य गरिरहेको बताएका छन् । वास्तवमा स्वास्थ्य लगायत अन्य कारणले अस्थायी रुपमा स्कुल बन्द हुनु धेरै नयाँ कुरा नभएपनि यो अवस्था लामो समयसम्म जारी रहेमा भने यसले बालबालिकाहरुको शिक्षाको अधिकार जोखिममा पार्ने बताएका छन् ।

यसरी १३ राष्ट्रमा अहिले देशव्यापी रुपमै स्कुल बन्द छन् जसमा चीनका २३ करोड ३० लाख विद्यार्थीहरु सबैभन्दा नराम्ररी प्रभावित भएका हुन् । त्यसपछिका अन्य मुलुकहरु जापान, इरान, इटली र उत्तर कोरिया रहेका छन् जसले पनि देशव्यापी अध्ययन संस्थाहरु बन्द गर्ने निर्णय गरेका हुन् ।

ससाना मुलुक अजरबैजन, लेबनन, अर्मेनिया, बहराइन, कुवेत, मंगोलिया र युएईले पनि विद्यालय बन्दको घोषणा गरिसकेका छन् । यता फ्रान्स, जर्मनी, पाकिस्तान, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले चाहिँ संक्रमणको उच्च जोखिममा रहेका विशेष स्थानहरुमा मात्र स्कुल बन्द गरेका छन् । बिहीबार भारतको राजधानी दिल्लीमा पनि केही स्कुल बन्द गरिएको न्युयोर्क टाइम्सले खबर गरेको छ ।

यसरी विद्यालय बन्द हुनुले विशेषगरी कमजोर विद्यर्थीहरुलाई धेरै समस्यामा पार्ने गर्दछ जो स्कुल बाहिर पढ्न कमै प्रेरित हुन सक्छन् । कतिपय मुलुकहरुमा धेरै विद्यार्थी पोषण तत्वका लागि विद्यालयको निःशुल्क खानामा निर्भर हुन्छन् । काम गर्ने अभिभावकहरु पनि बच्चाहरुको स्कुल बन्द हुनुले समस्यामा पर्छन् । हाल अमेरिकाका केही विद्यालय मात्र बन्द छन् तर सो सङ्ख्या बिस्तारै बढ्दै जाने अनुमान गरिएको छ ।

लस एन्जलसले बुधबार नै स्वास्थ्य आपत्कालको घोषणा गर्दै स्कुल बन्दको तयारी गर्न भनिसकेको छ । नेपाल सरकारले पनि केही समय अगाडि सबै विद्यालयलाई चाँडो भन्दा चाँडो अन्तिम परीक्षा सम्पन्न गराइ बिदा सुरु गर्न भनेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्