क्रुप्सकायाको विश्वचर्चित लेख : ‘समाजवादी स्कूलको महत्व’

krupskaya_nadezhda
जबसम्म हामी माध्यमिक तथा उच्च शिक्षाको उद्देश्य नै बदल्दैनौं, जबसम्म जीवनदेखि टाढा रहेको, मात्र बौद्धिक स्वरूपको यस्ता शिक्षा खत्तम गर्न सक्दैनौं, जबसम्म यस्तो शिक्षालाई उत्पादक श्रमसँग जोडदैनौं, तबसम्म हामी शिक्षाको वर्गीय स्वरूप पनि बदल्न सक्दैनौं।
  • 68
    Shares
नादेज्दा क्रुप्सकाया

बुर्जुवा राज्य, चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्तो राज्यमा स्कूल आम जनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ। यस्तो राज्यमा स्कूलको उद्देश्य विद्यार्थीहरूको हितलाई ध्यानमा राखेर निर्धारित हुँदैन बरू प्रभुत्वशाली वर्ग अर्थात् बुर्जुवावर्गको स्वार्थद्वारा निर्धारित हुन्छ, जबकि बुर्जुवावर्ग र विद्यार्थीहरूको स्वार्थमा ठूलो अन्तर हुन्छ।

स्कूलको उद्देश्यले नै विद्यालयीय शिक्षा–पद्धतिको गठन, विद्यालयीय जीवनको व्यवस्था, विद्यालयीय शिक्षा एवं चरित्र निर्माण कार्यको सारा गुर्दी कुरा निर्धारित गर्छ। हामीले बुर्जुवा वर्गको स्वार्थलाई शिरोपर गरेर हिंड्यौं भने स्कूलको उद्देश्य कुरास्तरको जनताका लागि हो भन्ने कुराको कित्ताकाट हुन पुग्छ।

यदि स्कूल प्रभुत्वशाली वर्गको बालबच्चाहरूका लागि हो भने त्यसको उद्देश्य ती बालबच्चाहरूलाई यस्तो व्यक्ति बनाउनु हुन्छ, जसले जीवनको आनन्द लिन र हुकुम चलाउन मात्र जानोस्। यस्तो स्कूलका नमुना हुन्, तथाकथित नयाँ विद्यालय जुन आजभोलि युरोपका प्रायःजसो देशमा खुलेका छन्। यस्ताखाले स्कूलहरू सम्पन्न क्षेत्रमा खोलिन्छ, यस्ता स्कूलहरूको साजसज्जा अत्यन्त सुविधासम्पन्न र विज्ञानको नवीनतम् आवश्यकता अनुसारका हुन्छन्। धनवान् तथा उच्च ओहदावाला मान्छेहरू आफ्ना सन्तान यस्ता स्कूलमा पढाउँछन्। यस्ता जिम्नेजियमहरूको शुल्क अत्यन्तै चर्को हुन्छ। यहाँ बच्चाहरूलाई ज्यादै लाडप्यार मिल्छ, उनीहरूलाई खुबै रेखदेख गरिन्छ। उनीहरूलाई थुप्रै कुरामा स्वतन्त्रता प्राप्त हुन्छ, धेरैजसो कुराको व्यवस्था उनीहरू आफ्नै तर्फबाट गर्छन्, शिक्षकहरू उनीहरूप्रति भरोसा राख्छन्।

राम्रा शिक्षकहरू उनीहरूलाई प्रकृतिको, कलाको सन्दर्भको पारख गर्न सिकाउँछन्, उनीहरूलाई विज्ञानको गुदी कुरा सिकाउँछन्। उनीहरूलाई स्वस्थ, हृष्टपुष्ट र फूर्तिलो बनाउन विशृेष ध्यान दिइन्छ। त्यसका साथै बच्चामा इच्छाशक्ति, निर्धारित लठघय हासिल गर्न सुरोपन, कर्मठता, आफू र अरूलाई परिचालन गर्ने योग्यता आदि गुण विकसित गर्ने प्रयत्न गरिन्छ। अर्कोतर्फ, शिक्षकहरूले बच्चाको दिमागमा बुर्जुवा दृष्टिकोणको दह्रो जरा गाड्न, यस्तो दृष्टिकोणको इतिहास, नैतिकता र दर्शन उचित छ भन्ने कुरा घुसाउन पनि मेहेनत गर्छन्।

ग्राम जिम्नेजियमका बालबच्चाहरू जीवन, दुःख, कठिनाई तथा संघर्षबाट टाढै रहने हुनाले पनि उनीहरूको दिमागमा यस्तो कुरा घुसाउन सजिलो हुन्छ। यस्तो स्कूलमा शिक्षा आर्जन गरिरहेका बच्चाको साथी बेरोजगारीका कारण भोकै नांगै रहेका मजदुरका बच्चा हुन सक्दैन। उनीहरूको मनमा स्वामित्वका बारेमा जस्तो दृष्टिकोण घुसाइएको हुन्छ, त्यो उनीहरूको प्यारी धाईआमाले सुनाउने कथाले बदल्न सक्दैन। ती धाईआमा, जसले उनीहरूको प्रत्येक इच्छा जान्दथिन् र यस्तो मज्जाको कथा सुनाउँथिन्, जब गाउँबाट थोरै पर चियाले भरिभराउ भएको रेलको डिब्बा सडकबाट गुल्ट्यो, तब गाउँलेहरू यति खुशी भए कि सबैले आफूले सक्दो चिया लिए। यी बालबच्चाहरूको बालापनको छापले यस्ता मान्छेहरूको दुःख भगाउने, कठिन क्षणमा उनीहरूलाई मद्दत गर्न प्रेरणा दिंदैन।

