कोरोना सन्त्रास : नेपालीलाई कतार प्रवेशमा रोक

प्रतिनिधि तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ)का अनुसार नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय भएको गल्फ टाइम्सले जनाएको छ। यो निर्णय आज (सोमबार) देखि लागु हुनेछ।

कतार एयरवेजले इटालीको सम्पूर्ण उडान रद्द गरेका बेला त्यहाँको सरकारले थप १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कोरोना भाइरसको रोकथामका लागि यो निर्णय लिइएको बताइएको छ। यसको असर पर्यटक, स्थायी बसोबास गर्ने प्रवासी र कामदार भिसामा आउनेहरुलाई पर्नेछ। कतार नेपाली कामदारको रोजगार गन्तव्य मुलूक हो। कतारको यो निर्णयले नेपाली कामदार पनि प्रभावित हुनेछन्।

कतारले आफ्ना नागरिकलाई अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न अनुरोध समेत गरेको छ। कतारमा हालसम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार मात्रै थप ३ जनामा संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्