के कन्या चाहिँ दान दिने वस्तु हो ?

wedding
लोकपाटी न्यूज

काठमाडौं। महिलामाथि विभेदको अर्को एक संस्कार हो विवाह प्रणाली। अहिले पनि समाजमा कन्यादान दिने चलन छ। विवाहको वैदिक कर्म सकिएपछि पण्डितले भन्छन्, ‘कन्यादान दिने बेला भयो, दुलहीका बाबु कता छन् ?’ मण्डपमा वधुका पिता हाजिर हुन्छन् र भन्छन्, ‘लौ, ज्वाइँसाहेव, मारे पाप, पाले पुण्य, छोरी तपाईलाई सुम्पिएँ।’

तर, कसैले प्रश्न गर्दैन, ‘के कन्या चाहिँ दान दिने वस्तु हो ?’ आज पनि समाजमा महिलालाई वस्तुका रुपमा दान दिने चिन्तनमाथि हामीले प्रश्न उठाइरहेका छैनौं। शिक्षित महिलाहरु पनि यसबारे बोल्दैनन् र यसको ऐतिहासिक मान्यता र गहिराइमा पुग्न आवश्यक ठान्दैनन्। महिलालाई दान दिने हाम्रो विवाह प्रणालीबारे महिला अधिकारकर्मी किन बोल्दैनन् ?

अर्कोतिर हामी दाइजो प्रथाको विरोध गरेका छौं, यो ठीक छ। तर, सम्पत्तिमाथिको अधिकारबारे आवाज जति बुलन्द हुनुपर्थ्यो, त्यति हुन सकिरहेको छैन। हामीले दाइँजो प्रथाको विरोध त गर्‍यौं। यसले एक हदसम्म महिलामाथि हुने हिंसा र उत्पीडनलाई कम गर्‍यो। तर, हामीले दाइँजोको विरोध गरेपछि पैतृक सम्पत्तिमाथि समान हक व्यवहारमा स्थापित गर्नुपर्थ्यो। महिलालाई विवाहकै बेला अंश दिने व्यवस्थालाई अनिवार्य गर्नुपरथ्यो। यसमा महिला अधिकारवादीको भूमिका कमजोर देखिएको छ।

महिला मुक्तिको लडाइँ क्षणिक विषय होइन, महिला र पुरुषबीच जैविक र शारीरिक भिन्नता अनन्त प्रवाह हो। यो प्राकृतिक नियम पनि हो। त्यसैले जैविक विविधताले हाम्रो भूमिकाको विविधतालाई पनि स्वीकार गर्दछ। कतिपय अवस्थामा हाम्रो प्राकृतिक कमजोरीमाथि पनि पुरुषप्रधान चिन्तन र समाजबाट प्रहार भइरहेको छ।

तर, हामीले आफूलाई जति शक्तिशाली बनाएर समानताको लडाइँ लड्नुपर्थ्यो, त्यसमा काफी मात्रामा चुकिरहेका छौं। समानताको लडाइँसगै हामीले आफूलाई पनि आत्मसमीक्षा र पूनर्संगठित गर्न जरुरी छैन र ? यो गम्भिर सवाल हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्