निम्न पूँजीपति वर्गका बच्चाहरूका लागि खोलिएका स्कूलहरूको उद्देश्य नोकरशाही कर्मचारी अर्थात् यस्तो बौद्धिक कर्मचारी तयार गर्नु हुन्छ, जो समाजबाट निश्चित अंश लिने भन्दा पनि जनतमाथि शासन गर्न प्रभुत्वशाली वर्गलाई मद्दत गर्छ। अधिकांश माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूको उद्देश्य नै यही हुन्छ। उनीहरूले बुर्जुवा वर्गको सेवा गर्ने थरीथरीका प्रशिक्षित चाकरहरू तयार पार्छन्। यस्ता विद्यालयहरूमा विद्यार्थीहरूलाई होसियारीपूर्वक, ढंग पुर्याएर, टिकेर काम गर्ने गुण विकसित गर्न विशेष ध्यान दिइन्छ। तर सोच्ने, विचार गर्ने, नियाल्ने र निष्कर्ष निकाल्ने उनीहरूको क्षमता भने हरतरहले दबाइन्छ। विद्यार्थीहरूलाई दिइने अधिकांश जानकारी अमूर्त र किताबी मात्रै हुन्छ। यस्ता स्कूलहरूले शारीरिक श्रम गर्ने बानी छुटाइदिएर उनीहरूलाई नोकरी गर्ने मान्छेका अलावा अरू कुनै पनि कामका निम्ति काम नलाग्ने बनाउँछ।

यस्ता व्यक्तिहरू जागिर दिने शासक वर्गमाथि पूरापूर निर्भर हुन्छन्, उनीहरूले दिएको तलब खान्छन् र उनीहरूको कुरा मान्छन्। किताबी ज्ञानले विद्यार्थीहरूलाई जीवनसँगका सम्बन्धबाट टाढा राख्छ, माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गरिखाने वर्गको ठूलो समुदायबाट अलग्याउँछ। र साधारण जनताप्रति वितृष्णा पैदा गर्छ। यस्ता विद्यालयका विद्यार्थीहरूमा बडो होशियारीपूर्वक राज्यप्रति निष्ठाको भावना हुर्काइन्छ।

जहाँसम्म सार्वजनिक विद्यालयहरू, जनसाधारणका लागि खोलिएको विद्यालयको सवाल छ, त्यहाँ पनि बुर्जुवावर्ग सर्वहारावर्गका बच्चाहरूको शिक्षादीक्षामाथि पूरै नियन्त्रण राख्ने, उदीयमान पुस्तामाथि आफ्नो बलियो प्रभाव कायम राख्ने कोशिस गर्दछ। उनीहरू विद्यालयीय शिक्षालाई अनिवार्य बनाउँछन्।

हिजोआज समेत सार्वजनिक विद्यालयहरूमा विद्यार्थीहरूलाई केही प्रारम्भिक जानकारी मात्र दिइन्थ्यो, त्यहाँ केवल लेख्न पढ्न मात्र सिकाइन्थ्यो। आफ्नो काम गर्ने ठाउँको अनुशासनबारेको नियम या सरकारी आदेश पढ्न नसक्ने, आफ्नो सही गर्न नसक्ने, मामुली हिसाब–किताब गर्न नसक्ने मान्छेलाई भन्दा साक्षर जनसाधारणलाई शासन गर्न सजिलो हुने भएकाले नै त्यसो गरिएको हो। कुनै देश औद्योगिक दृष्टिले जति विकसित हुन्छ। स्कूलले यस्तो ज्ञान दिन्छ तर त्यो खेलौनाको घोडाजस्तै हो। र, त्यस्तो ज्ञान पनि विद्यालयका विद्यार्थीहरूले बुर्जुवा विचारधारा आत्मसात् गर्ने शर्तमा मात्र दिइन्छ। विद्यार्थीहरूको मनमा यस्तो कुरा घुसाइन्छ कि बुर्जुवा व्यवस्था स्वयं ईश्वरद्वारा स्थापित भएको हो, यो सर्वाधिक विवेकसंगत छ, सर्वश्रेष्ठ छ, सर्वाधिक न्यायपूर्ण छ।

त्यसै गुरेर शासक, ठूला ओहदामा बसेकाहरू श्रेष्ठ व्यक्ति हुन्, उनीहरूको आदेश पालना गर्नुपर्छ। स्कूलमा विद्यार्थीहरूलाई हरदिन, हरघण्टा, हरपल आदेश पालना गर्न, ठूलाप्रति आदर गर्न अभ्यास गराइन्छ। कलिलै छँदादेखि विद्यार्थीहरूमा शक्ति, सम्पन्नता, बुर्जुवा शिक्षाप्रति श्रद्धामिश्रित भएको भावना विकसित गरिन्छ। मातृभाषा, भूगोल, इतिहासको पाठ बच्चाहरूमा लगामविहिन अन्धराष्ट्रवादी भावना विकसित गर्ने साधन बन्छ। स्कूल विद्यार्थीहरूका बीचमा भातृत्वको भावना नष्ट गर्ने प्रयत्न गर्छ। प्रोत्साहन, पुरस्कार, सजाय र प्राप्तांकको उद्देश्य विद्यार्थीहरूका बीचमा आपसमा लडन्त भीडन्त र प्रतिस्पर्धा होस् भन्ने हुन्छ। छोटकरीमा बुर्जुवा स्कूलहरूको कार्यभार विद्यार्थीहरूलाई बुर्जुवा नैतिकतामा सिपालु बनाउने, वर्गीय चेतनाबाट विमुख राख्ने र उनीहरूलाई यस्तो भीडमा बदल्ने, जसमाथि बडो सजिलोसँग शासन चलाउन सकियोस् भन्ने नै हो।

