‘स्त्री–बम’ : शक्ति सङ्घर्षमा नयाँ प्रयोग

p081hy4m
सहमतिमा अवैध सम्बन्ध राख्ने, त्यसमा अनुचित शर्तहरु राख्ने र शर्तहरु पूरा नभए बलात्कारको अभियोग लगाउँदै कानूनको सहारा खोज्ने प्रवृत्तिले महिला आन्दोलन र आदर्श कमजोर बन्ने उनीहरुको तर्क छ। अझ यसमै खेलेर कतिले त राजनीतिक र सामाजिक प्रतिशोधसमेत साँध्ने गरेका छन्।
लोकपाटी न्यूज

काठमाडौं। बडादशैंको दिन थियो। निवर्तमान सभामूख कृष्णबहादुर महरा आफ्नै सरकारी निवासमा आफन्तसँग रमाउँदै थिए। त्यही बेला बलात्कार प्रयासको अभियोगमा उनी गिरफ्तार परे। निवासमा पाक्दै गरेको मासुभात छोड्दै उनी हिरासतको यात्रातिर लागे। उनलाई एक सरकारी कर्मचारीले बलात्कारको प्रयास गरेको अभियोग लगाए पनि आफै प्रहरीमा पुगेर उक्त अभियोग फिर्ता लिएकी थिइन्। तर, महरा बलात्कारको अभियोगबाट बच्न सकेनन् र पक्राउ परे।

महरालाई जसले बलात्कारको प्रयासको अभियोग लगाएकी थिइन्, तिनै महिलाले प्रहरीकहाँ र अदालतमा समेत पुगेर महरा निर्दोष रहेको बयान दिइन्। त्यति गर्दासमेत महरा पुर्पक्षका लागि थुनामा जानबाट जोगिन सकेनन्। उनी तीन महिना पुर्पक्षका लागि थुनामा बसे। जिल्ला अदालत काठमाडौंले निर्दोष रहेको ठहर गरेपछि उनी अहिले रिहा भएका छन्। तर, महरालाई फसाउन ती महिलालाई कसले प्रयोग गर्‍यो ? त्यो भने रहस्यकै गर्भमा छ।

महरा मात्र होइन, प्रदेश नं.–१ का मूख्यमन्त्री शेरधन राईविरुद्ध एक महिलाले पतिको दावी गर्दै अदालतमै जाहेरी दिएकी छिन्। यता मूख्यमन्त्री राईले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको र आफूले मूख खोल्ने समय आएको बताएका छन्। शेरधन प्रकरणमा अदालतको फैसला के आउँछ ? त्यो चाहिँ प्रतीक्षाकै विषय छ। तर, राईले राजनीतिक प्रतिशोधको मुद्दा उठाउनु र यति ढिलो गरी पत्नी हकको जाहेरी पर्नुले विषय थप रहस्यमय बनेको छ।

केही महिनाअघि नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भयो। दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको हो। थापाले ती महिलालाई डार्लिङ मात्रै भनेका छैनन्, पटक–पटक यौन सम्बन्ध राखेको पुष्टि हुने गरी छिल्लिएका छन्। आठ मिनेट लामो त्यो सम्वाद सार्वजनिक भएपछि नेकपा नै अप्ठ्यारोमा पर्‍यो। तर, त्यो सम्वाद कसरी सार्वजनिक गरियो ? त्यो पनि रहस्यमय नै छ।

नेकपाका सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल रावल जबर्जस्ती करणी प्रयासको आरोपमा बुधबार पक्राउ परे। एक विवाहित महिलाले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन्। ती महिलाले रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन्। रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन्। उनले आफूलाई फसाइएको दावी गरेका छन्।

माथि उल्लेखित विषय केही दृष्टान्त मात्र हुन्। उच्च तहका राजनीतिक नेतामाथि यस प्रकारका अभियोग लाग्ने क्रम जारी नै छ। महराले पूर्णतः सफाइ पाए पनि अरु मुद्दाबारे अहिले नै यही कुरा ठीक हो भन्न सकिने अवस्था छैन। उनीहरु कति दोषी छन् वा निर्दोष ? त्यो फैसला होला नै। तर, एउटा प्रश्न जबर्जस्त उठेको छ, कतै सहमतिमा भएका यौन अराजकता नै पछि बलात्कारका रुपमा परिभाषित भएका त होइनन् ?

समाजमा आएको खुलापन, सामाजिक सञ्जालको पहुँच र गलत प्रयोग एवं वैदेशिक रोजगारीजस्ता विविध कारणले समाजमा एकनिष्ठ दाम्पात्य सम्बन्ध कमजोर बन्दै गइरहेको छ। एक अध्ययनअनुसार प्रत्येक १०० जनामा ५० जनाभन्दा बढीको परपुरुष वा परस्त्रीसँग अवैध सम्बन्ध रहेको दावी गरिएको छ। त्यो दावीको आफ्नो ठाउँमा सत्यता होला। तर, सहमतिमा भएका यौन सम्बन्ध पनि कुरा नमिलेपछि बलात्कारका रुपमा परिभाषित भएका धेरै उदाहरण हामीकहाँ छन्।

सहमतिमा यौन सम्बन्ध हुने, सम्बन्धका उतारचढावमा आउने फेरबदलसँगै बलात्कारको अभियोग लाग्ने गरेका घटनालाई सामान्य रुपमा लिनु हुँदैन। यसबारे महिला अधिकारवादीहरुले नै चिन्ता व्यक्त गर्न थालेका छन्। सहमतिमा अवैध सम्बन्ध राख्ने, त्यसमा अनुचित शर्तहरु राख्ने र शर्तहरु पूरा नभए बलात्कारको अभियोग लगाउँदै कानूनको सहारा खोज्ने प्रवृत्तिले महिला आन्दोलन र आदर्श कमजोर बन्ने उनीहरुको तर्क छ। अझ यसमै खेलेर कतिले त राजनीतिक र सामाजिक प्रतिशोधसमेत साँध्ने गरेका छन्। राजनीतिक रुपमा कसैलाई सिध्याउन यस्ता अस्त्रहरु प्रयोग गरिए यो थप भयावह हुनेछ। कतिपयले यसलाई ‘स्त्री–बम’को संज्ञा दिएका छन्।

महरा एक पात्र मात्र हुन्, जसले बलात्कार प्रयासको अभियोगमा राजनीतिक र सामाजिक प्रतिष्ठा गुमाए। हुँदाखाँदाको सभामूख पद त्याग गर्नुपर्‍यो। यसरी सहमतिमा यौन सम्बन्ध राखेर आर्थिक स्रोतको बार्गेनिङ गर्ने प्रवृत्तिले टाउको उठाउँदै जाँदा त्यसले महिला आन्दोलन कमजोर पार्दछ। आजको सन्दर्भमा यो पनि बहसको एउटा गम्भिर विषय हो। यसबारे संवैधानिक, कानूनी र व्यवहारिक दृष्टिले गर्नुपर्ने काम के हुन् ? समीक्षा जरुरी छ कि ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्