राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध खनिए डा. लोहनी

Dr. Prakash Chandra Lohani
लाेकपाटी न्यूज

काठमाडौं, १६ मंसिर । एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने, ‘हामीबीच एकताको छलफल चलिरहेको छ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले तीनवटै राप्रपाबीच एकता भयो भने ठूलो शक्ति हुने दाबी गरे । उनले भने, ‘तीनवटै राप्रपाबीच एकताको प्रयास भएको हो । तर, फ्रेमवर्क डकुमेन्ट बनाउन उहाँहरु मान्नुभएन । त्यही भएर एकता भएन् । तर, हामी र पशुपतिजीबीच छलफल भैरहेको छ । कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट साथीहरुपनि हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ । सम्भवतः अब एक साताभित्र एकता हुन्छ ।’

उनले कमल थापा नेतृत्वको राप्रपासँगपनि एकताको लागि आफूहरु खुल्ला रहेको सुनाए । उनले भने,‘राप्रपाका असन्तुष्ट साथीहरुसँगपनि हाम्रो लगातार छलफल भएको छ । हामी सकेसम्म चाँडै एकता गर्छौं ।’

डा. लोहनीले काठमाडौंमा आइतबार सम्पन्न हुने ‘एशिया प्यासिफिक समिट–२०१८’ को कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै आपत्ति जनाए । त्यस्तै उनले यो कार्यक्रमको तामझामको लागि कमसेकम रु. दुई करोड खर्च सरकारले गरेको आरोप लगाए ।

उनले भने, ‘डेलिगेट्स ल्याउने खर्च आयोजक संस्थाले नै गरेको छ । तर, यसको तामझामको लागि नेपाल सरकारले ठूलो खर्च गरेको छ ।’ सरकारले यो विवादित संस्थासँग सहकार्य गर्नुको कारण के हो भन्दै उनले प्रश्नसमेत तेर्साए ।

डा. लोहनीले भने, ‘नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठूलाबडाका दम्पतिसहित आशिर्वाद लिने काममा सिमित रहेको देखिन्छ । युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो ।’

दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० दम्पतिलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य रहेको डा. लोहनीको टिप्पणी छ ।

नेपाल सरकारले विवादस्पद संस्थाको बजारीकरण र बढावा दिन, र उनीहरुको हातबाट आर्शिवाद लिने काम किन गर्यो भन्दै लोहनीले पटक–पटक प्रश्न गरे । उनले अझै प्रश्न गरे, ‘कतै नदेखिनेगरी उनीहरुबीच लेनदेन त भएको छैन ? कतै नदेखिनेगरी नेपालको राष्ट्रियता, गरिमा र अस्मिता बेचबिखन त भएन ?, त्यही भएर हाम्रो पार्टीले सम्मेलनमा भाग नलिएको हो । हामी सरकारले आयोजना गरेको भोजमा पनि सहभागी भएनौं ।’

सरकारको काममा पनि व्यापक ह्रास आएको उनको भनाइ छ । उनले भने, ‘सरकारी क्षमता घटेको छ । मन्त्रीहरु लगामविहीन भएका छन् । राष्ट्रपतिलाई कसैलेपनि साइकल चढेर हिँड्नुहोस् भनेर भनेको छैन । तर, सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले के अब राष्ट्रपतिले साइकल चढेर हिँड्नुपर्ने हो भनेर अभिव्यक्ति दिनुभयो । राष्ट्रपतिलाई किन यति महँगो गाडी चाहियो ? अमेरिकाको राष्ट्रपतिलेजस्तो १८ करोडको महँगो गाडी किन चढ्नपर्यो ? हाम्रो राष्ट्रपति कुन ब्याकग्राउण्डबाट आउनुभएको हो र यत्रो महँडो गाडी चढ्नुपर्ने ? अब गाडीमात्रै हो र अरु के के चाहियो भनिएको छ । अब छाडा मन्त्री भएपछि के भन्ने ?’

त्यस्तै उनले राष्ट्रपतिलाई अहिले बसेको ठाउँ किन साँघुरो भएको भनेर प्रश्न गरे । उनले थपे, ‘अहिले पनि १५० रोपनी छँदैछ । तर, अब अझै १९३ रोपनी चाहिने अरे ? पहिलेको राजामहाराजाभन्दा ठूलो दरबार चाहिने ? यो गरिब देशलाई धनी देखाउनकै लागि हो जस्तो लाग्छ ।’

उनले जनताले विश्वास गरेर वर्तमान सत्तारुढ दल नेकपालाई दुई तिहाई मत दिएको तर अब यस्तै भयो भने सँधै दुई तिहाई छ भन्ने नहुने भन्दै सचेत गराए ।