‘हल्दारसाप, ‘डाक्टरसाप’लाई निकालम् ?’

ck_raut photo
लाेकपाटी न्यूज

काठमाडौं । आइतबार बिहान स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत यतिबेला प्रहरीको हिरासतमा थिए । दरबार मार्गको प्रहरी हिरासतमा रहेका राउतलाई सर्वोच्चमा उपस्थित गराउने तयारी थियो ।

प्रहरी उपरीक्षक दानबहादुर मल्ल राउतलाई सर्वोच्च लैजाने गाडीको व्यवस्था गर्दै थिए । यत्तिकैमा गाडी तयार भयो । प्रहरीका एक जवानले हवल्दारतिर फर्किएर सोधे, ‘हल्दारसाप, डाक्टरसापलाई निकालम् ?’ हवल्दारले एकछिन कुर्न निर्देशन दिए ।

गत भदौ २१ गते रौतहटबाट पक्राउ परेका राउतलाई केही समय अघिदेखि दरबारमार्गको प्रहरी हिरासतमा राखिएको थियो । राउतलाई प्रहरीका जवानहरुले ‘डाक्टरसाप’ भनेर बोलाउने रहेछन् । राउतलाई गाडीमा हालेर फर्किएपछि एक हवल्दारले भने, ‘पढेर मात्र के गर्नु, बुद्धि यस्तो छ ! पिएचडी गरेको मान्छे, देश टुक्राउँछु भन्छ ।’

प्रहरीले राउतमाथि देशद्रोहीको मुद्दा चलाएको छ । मधेशलाई नेपालबाट अलग गर्ने अभियानमा लागेका राउतलाई आइतबार पेशीका लागि सर्वोच्च अदालत उपस्थित गराइएको हो । सर्वोच्चले सोमबार (भोलि) का लागि फेरि पेशी तोकेको छ ।

के–के छन् सिके राउतका गतिविधि ?

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सि.के. राउतले राज्यप्रति घृणा उत्पन्न गराउने, युवा, बुद्धीजिवी, शिक्षक तथा मधेशी दलका अन्य प्रभावशाली नेता तथा कार्यकर्ताहरुलाई आफ्नो गठबन्धनमा आवद्ध गराउने काम गरिरहेका छन् । उनले स्वतन्त्र मधेशको पक्षमा प्रचारात्मक र अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएका छन् ।

राउतले स्थानीय तहसम्म आफ्नो संरचना गर्दै गर्ने प्रयासमा छन् । अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, युवा दस्ता भर्ना गर्ने, युवा दस्तालाई फौजी तालिम दिने र त्यसको पक्षमा माहोल खडा गर्न खोजेको देखिन्छ । प्रत्येक जिल्लाका जिल्ला स्तरीय नेताहरुलाई आफ्नो दलमा आवद्ध गराउन उनी उद्धत देखिन्छन् । उनले ग्रामीण बस्तीहरुमा संगठन बिस्तार गरिरहेका छन् ।

मधेश आन्दोलनमा अंगभंग भएका र मारिएका परिवारको मनोविज्ञान आफूतिर तान्ने दाउमा छन् राउत । यसका लागि उनले भूमिगत समूह नै परिचालित गरेको बताइन्छ । राज्यका स–साना गल्तीलाई उनले स्वतन्त्र मधेशको पक्षमा उपयोग गरिरहेका छन् । कम्तिमा १० देखि १२ वर्ष भित्रमा मधेशलाई अलग गराउने योजना रहेको उनले बताउँदै आएका छन् ।

डा. राउतले ‘एम’ भन्ने पुस्तक नै प्रकाशित गरेका छन्, जसको पूर्ण रुप एलाइन्स फर इन्डिपेन्डेण्ट मधेश हुन्छ । पुस्तकमा उनले स्वतन्त्र मधेशको पक्षमा वकालत मात्र गरेका छैनन्, मधेशलाई कसरी अलग गर्न सकिन्छ भन्ने रणनीति नै प्रस्तुत गरेका छन् । राउतले स्वतन्त्र मधेशको पक्षमा जनमत तयार पार्ने र अन्तिममा जनमत संग्रह गर्न बाध्य पारी मधेशलाई नेपालबाट अलग गर्ने रणनीति बनाएको सुरक्षा स्रोतको दावी छ ।