‘हामी सर्भिस डेलिभरी दिने ठाउँमा छौं, पाखुरा सुर्किने ठाउँमा छैनौं’

Pradeep_gyawali
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अराजकतालाई नियमनका लागि बहस चलाउन खोज्दा सरकारमाथि ठूलो प्रहार भइरहेको बताएका छन्। यसअघिका सरकारले गरेका कामको अपजस पनि वर्तमान सरकारले खेप्नु परेको उनले बताए।

‘अलिकति सोसल मिडियामा, अरु कतिपय ठाउँमा पनि साह्रै बढी स्वच्छन्दता देखापर्‍यो, यसले लोकतन्त्रलाई नै कमजोर गर्छ। लोकतन्त्र र छाडातन्त्र एउटै हुँदैन। लोकतन्त्र र अराजकता एउटै हुँदैन भनेर अलिकति नियन्त्रण गर्न होइन, नियमनका निम्ति बहसमात्रै चलाउन खोज्दा हामीमाथि ठूलो प्रहार भइरहेको छ,’ उनले भने।

उनले अगाडि भने, ‘यहाँसम्म कि २०७४ सालमा पास भएको मुलुकी फौजदारी संहिता र देवानी संहिता संयोगले हामी सरकारमा आएपछि २०७५ सालमा लागु भयो। त्यसमा समेत हामीलाई दोषी देखाउने प्रयास भयो। हामीमाथिको प्रहार यसरी पनि भयो।’

नेकपाको त्याग, तपस्या, बलिदानबाट लोकतान्त्र प्राप्त भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले नेकपा र वर्तमान सरकारको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाउने ठाउँ नरहेको समेत प्रष्टाए। यसअघि सात वर्षको, नौ वर्षको बच्चा, तीन तलामाथि बसेको बच्चालाई गोली लाग्दा समेत त्यतिबेलाका प्रधानमन्त्रीले संसदमा गैरजिम्मेवार जवाफ दिँदा लोकतान्त्रिक निष्ठामाथि प्रश्न नउठाउनेहरुले वर्तमान सरकारमाथि प्रश्न उठाउनु आपतिजनक विषय भएको उनको भनाइ छ।

अब सरकार मुख भन्दा पनि व्यवहारबाट जवाफ दिने बाटोमा अघिबढेको उनले बताए। ‘हामी आज डेलिभरी दिने ठाउँमा छौं। हामी मुखले होइन, व्यवहारले जवाफ दिनुपर्ने ठाउँमा छन्। गलत कुराहरु धेरै बेर टिक्दैनन्। शीतको आयु घाम लाग्दा सम्म मात्रै हो। बेकारमा किन शीतसँग वा बिहान आउने भुईंकुहिरोसँग पाखुरा सुर्किने ? म त्यस्तो ठान्छु,’ उनले भने।

यद्यपि उनले केही शैलीहरुमा परिवर्तन ल्याउन जरुरिरहेको समेत बताए। उनले नेपाली सञ्चारमाध्यम व्यवसायिकभन्दा पनि व्यापारिक घरानाहरुको स्वार्थबाट सञ्चालित भइरहेको आरोप लगाए। उनले भने, ‘नेपालका कतिपय सञ्चारमाध्यमहरु व्यवसायिक भन्दा पनि कतिपय ब्यापारिक घरानाहरुको स्वार्थसँग बढी एशोसियटेड भए भन्ने मलाई लाग्छ। सरकारले एकैचोटि सबैलाई ठेक्का दिन सक्दैन। ठेक्का पाउनेले पाउँछन्, नपाउनेले मिडिया प्रयोग गर्नेजस्तो स्थिति बन्यो।’

मन्त्री ज्ञवालीले अगाडि भने, ‘कतिपय सन्दर्भमा हामीले देखिरहेका छौं, एक महिनासम्म लगातार एउटा कुनै ईस्युमा कभर स्टोरी, फिचर र फलोअपहरु आउँछन्। एकतीसौं दिनको दिन ज्याकेट एड आएर पत्रिका सर्लक्क ढाकिएपछि त्यो मुद्दा नै सकिन्छ। हामी मुद्दामा कम, मुद्दामार्फत आउने बार्गेनिङहरुमा अल्झिएको देखिन्छ, कहिलेकाहिँ। मिडियाभित्र घुसेको यो प्रवृत्तिले पनि अलिकति काम गरेको छ।’