महिलामाथि हुने विभेद र हिंसाविरुद्ध जागरण आवश्यक : देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना दिएका छन्। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँसहरमा आज पनि महिलाहरू शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताए।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा मात्र नभएर मुलूकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउँदै सभापति देउवाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा भएको सन्देशमा उल्लेख गरेका छन्। ‘नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ, महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्‍याउनेछ विश्वास मैले लिएको छु’, सन्देशमा देउवाले भनेका छन्।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरूमा अग्रणी स्थानमा उभिएर कैयन दिदीबहिनीहरूले आफ्नो प्राणको आहुती दिएकाे स्मरण गर्दै उनले उनीहरूप्रति उच्च सम्मान प्रकट गरे। आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि महिलाहरूको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास सभापति देउवाले व्यक्त गरे। -रासस