देशको औद्योगिक र ऐतिहासिक विकासको स्तरअनुसार वर्गीय स्कूलको रूप पनि बदलिन्छ। यो भनिरहनुपर्ने कुरा होइन, विकसित देशहरूमा स्कूल बढी परिष्कृत हुन्छ, उनीहरूको विधि सुठघम हुन्छ, पाठ्यक्रम बढी व्यापक हुन्छ तथा विद्यालयीय शिक्षाको उद्देश्य पनि सिंगार पटार सहितको हुन्छ तर सार भने उस्तै रहेको हुन्छ। उदाहरणका लागि मजदुरहरूका बच्चाहरूका लागि दिइने माध्यमिक स्तरको शिक्षाको प्रश्नलाई लिन सकिन्छ। हाम्रै रूसमा केही समय पहिलेसम्म हलुवाईहरूका बच्चाहरूलाई माध्यमिक विद्यालयमा पढ्ने अनुमति थिएन।

जर्मनीमा माध्यमिक विद्यालयसम्म पुग्ने बाटो सीधासाधा नभएर त्यसलाई घुमाइफिराई जटिल बनाइएको छ। त्यहाँ प्राथमिक तह पूरा गरेका विद्यार्थीले कुनै खास विषयकै कारणले गर्दा जिम्नेजियमको चौथो कक्षामा भर्ना हुन पाउँछ भने विषयकै कारणले गर्दा कतिपयले जिम्नेजियमको तयारी कक्षामा नै थन्कनुपर्ने हुन्छ। त्यस्ता विद्यार्थीहरूले जिम्नेजियममा भर्ना हुनकै लागि तीन, चार वर्ष गुमाउनुपर्ने हुन्छ। बेलायतमा प्राथमिक विद्यालयबाट माध्यमिक विद्यालयमा प्रवेश गर्न कुनै कठिनाई छैन। त्यति मात्रै होइन, बेलायतमा थुप्रै छात्रवृत्तिहरू दिइने भएकाले प्राथमिक तहका आज्ञाकारी तथा प्रतिभाशाली विद्यार्थीले माध्यमिक तथा उच्च शिक्षासम्म हासिल गर्न सक्छ।

तर बेलायतका बुर्जुवा वर्गका लागि माध्यमिक शिक्षाको उद्देश्य भन्नु बुर्जुवा राज्यका लागि बुद्धिमान सेवक तयार गर्नु नै हो। मजदुरवर्ग भनेको त शारीरिक श्रम गर्ने मान्छेहरू नै हुन्। उनीहरूले आफ्ना बालबच्चालाई श्रम गर्नबाट छुटाउने यस्ता स्कूलहरूमा पढाउनै सक्दैनन्। एकदम थोरैले मात्र यस्ता माध्यमिक विद्यालयमा प्रवेश पाउनेछन्। ती पनि पछि गएर आफ्नो वर्गबाट अलग्गिएर सरकारी कर्मचारीहरूको अधिकारसम्पन्न वर्गमा फेरिन पुग्छन्। यसरी मजदुरवर्गका होनहार, प्रतिभा सम्पन्न मान्छेहरू गुम्नु त बुर्जुवा राज्यका लागि ज्यादै लाभप्रद कुरा नै भयो। जसले गर्दा मजदुरवर्ग अगुवाविहिन हुन पुग्छन्, कमजोर हुन पुग्छन् र राज्यका सेवकहरूको भीड भने बढ्न पुग्छ। यसप्रकारले उनीहरूले माध्यमिक तहसम्मको पहुँचलाई हल गर्छन्। यसले के देखाउँछ भने शिक्षाबारेको प्रश्नको समाधान अलग–अलग ढंगले गर्न खोजिएको छ र त्यसको सार भने एउटै छ। त्यो हो –माध्यमिक शिक्षा जनसाधारणको पहुँचभन्दा बाहिर छ र ज्ञान वर्गीय विशेषाधिकार नै बन्न पुगेको छ।

हाम्रै देश रूसमा पनि बुर्जुवावर्गले विश्वव्यापी शिक्षाको, विद्यालयीय शिक्षा पद्धतिमा सुधार गर्ने धेरै ठूल्ठूला कुरा गरिरहेको छ। र, त्यस्तो सुधार गर्न काम पनि गरेको छ। उनीहरूले यस्तो सुधार यसकारणले गरेका हुन्, उनीहरूलाई राम्ररी थाहा छ कि बुर्जुवा विद्यालयीय शिक्षा जति बढी परिष्कृत हुन्छ, त्यत्तिकै अनुपातमा शिक्षा सर्वसाधारण जनतालाई वशमा ल्याउने परिष्कृत साधन बन्न पुग्छ। जबसम्म हामी माध्यमिक तथा उच्च शिक्षाको उद्देश्य नै बदल्दैनौं, जबसम्म जीवनदेखि टाढा रहेको, मात्र बौद्धिक स्वरूपको यस्ता शिक्षा खत्तम गर्न सक्दैनौं, जबसम्म यस्तो शिक्षालाई उत्पादक श्रमसँग जोडदैनौं, तबसम्म हामी शिक्षाको वर्गीय स्वरूप पनि बदल्न सक्दैनौं।

