शहरको घरानियाँ छाउपडी

Rajkumari Ojha
सम्भ्रान्त परिवारमा पनि छाउपडीका बाछिटाहरु अहिले पनि छन्। उनीहरुले महिलालाई अलग्गै छाउगोठमा त राख्दैनन्। तर, अलग्गै कोठामा राख्ने, उनीहरुले छोएको नखाने, खाना पुरुषले पकाउने तर बािहरको गह्रौं काम महिलालाई लगाउने प्रथा अहिले पनि नेपालका सबै परिवारमा छ। यो पनि छाउपडी प्रथाकै रुप हो।
लोकपाटी न्यूज

राजकुमारी ओझा

अन्तर्राष्ट्रिय महिला दिवशको सन्दर्भ पारेर छाउपडीका बारेमा लेख्दै गर्दा यो बहसलाई घरानियाँ छाउपडी र छाउपडी भनेर सम्बोधन गर्दा यथार्थतासँग मेल खान्छ। आम मानिसहरुले गरिबी र अज्ञानताका कारण सही ढंगले ब्यवस्थित गर्न नसकेर छाउपडी प्रथा जन्मिएको हो। महिलाहरुको जैविक संरचनाका कारण निश्चित उमेर समूहबीच प्राकृतिक रुपमा हुने महिनावारीलाई शब्द भ्रम गराएर छाउपडी भन्ने शब्दविशेष नामाकरण गरियो। यथार्थमा छाउपडी प्रथा अत्यन्तै अमानवीय प्रथाको रुपमा रहेको छ। अभाव, गरिबी र अशिक्षासँग पनि यो प्रथाको गहिरो नाता जोडिएको छ।

सुदूरपश्चिमको यो कूरीतिको अट्टाहास गर्ने होइन, किनकि यो हरेक नेपालीको समस्या हो। प्रकृतिले बनाएको जैविक संरचनालाई परम्परामा ढालेर महिलामाथि गरिने लैगिंक हिंसाको रुप हो छाउपडी। छाउपडीको बहसले दिनहुँ पत्रपत्रिका, सामाजिक सञ्जाल अझै कहिलेकाहीँ त अन्तर्राष्ट्रिय जगत पनि तातेको देखिन्छ। सुन्दा हामी सबैलाई अचम्म लाग्छ कि मान्छेलाई पनि कसरी यस्तो ‘ट्रिट’ गरिन्छ भनेर। तर, त्यहाँको गरिबी, अशिक्षा, अन्धविश्वास, कुरीति, लैंंगिक विभेद आदि कुराहरुको कोरा बहस मात्रै होइन, यसको सुरक्षित र सभ्य अवतरण गर्नुपर्छ, यो राज्यको कर्तव्य हो।

छाउपडीलाई घरानियाँ छाउपडी र छाउपडी गरी दुई भागमा बिभाजन गरेर बहस गर्दा न्यायसंगत हुन जान्छ। छाउपडी मात्र भन्दा यो सुदूरपश्चिमसँग मात्र जोडिएर बढी विज्ञापन अर्थात् प्रचारप्रसार गरेजस्तो अनुभूति हुन्छ। घरानियाँ छाउपडी प्रक्रिया समान तर लुकेर रहेको सम्भ्रान्त, काठमाडौंभित्र रहेको छाउपडी भन्ने बुझिन्छ। फरक यत्ति मात्र हो यहाँ छाउगोठ हुँदैनन्। विश्वभरि नै जहाँ–जहाँ नेपालीहरु बस्दछन्, केही समुदायबाहेक सबैले महिनावारी बारेकै हुन्छन्, नेपालीहरुको धर्मसंस्कृतिका नाममा।

