कोरोनाको सङ्क्रमण बढेपछि इटालीमा नाका बन्द

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण तीव्र बनेपछि इटलीमा देशभरिका नाका बन्द गरिएको जनाइएको छ । सङ्क्रमणको दर उच्च बनेपछि इटलीको सबै २० वटा प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको छ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपत्कालिन अवस्थाबाहेक कोही पनि घरबाट बाहिर ननिस्कन र समाजका कमजोर सदस्यको रक्षा गर्दै भाइरसको सङ्क्रमण रोक्न सरकार लागिपरेको बताएका छन् । इटलीमा गएको २४ घण्टामा थप ९७ जनाको ज्यान गएपछि कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ६३ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या ९ हजार एक सय ७२ पुगेको इटली सरकारले पुष्टि गरेको छ ।

चीनको वुहानबाट सुरु भएर एक सय १३ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म एक लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ । तीमध्ये ६२ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने चार हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । चीनमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अहिले अन्य देशमा सङ्क्रमण फैलने क्रम बढेको छ ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, जर्मनी, बेलायत, जापानलगायतका देशमा सङ्क्रमण फैलने क्रम बढिरहेको छ । यसैबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै इटलीका सबै खेलकुद गतिविधि स्थगित गरिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री ज्युसेप कोन्टेले आउँदो अप्रिल ३ गतेसम्मका खेलकुद गतिविधि स्थगित गरेको घोषणा गरे । भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएमा समय लम्बिन सक्ने बताइएको छ ।

इटालीका सबै खेलकुद गतिविधिहरु स्थगित गरिए पनि क्लबले र देशले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भने नियमित समयमै सञ्चालन हुनेछ । प्रधानमन्त्री कोन्टेले इटलीमा सभा सम्मेलनमा पनि प्रतिबन्धको घोषणा गरेका छन् । यसअघि इटलीको ओलम्पिक कमिटीले सबै खेलकुद कार्यक्रमहरु स्थगित गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्