जनसाधारण जनताको हितको रक्षा गरिरहेको मजदुर किसानको राज्यले शिक्षाको वर्गीय स्वरूप खत्तम गर्नैपर्छ, सबै तहको शिक्षामा सबै जनताको पहुँच कायम गर्नैपर्छ। र, यस्तो काम कथनीमा होइन करनीमा हुनुपर्छ। जबसम्म स्कूलको उद्देश्य बदल्दैनाैं, तबसम्म शिक्षामा बुर्जुवावर्गको विशेषाधिकार कायम भई नै रहन्छ।

जनताको रूचि प्राथमिक, माध्यमिक र उच्च शिक्षालयको उद्देश्य एउटै होस् भन्नेमा छ, यस्तो खालको सर्वोत्तोमुखी विकसित मान्छे तयार पारियोस्, जसको सामाजिक काम सचेततापूर्ण सुसंगठित होस्, जसको समग्र र सुझबुझ सहितको विश्व दृष्टिकोण होस्, जसले आफ्नो गए गुज्रेको अवस्था र सामाजिक जीवनमा घट्ने घटनालाई राम्रोसँग बुझ्न सकोस्, यस्तो मान्छे जो, जुनसुकै प्रकारको शारीरिक तथा मानसिक श्रम गर्न सिद्धान्त र व्यवहारमा तयार होस्, जसलाई विवेकसंगत, सारसर्भित, सुन्दर र हर्षमय सामाजिक जीवनको निर्माण गर्न आओस्। समाजवादी समाजका लागि यस्तो मान्छे आवश्यक छ। यस्ता मान्छेहरूबिना समाजवाद पूर्ण हुन सक्दैन।

यस्ता मान्छेका लागि कस्तो खाले स्कूल चाहिन्छ ?

सर्वप्रथम त स्कूलले उदीयमान पिंढीको स्वास्थ्य सुदृढ होस्, उनीहरू बलशाली होऊन् भन्ने कुरामा ख्याल पुर्याउनुपर्छ। बच्चाहरूलाई पौष्टिक आहार, सजिलो र न्यानो कपडा दिनुपर्छ, बच्चाहरू गहिरोसँग सुत्न सकुन् भन्ने कुरामा विशेष ख्याल पुर्याउनुपर्छ, बच्चाहरू स्वयंले आफ्नो शरीरको स्याहारसुसार गर्ने बानी बसालुन्, ताजा हावामा लामो समयसम्म बिताऊन् र पर्याप्त गतिशील होऊन्।

प्रभुत्वशाली वर्गले आफ्ना बच्चाहरूलाई यी सारा कुरा प्रदान गर्छन्। तर आवश्यकता के कुराको हो भने जस्तोसुकै आर्थिक हैसियत भएकाले पनि यस्तो अवसर प्राप्त गर्नुपर्छ। गर्मीमा स्कूल गाउँतिर सार्नुपर्छ। स्कूलमा बिल्कूल सानै उमेरदेखि नै बच्चाहरूको दृष्टि, श्रवण र स्पर्श शक्तिजस्ता बाह्य इन्द्रियहरू विकसित गरिदिनुपर्छ। किनभने यी इन्द्रियहरूको मद्दतले मान्छेले बाह्य जगत्को ज्ञान हासिल गर्ने हो। यी इन्द्रियहरूको संवेदनशीलता र विकासमा नै बोधशक्ति र विविधता निर्भर हुन्छ।

शिक्षाशास्त्री फ्रेबेलले धेरै पहिला बताइसकेका छन् कि सानै हुँदादेखि नै बालबच्चाहरूलाई श्रव्यदृश्य, स्पर्शगत ज्ञान लिने र त्यसलाई सुव्यवस्थित गर्ने अवसर दिइनुपर्छ। उनीहरूलाई आफ्नो बाह्य इन्द्रियहरूबाट काम लिन सिकाउनुपर्छ। बच्चाहरूले सानै उमेरदेखि सिक्ने चेष्टा गर्छन्। उनीहरूलाई त्यसो गर्न सिकाउनुपर्छ। मोन्टेसरीको खेलौना पद्धति यसै कुरातर्फ लक्षित छ। उनको मान्यता छ कि शब्दको माध्यमबाट होइन, खेलौनाको माध्यमद्वारा ससाना नानीहरूलाई ज्ञान दिलाएर आफ्नो बाह्य इन्द्रियबाट काम लिन सिकाउनुपर्छ। साह्रै कलिला नानीहरूले पनि आफुले हासिल गरेका ज्ञानलाई आफ्नो गति, शब्द र भावभंगीमा जस्ता विभिन्न तरिकामार्फत व्यक्त गर्ने कोसिस गर्दछन्।