नेपालका केही कम्युनिष्ट नेताको परिवारबाहेक प्रत्येकजसो नेपालीको घरमा छाउपडी प्रथा छ। सम्भ्रान्त परिवारमा पनि छाउपडीका बाछिटाहरु अहिले पनि छन्। उनीहरुले महिलालाई अलग्गै छाउगोठमा त राख्दैनन्। तर, अलग्गै कोठामा राख्ने, उनीहरुले छोएको नखाने, खाना पुरुषले पकाउने तर बािहरको गह्रौं काम महिलालाई लगाउने प्रथा अहिले पनि नेपालका सबै परिवारमा छ। यो पनि छाउपडी प्रथाकै रुप हो। तर, यसबारे हामीकहाँ पर्याप्त बहस भएको पाइँदैन।

मध्य र सुदूर पश्चिमका केही ठाउँका मात्र छाउ गोठमा राखिन्छ, त्यो चेतनाको अभाव, धर्म संस्कृतिसँग हेरिने कूप्रथा, आर्थिक अभाव, शिक्षाको कमिले गर्दा हो। जहाँजहाँ नेपालीहरु रहेका छन्, ती सबै ठाउँमा छाउपडी प्रथा छ, महिनावारी बारिन्छ। फरक यत्रि मात्र हो सम्भ्रान्त परिवारमा छाउगोठ हुँदैन। तर, छोइछिटो उस्तै छ। सांकेतिक महिला हिंसा र विभेदको विम्ब उस्तै छ। घरानिया छाउपडी सुबिधासम्पन्न छाउपडी र सुदूरपश्चिमको छाउपडी अभावग्रस्त, बिपन्नतासँग सम्बन्धित छाउपडी हो भन्दा अत्युक्ति नहोला।

छाउपडीको शाब्दिक अर्थ ‘छाउ’ भनेको महिनावारी र ‘पडी’ भनेको हुनु हो। यसको अर्थ छाउपडी भनेको महिनावारी हुनु हो। तर यसको बजार हल्ला फरक ढंगले निकै चर्चित हुने गरेको छ। छाउपडी भन्ने बित्तिकै यसको शाब्दिक अर्थ नै सुदूरपश्चिम भन्ने खालको भ्रम छ। सरसर्ती हेर्दा यो बार्ने चलन परापूर्वकालदेखि नै चलिआएको हो। त्यतिबेला महिलाहरुले धेरै काममा जोतिनुपर्ने, खानपिन पोसिलो नहुने, पानी ओसार्न २–३ घण्टासम्म हिड्नुपर्ने आदि बिभिन्न कामका बोझले शारिरिक अस्वस्थता बढी मात्रामा हुने गर्दा महिनावारी भएका बेला शारीरिक कमजोरी रहने, आरामको आवश्यकता पर्ने भएकाले त्यतिबेला यो महिनावारी बार्ने चलन वैज्ञानिक नै थियो भन्न सकिन्छ।

तर, यसलाई धर्म र संस्कारसँग जोडेर हेरिनु, प्रचार गरिनु, गलत र अन्धविश्वासले ग्रसित मानसिकता हो। महिनावारी भएका बेला आवश्यक पर्ने सफा कपडा, प्याडहरुको ब्यवस्था नहुनु, यथार्थ मात्रामा लुगा कपडा नहुनु आदि बिभिन्न कारणले गर्दा घर ब्यवहारका कुरा, पकाउने कुराहरु, अलग बस्नु, सर सफाई गर्ने साधनको कमीले गर्दा अलग बस्नु बसाउनु गलत थिएन। हाम्रा हजूरआमा, आमा, फूपूहरुको मुखबाट पनि सुन्न सकिन्छ महिनावारीका चार पाँच दिन त सुख नै हुन्थ्यो भन्ने कुराहरु त्यतिबेला। तर, भान्साभित्रको कामबाट टाढा राखेर घरबाहिरको काम लगाउने प्रचलनले भने महिलाहरुले महिनावारीको समयमा आराम पाउन सकेका थिएनन् र छैनन्।

