प्रधानमन्त्री भएर देश हाँक्न सक्षम छौं : मन्त्री अर्याल

Padma_Aryal
लोकपाटी न्यूज

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरू देशको नेतृत्व गर्न सक्षम रहेको बताएकी छन्। ११० औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित साक्षात्कारमा मन्त्री अर्यालले प्रधानमन्त्रीको लागि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पारिन्।

विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि सङ्घर्ष तथा आन्दोलन भएका इतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा र पाएको अवसरलाई सही सदुपयोग गरी अघि बढ्नुपर्ने बताइन्।

उनले महिला आन्दोलन र सङ्घर्षका कारण अहिले महिलाले संविधानमा अवसर पारेको पनि स्पष्ट पारिन्। उनले भने,‘हिजोको दिनमा भएका महिला आन्दोलन र सङ्घर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन्। त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम् भूमिका खेलेको छ।’ बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रूपमा भए पनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरूपता पाएको उनले सुनाइन्।

उनले विगतको इतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढङ्गले अघि बढ्नुपर्ने धारणा राखिन्। ‘संविधानमै ३३ प्रतिशत महिलाहरूको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भइसकेको छ,’ उनले भनिन्,‘समानताको ढोका खोलिएको छ।’ हरेक क्षेत्रमा रहेका महिलाहरूले आफ्नो वृद्धि विकास र क्षमताको विकास भएको कुरा व्यवहारमै साबित भइसकेको पनि उनको दाबी छ।

उनले भनिन्,‘जो जो महिलाहरूले अहिलेसम्म महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ, उहाँहरूले बढो कुशलतापूर्वक निर्वाह गर्नुभएको छ। अब महिलाहरूलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ।’ उनले महिलाहरूमा आर्थिक परनिर्भरता रहुन्जेलसम्म उत्पीडन यावत रहने तर्क गरिन्।

उनले थपिन्,‘अब आम महिलाहरूलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ। त्यहीअनुसारको सीप प्रदान गर्नुपर्छ। यसो गर्न सकियो भने महिलाहरू स्वतन्त्र र सबल हुन सक्छन्।’ सन् २०३० सम्म महिलाहरूलाई समान अधिकारको सुनिश्चितता गर्ने कुरा योजना आयोगको १५औँ योजनामा समेत राखिसकिएको उनले बताइन्।

मन्त्री अर्यालले सरकार महिलाहरूको उत्थानको लागि सकारात्मक कदम चालेको पनि सुनाइन्। अहिलेको समाज र राज्य महिला मात्रै भएको पनि उनको दाबी छ। मन्त्री अर्यालले महिलाले प्राप्त अवसरलाई चुम्नुपर्ने बताउँदै हरेक परीक्षामा पास हुनुपर्ने बताइन्।

उनले भनिन्,‘महिलामा प्रतिस्पर्धी समता अभिवृद्धि भइरहेको छ। राष्ट्र निर्माणको दायित्व पूरा गर्ने सवालमा पनि महिलाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरा जग जाहेर छ।’ राष्ट्रपति, सभामूख र प्रधानन्यायाधीश महिला भइसकेको र उनीहरूले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेकोले महिला सक्षमताको पुष्टि भएको उनको भनाई छ।

उनले भनिन्,‘आजसम्म जो जो महिला महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो, कसैमाथि पनि काम गर्न नसकेको भनेर प्रश्न उठेको छैन। बरु, कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह भएको भनेर चर्चा तथा परिचर्चा भएका छन्।’ त्यति मात्रै नभएर देशको हरेक निकायमा जो जो महत्त्वपूर्ण पदमा पुगेका महिलाहरू छन्, उनीहरूले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको पनि उनले दाबी गरिन्।

देशको नेतृत्व लिनेगरि महिला प्रधानमन्त्री बन्ने कुरा पनि सम्भव रहेको उनले सुनाइन्। उनले उपयुक्त परिस्थिति र महिलामाथि विश्वास प्रकट हुँदा महिला प्रधानमन्त्री बन्न सक्ने कुरा स्वाभाविक हुने बताइन्। उनले अहिलेसम्म जुन जुन मोर्चा र जिम्मेवारीमा भए पनि महिला अधिकार र महिलाको मुद्दामा सबैबीच एकरूपता र कोहीबीच पनि विमति नरहेको स्पष्ट पारिन्। उनले भनिन्,‘एकताबद्ध भएर अघि बढ्दा नै अधिकार प्राप्त भएका हुन्। अब पनि एकताबद्ध भएर अघि बढ्नुपर्छ। यसमै हाम्रो जित छ।’