नानीहरूलाई उनीहरूको दिमागमा बन्ने बिम्बहरूको अभिव्यक्तिको क्षेत्रलाई व्यापक बनाउन अवसर प्रदान गर्नुपर्छ। त्यसका लागि उनीहरूलाई थरीथरीका सामग्री दिनुपर्छ। गिलो माटो, कागज, पेन्सिल, निर्माणका सामग्रीजस्ता कुराबाट काम लिन सिकाउनुपर्छ। दिमागमा बन्ने बिम्बहरूलाई भौतिक अभिव्यक्ति दिने कुरा नानीहरूलाई खार्ने र समृद्ध बनाउने अनुपम साधन हो। बालसिर्जन चाहे त्यो जस्तोसुकै रूपमा अभिव्यक्त होस्, त्यसलाई हरतरहले प्रोत्यसाहित गर्नुपर्छ। कला र भाषा मान्छेहरूलाई नजिक ल्याउने, स्वयं आफूलाई र अरूलाई पनि चिन्ने एउटा सशक्त साधन हो। जनताको ठूलो हिस्सासँग नानीहरूको बाह्य इन्द्रिय र बालसिर्जनको विकासमा सहायता पुर्याउने घरेलु वातावरण छैन।

त्यसै भएकाले सबै नानीहरूले त्यस्तो अवसर पाऊन् भनेर ठूलो परिणाममा शिशु स्याहार केन्द्रहरू खोल्न आवश्यक छ। शिशु स्याहार केन्द्र यस्तो होस् कि हरेक नानीहरूको व्यक्तित्वले फस्टाउन पाओस्। यस्ता केन्द्रहरू नानीहरूको फौजी व्यारेक जस्तो हुनुहुँदैन, जहाँ नानीहरूले घण्टीको इसारामा कवाज गर्नु परोस्, शिक्षिकाहरूको आदेशमा हातखुट्टा चलाउन परोस्। बुर्जुवा समाजमा यस्ता शिशु स्याहार केन्द्रहरू मजदुरका लागि फौजी व्यारेक बन्छ। तर समाजवादी व्यवस्थामा यस्तो हुँदैन।

जब नानीहरूले आफ्ना विचार र भावनाहरू व्यक्त गर्न सिक्छन्, तब उनीहरूले अरूको विचार र भावनाको अभिव्यक्तिमा पनि रूचि लिन थाल्छन्। प्रायः ७ देखि १२ वर्षको उमेरमा (कतिपय मामलामा यो उमेर अवधि कम या बढी हुन सक्छ) बच्चाहरूका लागि अध्ययनको सबभन्दा रोचक चीज अरू मान्छे हुन्छ। विकासको यस अवधिमा बच्चाहरूले अरूकै नक्कल र अनुकरण बढी गर्छन्, यो सिर्जनाको नै एउटा विशिष्ट रूप हो, अरूको विचार र भावनाको जामा लगाउन मन पराउँछन्। यही अवधिमा उनीहरूमा सामाजिक क्रियाकलाप तीब्र रूपमा विकसित हुन थाल्छ र मानव जीवन तथा मानव सम्बन्ध उनीहरूको सरोकारको केन्द्रविन्दु बन्न पुग्छ। स्कूलले बच्चाहरूमा जागेको सामाजिक क्रियाकलापलाई सुदृढ र गहन बनाइदिनुपर्छ, उनीहरूलाई मानव समाजको आधार श्रम हो भन्ने देखाइदिनुपर्छ, उनीहरूलाई सिर्जनशील उत्पादक श्रमबाट रमाउन सिकाउनुपर्छ र उनीहरूलाई यस्तो अनुभव पनि गराउनुपर्छ कि उनीहरू यही समाजका अंग र उपयोगी सदस्य हुन्।

अनुकरण अर्थात् नक्कल गर्ने प्रवृत्तिले श्रमसम्बन्धी विभिन्न खाले दक्षताहरू हासिल गर्न सजिलो हुन्छ। बच्चाहरूलाई यस्ताे दक्षता हासिल गर्ने मौका दिनुपर्छ। उनीहरूर्ला काम गर्न सिकाउनुपर्छ। तर कामको स्वरूप भने सामूहिक नै हुनुपर्छ। त्यसले बच्चाहरूलाई मिलिजुली काम गर्न र जिउन सिकाउँछ। कामले गर्दा आफ्नो शक्ति, आफ्नो क्षमताको सही मूल्यांकन गर्न सिकाउँछ। साथी संगीहरूसँग मिलेर काम गर्ने तथा खेल्ने, ठूलाहरूको श्रम तथा जीवनमा विभिन्न रूपमा भाग लिने गर्नाले बच्चाहरूलाई सामाजिक व्यवहार सिक्न प्रचर सामग्री मिल्छ।

बच्चाहरूको विकासको यस अवधिमा स्कूलले शिशु स्याहार केन्द्रको कामलाई निरन्तरता दिँदै बच्चाहरूको सिर्जनात्मक–प्रेरणालाई अरूका लागि पनि काम लाग्ने उत्पादक श्रममा बदल्न मद्दत गर्नुपर्छ। स्कूलमा बच्चाहरूलाई श्रमसम्बन्धी केही सामान्य बानीव्यवहार सिकाउनुपर्छ, उनीहरूलाई सामाजिक सम्बन्धहरू सिक्ने अवसर दिनुपर्छ, एकअर्कालाई मद्दत गर्दै, अनेक प्रकारका साझा अनुभूति गर्दै अरूसँग मिलेर बस्ने कुरा सिक्ने अवसर दिनुपर्छ। ७ देखि १२ वर्षसम्मको उमेर यस्तो उमेर हो, जतिबेला बच्चाहरू प्राथमिक विद्यालय जान्छन्। र, प्राथमिक विद्यालय निःसन्देह सबैका लागि एकैखालको हुनुपर्छ। यो मुख्यतः व्यवहारिक हुनुपर्छ, यसमा श्रमसिद्धान्तको व्यापक उपयोग र सामाजिक आचारण सुदृढ गरिएको हुनुपर्छ।

