पोले पनि घामै जाति, पिटे पनि आमै जाति !

Nari-Diwas
लोकपाटी न्यूज

काठमाडौं। हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छौं। यो दिवस महिलाहरुको मुक्ति, समानता र स्वतन्त्रताको प्रतीक हो। पूरानो परम्पराअनुसार यसलाई नारी दिवस भनिए पनि यो वास्तवमा श्रमिक महिला दिवस हो, जहाँ उत्पीडनको जाँतोले पिसिएका महिलाले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्न उत्प्रेरित हुन्छन्। त्यसैले यो दिनको महत्त्व विश्वभरि उत्तिकै छ।

महिला दिवसका दिन सम्झनुपर्ने ममतारुपी नाम हो आमा। आमा जसले प्रत्येक मानवलाई यस धर्तीमा जन्म दिन्छिन्। मातृ वात्साल्यसहित हुर्काउँछिन्। बढाउँछिन्, पढाउँछिन्। एउटा बालकका लागि आमा साथी हुन्, शिक्षक हुन्, भविष्यको आशाकी किरण पनि हुन्। आमा बिना हरेक बच्चाको जीवन अन्धकार हुन्छ। त्यसैले त भनिन्छ, ‘पोले पनि घामै जाति, पिटे पनि आमै जाति।’

यहाँ हामीले आमा शब्दको मर्मबोध गराउने केही प्रचलित उखानहरु प्रस्तुत गरेका छौं। उखान यस्तो विम्ब हो, जसले थोरै शब्दमा धेरै कुरा बोल्दछ। श्रमिक महिला दिवसमा आमा सम्झिन तलका उखान पढ्नुहोस्, जसले आमाको महत्त्व अझै उचाइबाट बुझ्न मद्दत मिल्छ।

१. पोले पनि घामै जाति, पिटे पनि आमै जाति। २. आमाको दूधको भारा कति गरे पनि तिरिँदैन। ३. आमा छउञ्जेल माइति। ४. आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो। ५. आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन। ६. आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे। ७. आमाजस्ती सासू भए किन आउँथे आँसु।

८. आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी। ९. आमातिरको मामा न बाबुतिरको काका। १०. आमातिरको साइनु न बाबुतिरको साइनु। ११. आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ। १२. आमा दिन्छे, छोरी खान्छे। १३. आमा देखे भोक हराउँछ। १४. आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ। १५. आमापछिको मामा, दाजुपछिकी भाउजु। १६. आमा पट्टीको न बाबु पट्टीको।

१७. आमा बाबु उठेका, छोराछोरी सुतेका। १८. आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने। १९. आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ। २०. आमा बाबुको मन छोरा छोरीमाथि, छोरा छोरीको मन ढुंगामुढामाथि। २१. आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने। २२. आमा बाबुको माया छातीभित्र, तरुनीको माया अँगालोभित्र। २३. आमाबाबु थिएनन्, बिहे गरिदिएनन्। २४. आमा बाबुले भनेको मानिनँ, आफूले जानिनँ, बेला पनि बित्यो, बुद्धि पनि पलायो।

२५. आमा बिनाको के घर, बाबु बिनाको के थर। २६. आमा बिनाको घर के काम। २७. आमा बिनाको संसार सधैं अँध्यारो। २८. आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो ? २९. आमाभन्दा छोरी चर्की। ३०. आमा भन्दा छोरी जान्ने। ३१. आमा भन्दा छोरी बाठी। ३२. आमा भीख माग्न दिन्नन्, बाबु खान दिँदैनन्।

३३. आमा मरेको छोरो बिग्रिँदैन, बाबु मरेको छोरो सप्रँदैन। ३४. आमा र भाउजु एउटै हो। ३५. आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले। ३६. आमालाई छोराका विहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ। ३७. आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन्। ३८. आमाले काटेको र बाबुले चाटेको। ३९. आमाले कुट्दा दुख्दैन। ४०. आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ।

४१. आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू। ४२. आमासित मामाको बखान। ४३. आमा हुन साह्रो, बाउ हुन सजिलो। ४४. आमैका अगाडि बाबैका दुहाई। ४५. आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन्। ४६. आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन। ४७. आमा चाहिँ बेस्सरी कुट्ने, छोरो चाहिँ ए आमा ए आमा भन्दै उठ्ने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्