प्रधानमन्त्री ओलीलाई बुधबार डिस्चार्ज गर्ने तयारी

kp sharma oli
  • 89
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २६ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक दुई दिनमा अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सकले बताएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको र उनलाई एक-दुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्न सकिने उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका हुन्।

ओलीको गत बुधवार त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन उनी सोमवार अस्पताल भर्ना भएका थिए। उनको पछिल्लो स्वास्थ्यस्थिति सामान्य रहेको प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताए। उहाँको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन् डा. ज्ञवालीले भने, उहाँ भोलि वा पर्सिसम्म डिस्चार्ज हुन सक्नुहुन्छ।

ओलीलाई मिर्गौला दिने महिलाको स्वास्थ्यस्थिति पनि राम्रो भएको अस्पतालले जनाएको छ। चिकित्सकहरूका अनुसार प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गरेपछि ओली अहिले आराम गरिरहेका छन्। उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले बताएका थिए।

त्यसअघि उनलाई साधारण खाना दिइएको थियो। उनलाई फिजिओथेरपी पनि गराइएको थियो। सङ्क्रमणको जोखिम घटाउन उनलाई धेरै भेटघाट नगर्न सुझाव दिइएको छ। सबै कुरा सुधारोन्मुख भए पनि प्रधानमन्त्री ओली तत्काल काममा भने फर्किन नहुने डा। ज्ञवालीको भनाइ छ।

डा. ज्ञवालीले भने, उहाँले कम्तीमा पनि एक-डेढ हप्ता आराम गरेको राम्रो हो। शल्यक्रिया सफल भयो भनेर काममा गइहाल्नु राम्रो होइन। तर प्रधानमन्त्री ओलीले सामान्य टेबलवर्कु भने गर्न समस्या नहुने उनको भनाइ छ। बाह्र वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्