विद्यालयीय जीवनको दोस्रो चरण जो हुन्छ, त्यो त्यस्तो उमेरसँग सम्बद्ध छ, जुन उमेरमा आत्मविश्लेषण, प्राप्त ज्ञानको भद्धडडारण र व्यवस्थापन हुन्छ। यो अध्ययन गर्ने उमेर हो, जुन समय किशोर किशोरीहरू आफ्नै बारेमा, समाज, ज्ञानका विभिन्न शाखा तथा कौशलहरूका बारेमा अध्ययन गर्दछन्। यो बेलामा आलोचनात्मक चिन्तन विशेष सक्रिय हुन्छ। यही उमेरमा व्यक्तित्वको निर्माण हुन्छ। यही उमेरमा विद्यार्थीहरूको मनमा परेको छाप र तथ्यहरूको विशाल भद्धडडार हुनुपर्छ। यो ज्यादै महत्वपूर्ण कुरा हो। यी तथ्यहरूलाई उनीहरूले निश्चित परिप्रेठघयमा व्यवस्थित गर्ने काम गर्छन्, त्यसमाथि चौतर्फी रूपमा प्रकाश पार्ने आवश्यकता अनुभव गर्छन्। र, यही उमेर नै विश्वदृष्टिकोण निरूपण गर्ने काल हो।

यही उमेर हो, जतिबेला विद्यार्थीहरूलाई एउटा विधि र प्राप्त ज्ञानलाई व्यवस्थित गर्ने शुत्र दिनु ज्यादै महत्वपुर्ण मानिन्छ। यसलाई त्यस्ता वर्षहरू मान्न सकिन्छ, जतिबेला विद्यार्थीहरूको इच्छशक्ति केही हदसम्म क्षीण हुन्छ, निर्माणधीन व्यक्तित्व आफैमा संकुचन हुन्छ र उसको बाहिरी जीवन कुनै निश्चित क्रमअनुसार चल्न थाल्छ। यही उमेरमा किशोर किशोरीहरूमा श्रम तथा सामाजिक जीवनको पक्का बानी लागिसकेको हुनुपर्छ। यो पनि अर्को महत्वपूर्ण कुरा हो। यही काल, जतिबेला आफ्नो अहम्को सिर्जनात्मक अभिव्यक्ति केही हदसम्म क्षण हुन्छ, त्यही बेला उनीहरूलाई विभिन्नखाले उत्पादनका शाखाहरूमा त्यसको कार्यविधिहरू सिकाउनुपर्छ।

विश्वविद्यालयहरूले विशिष्टीकृत शिक्षा प्रदान गर्ने भएकाले त्यो सबैका लागि नहुन सक्छ। हामी यहाँ त्यसका बारेमा चर्चा गर्दैनौं।

शिशु स्याहार केन्द्र, प्राथमिक विद्यालय र माध्यमिक विद्यालय यी सब सामान्य विकासका परस्पर कडीहरू हुन्। समाजवादी शिक्षाको एक मात्र ध्येय विद्यार्थीहरूको चौतर्फी विकास हो, यस शिक्षापद्धतिमा विद्यार्थीहरूको व्यक्तित्व अवरूद्ध गरिनु हुन्न बरू त्यसलाई उजागर गर्न मद्दत गरिनुपर्छ। समाजवादी शिक्षा अरू सारा शिक्षा पद्धतिहरूभन्दा यिनै कुरामा भिन्न हुनुपर्छ। समाजवादी स्कूल स्वतन्त्र स्कूल हो, जहाँ परेड खेलाइँदाको जस्तो कठोरता तथा घोकन्ते विद्याका लागि कुनै स्थान हुँदैन। तर विद्यार्थीहरूको व्यक्तित्वको विकास गर्ने क्रममा विद्यालयहरूले के कुरा भूल्नु हुँदैन भने उनीहरूको व्यक्तित्व समाजोपयोगी श्रमको रूपमा प्रकट गराउन तत्पर बनाउनुपर्छ। त्यसकारण समाजवादी शिक्षाको दोस्रो विशिष्टता विद्यार्थीहरूमा उत्पादक श्रमको व्यापक विकास गर्नु हो। आजकल श्रमविधिको बहुत चर्चा भइरहेको छ तर समाजवादी स्कूलहरूमा केवल श्रमविधि मात्र प्रयोग गरिनु हुन्न, बरू विद्यार्थीहरूले उत्पादक श्रम गर्ने प्रबन्ध पनि मिलाइदिनुपर्छ।

समाजवादी शिक्षाले बालश्रम शोषणको विरोध गर्दछ तर विद्यार्थीहरूले चौतर्फी, विकासशील श्रम गर्ने कुराको समर्थन गर्दछन्। उत्पादक श्रमले विद्यार्थीहरूलाई भविष्यका लागि मात्र समाजको काम लाग्ने मान्छे बनाउने होइन, वर्तमानमै उसलाई काम लाग्ने मान्छे बनाउँछ। यसले विद्यार्थीहरूमा अपार शैक्षिक तथा चरित्र निर्माणमा प्रभाव पार्दछ। बुर्जुवा स्कूलहरूले बालश्रमलाई कसरी संगठित गर्न सकिन्छ भन्ने अनेकौं उदाहरण प्रस्तुत गरेका छन्।