नेपालको राजधानी काठमाडौंमा बसोबास गर्नेहरु, सम्भ्रान्त परिवारमा अझ बढी लुकेर रहेको छाउपडी समस्या देखिन्छ। वर्षौंदेखि राज्यको विभेदको शिकार सुदूरपश्चिम, जहाँका जनताहरुले राज्यबाट थोरै पनि सेवा सुविधा, विकासका कार्यक्रमहरुको अनुभूति गर्न पाएका थिएनन्, त्यो ठाउँमा एउटा मात्र पक्ष, जो अमानवीय नै हो। त्यसलाई बारम्बार प्रचार प्रसारमा मात्र ल्याएर डलरवादीहरुले आफ्नो दुनो सोझ्याउने काम नगरुन्, एनजिओ र आइएनजिओहरुले त्यसलाई न्यूनिकरण गर्नेतिर आफ्ना कार्यक्रमहरु सञ्चालन गरुन्। बिकल्प नदिई अन्धाधुन्ध तरीकाले राज्यले पनि कुनै कार्यक्रम नगर्दा उचित होला।

यसलाई कूप्रचार गरेर, अतिरञ्जित गर्नुभन्दा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेतिर राज्य, गैरसरकारी संस्थाहरु, स्थानीय बासिन्दा सबैको सहकार्य जरुरी छ। यसरी मात्र विश्वभरि राम्रो सन्देश जाने गरी यो प्रथा निर्मूल गर्न सकिन्छ। सुदूरपश्चिमको छाउ गोठ भत्काइरहँदा काठमाडौं र सम्भ्रान्त परिवारमा भएको छाउ चिन्तन भत्काउन पनि उत्तिकै जरुरी छ। सम्भ्रान्त परिवारमा महिलाहरु शारीरिक हिंसामा नहोलान्। तर, महिनावारी भएको समय अलग राख्नु र छोइछिटो गर्नु आत्मसम्मानमाथिको प्रहार हो। मानसिक र मानवीय हिंसा हो। यसका विरुद्ध पनि हामीले आवाज उठाउनैपर्छ।

मार्च ८ (फाल्गुन २५) मा हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन गइरहेका छौं। यस दिवसमा यस्ता विषयमाथि गहन बहस जरुरी छ। यस्ता गलत संस्कार, अन्धविश्वास, धर्मको नाममा महिलामाथि गरिने विभेदपूणर््ा ब्यवहारले अझै पनि निरन्तरता पाउनु आफैमा लाजमर्दो कुरा हो। प्राकृतिक सांस्कृतिक सौन्दर्यताले भरिपूर्ण यस प्रदेशको बैभवलाई कुप्रथा, कुसंस्कारसँग मात्र जोडेर हेरिनु फेरि पनि अर्को विभेद हो। सुदूरपश्चिमलाई चिनाउने धेरै प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु छन्, सौन्र्दयताले भरिएको खप्तड, बिभिन्न धार्मिक स्थलहरु जस्तै डोटीको सैलेश्वरी मन्दिर, मालिका जूर्न, डडेलधुराको उग्रतारा मन्दिर, बैतडीको त्रीपूरासुन्दरी आदि आदि। हामीले यिनीहरुको प्रचारमार्फत् सुदूरपश्चिमका नागरिकको जीवनस्तर सुधार्न पनि सोचौं। जीवनस्तरमा आउने परिवर्तनले सोंचमा पनि स्वतः परिवर्तन ल्याइदिन्छ।

छाउपडी प्रथाका विविध रुपहरु छन्। हामीले ती सबै रुपहरुका विरुद्ध उभिन जरुरी छ। तर, यसका लागि हाम्रो चिन्तनमा परिवर्तन पहिलो शर्त हो। चिन्तनमा परिवर्तनका लागि व्यक्तिको जीवनस्तरमा परिवर्तन जरुरी छ। भोको पेटले सुदूर भविष्यको कल्पना गर्न सक्दैन। त्यसैले छाउपडी प्रथा अन्त्यका लागि मानिसको जीवनस्तरमा परिवर्तन खोजौं। हाम्रा सोचहरुमा रुपान्तरण खोजौं। परिवारबाट गरिने परिवर्तनले मात्र सामाजिक, सांस्कृतिक परिस्थितिमा गुणात्मक परिवर्तन ल्याउन सक्छ, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैमा हार्दिक शुभकामना।

(लेखक ओझा अधिकारकर्मी हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्