श्रम र बागबानी मण्डली, तथ्यांक संकलन गर्ने काममा सहायता, चिठीपत्रहरूको छनौट तथा वितरणमा सहायता, सैनिकहरूका लागि न्यानो कपडा सिउने तथा बुन्ने, अमेरिकी विद्यार्थीहरूले गर्ने सडकको सरसफाई खाना पकाउने, हिसाबकिताब राख्ने, खाद्यपदार्थमा गरिने मिसावट जाँच्ने, विज्ञापन टाँस्ने, अखबार, पर्चा तथा पुस्तकहरू बाँड्ने काम उत्पादक श्रमलाई संगठित गर्ने नमुनाहरू हुन्। उत्पादक श्रमलाई संगठित गर्ने यी सारा अनुभवलाई एकत्रित, वर्गीकृत तथा विकसित गर्नु आवश्यक छ। जहाँसम्म हुन्छ, यसलाई चौतर्फी बनाउनुपर्छ, यस काममा टे्रड युनियन, सहकारी समिति तथा किसानहरूको ग्रामीण संगठनहरूले शिक्षकहरूलाई मद्दत पुर्याउनुपर्छ। यो ज्यादै महत्वपूर्ण काम हो, यसलाई पूरा गर्न पूर्णतः सम्भव छ र यसमा तुरून्त हात हालिहाल्नुपर्छ।

भनिरहन जरूरी छैन कि बच्चाहरूलाई उत्पादक श्रमसँग गाँस्ने स्कूल जीवन र वास्तविकतासँग जोडिएको हुन्छ। शिक्षासँग घनिष्ट रूपमा गाँसिएको उत्पादक श्रमले स्कूलमा स्थान पायो भने त्यसले शिक्षा सय गुणा बढी गहन र जीवनमय हुन्छ। यस्ता स्कूलहरूमा जो प्रशिक्षित हुन्छ। ऊ श्रमका लागि हरेक दृष्टिले तयार हुन्छ, कुनै पनि काम गर्ने सक्षमता उसमा हुन्छ, जुनसुकै प्रकारको मेसिन र उत्पादनको जुनसुकै पनि परिस्थितिमा काम गर्न सक्ने हुन्छ। शारीरिक श्रम मात्र होइन, ऊ मानसिक श्रम गर्न पनि उत्तिकै सक्षम हुन्छ। मानसिक श्रम, जुन कुरा एउटा विशेषाधिकार सम्पन्न वर्गको पहुँचमा थियो, त्यसमा सारा जनता सक्षम हुनुपर्छ, जसले गर्दा उनीहरू नोकरशाहरूमाथि भर पर्न नपरोस् र आफ्नो जीवनको मालिक आफ्नो बन्न सकुन।

समाजवादी स्कूलको कल्पना केवल निश्चित सामाजिक परिस्थितिमा मात्र गर्न सकिन्छ किनभने त्यस्ता स्कूलहरू समाजवादीहरूले सञ्चालन गर्नासाथ ती समाजवादी हुने होइनन्, बरू त्यस्ता स्कूलहरूको उद्देश्य समाजवादी समाजको आवश्यकताअनुसार निर्धारण हुने भएकाले ती समाजवादी स्कूल हुन्छन्। पूँजीवादी समाजमा पनि केही सन्दर्भमा यस्ता स्कूलहरू सञ्चालन गर्न सकिन्थ्यो। जसको उद्देश्य यस्तो चौतर्फी विकसित, प्रखर व्यक्तित्व र विकसित सामाजिक चेतनासहितको मान्छे तयार पार्नु हुन्थ्यो, जो शारीरिक र मानसिक दुवै श्रममा समान रूपमा सक्षम होस्।

तर पूँजीवादी व्यवस्थामा यस्ता स्कूलहरू बिरलै हुन्थे र टिकाउ पनि हुन सक्दैनथे। यस्त विरलाकोटी स्कूलहरूमा पढेका युवाहरू विद्यालयबाट पढाई सकेर बाहिर आउँदा आफूलाई यस्तो वातावरणमा पाउँथे कि उनीहरूको शिक्षा नै बेकामको हुन पुग्थ्यो। मान्छेहरूलाई भद्र र निम्न अनि बौद्धिक र शारीरिक श्रम गर्नेको रूपमा बाँड्ने समाजमा उनीहरूले दुईमध्ये एउटा श्रम रोज्नैपर्ने हुन्थ्यो, जसले उसको चौतर्फी श्रम गर्ने क्षमता मर्थ्यो। कस्तो खालको श्रम गर्छ भन्ने कुरा उसको निर्णयमा होइन, बरू उसको सामाजिक सम्बन्धमा निर्भर हुन्थ्यो। निर्धन व्यक्ति, जसको सम्बन्ध मजदुरहरूसँग मात्र हुन्थ्यो, उसको जीवन जस्तो सुकै होस्, ऊ शारीरिक श्रम गर्नेहरूको श्रेणीमै सामेल हुन्थ्यो।

फेरि एकपटक यस श्रेणीमा सामेल भइसकेपछि उसले आफ्नो जीवन पनि त्यसरी नै ठेल्दै अघि बढाउनुपर्थ्र्यो, जसरी ती वर्गका मान्छेहरूले आफ्नो जीवन श्रम शक्तिहरूको कमाइमा गुजारा गर्छन्। यस्तो वातावरणमा उसको प्रखर व्यक्तित्व उसकै लागि बाधा मात्र बन्थ्यो र विवशतावश उसले गर्ने श्रम अझ बढी बोझलो र असहनीय बन्थ्यो। विकसित सामाजिक बृत्ति केवल त्यतिबेला मात्र उपयोगी हुन्थ्यो, जतिबेला युवाहरूको चरित्र सेनानीको जस्तो हुन्थ्यो, अन्य सबै मामलामा ती यसका लागि यातनाका स्रोत मात्र हुन्थे।

सेनानीहरूलाई पूंजीवादी समाजमा हुँदा समाजवादी प्रकृतिका स्कूलहरूले केवल असाधारण मामिलामा मात्र शिक्षित गर्न सक्थे किनभने सेनानीहरूले जीवनको कठोर शिक्षा पाउनुपर्छ। तर बुर्जुवा व्यवस्थामा खोलिएको समाजवादी स्कूल यस्तो विचित्रको विरूवा जस्तो मात्र हुन सक्थ्यो, जुन जीवनदेखि काटिएको एउटा संस्थाको अलावा अरू हुनै सक्दैनथ्यो। र, पूँजीवादी व्यवस्थामा समाजवादी प्रकृतिको स्कूल जीवन्त संस्था नभएर एउटा रोचक शैक्षिक प्रयोग मात्र हुन सक्थ्यो। त्यो राजकीय नभएर व्यक्तिको निजी प्रयास मात्र हुन सक्थ्यो। किनभने राजकीय स्कूलको स्वरूप त शासक तथा बुर्जुवावर्गले नै निर्धारण गर्थे र उनीहरूको लठघय नै एकदमै भिन्न थियो। बुर्जुवावर्ग विद्यालयीय शिक्षापद्धति तयार पार्दा आफ्नो स्वार्थ, आफ्नो वर्गप्रभुत्व कायम राख्ने कुरामा नै ध्यान दिन्थे, व्यक्ति र समाजको स्वार्थलाई होइन।

केवल जनताको सरकारले मात्र स्कूली शिक्षामार्फत् व्यक्ति र समाजको हितलाई प्रस्थानविन्दु मान्छ। तर जनताको सरकार कस्तो बेलामा सत्तामा पुग्छ, त्यही मुताविक व्यक्ति र समाजको हितबारेमा कुरा पनि निर्धारित हुन्छ। उनीहरू पूँजीवादी सम्बन्धको प्रभुत्व रहेका समयमा सत्तामा पुगे भने जनताको सरकारको रूचि केवल स्कूली शिक्षालाई कसरी बढीभन्दा बढी जनवादी बनाउन सकिन्छ भन्ने कुरामा मात्र हुन्छ। स्कूललाई जनवादीकरण गुरेपछि ज्ञान पनि जनवादीकरण हुन्छ र त्यो केवल प्रभुत्वशाली वर्गको पेवा हुन पाउँदैन।

तर जनताको सरकार बढ्दो सामाजिक क्रान्तिको क्षणमा सत्तामा आयो भने त्यसले घोर अन्यायमा आधारित पुरानो वर्ग आधारित स्कूल नष्ट गरेर त्यस्तो विद्यालयीय पद्धतिको निर्माण गर्नुपर्छ, जुन तत्कालीन परिस्थितिको आवश्यकताअनुरूप होस्। उदीयमान समाजवादी व्यवस्थाको आवश्यकता यस व्यवस्थाका लागि योग्य मान्छेहरू शिक्षित गर्नु हुन्छ। जहाँ पूँजीवादी व्यवस्थामा जस्तो श्रमको फजुल खर्च, कसैले मरीमरी का म गर्ने तर कोहीचाहिँ हल्लीहल्ली हिंड्ने नभएर समाजवादी व्यवस्थाको विशिष्ट गुणअनुसार बसै मान्छेका बीचमा श्रमको विवेकसंगत, योजनाबद्ध, समुचित विभाजन हुनुपर्छ। त्यसो गरिंदा श्रम बाध्य भएर होइन, स्वेच्छाले गर्न पाउने खालको हुनुपर्छ। त्यसका लागि यस्तो व्यक्तिको जरूरत पर्छ, जो मानसिक र शारीरिक दुबै खालको श्रम गर्न सक्ने होस्, जसले उत्पादनको निरन्तर परिवर्तनशील परिस्थितिअनुकूल आफूलाई ढाल्न सकोस्, जसले आफ्नो काममा आफ्नो व्यक्तित्वको छाप छोड्न सकोस्।

उत्पादनको स्वरूप स्वयंले नै मान्छेलाई यस भावनाअनुसार शिक्षित गर्छ, उनीहरूलाई यस दिशामा ढाल्छ। तर जवरजस्त थोपरिएको श्रमबाट स्वैच्छिक प्रकारको श्रमतर्फ, संकीर्ण विशेषज्ञतावाला निरस श्रमबाट चौतर्फी विकासवाला श्रमतर्फको संक्रमण एउटा लामो प्रक्रिया हो, जुन प्रारम्भमा ज्यादै कठिन हुन्छ र बिल्कूल भिन्न परिस्थितिमा विकसित नयाँ पिंढीका मान्छे हुने भएकाले सारा समाजको पुनर्गठन गर्न सक्छ। त्यही भावी पिंढीलाई शिक्षित गर्नु नै समाजवादी स्कूलको कार्यभार हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्