नयाँ जनवाद र जनवादी संस्कृति

mao-tsetung
लोकपाटी न्यूज

लुसुन र उनको वरिपरिको वृत्तलाई छाडिदिने हो भने त्यतिबेरको सांस्कृतिक आन्दोलन रूसी प्रभावकै सेरोफेरोमा रुमलिएको देखिन्छ। सन् १९३० पछि नै मार्क्सवादी सौन्दर्य शास्त्रका बारेमा महत्त्वपूर्ण कृतिहरूको अनुवाद र प्रकाशन भएको भन्ने आइसियाओमिङको भनाइले पनि यसै सत्यको पुष्टि गर्दछ। उनको भनाइमा १९३० सम्म मार्क्स–एङ्गेल्सका साहित्य तथा कला सम्बन्धी रचनाहरूको चीनमा व्यवस्थित प्रकाशन तथा अध्ययन थिएन र लेनिनलाई समेत खारेज गरेर प्लेखानोभ, फिचे, बोग्दानोभ, मेहरिङ र लुनाचास्र्र्कीहरूका कृतिहरू र प्रोलेत्कुल्तका भनाइलाई आधिकारिकता दिइन्थ्यो।

वास्तवमा चीनको मौलिकता र विशिष्टतामा मार्क्सवाद, लेनिनवादको प्रयोग, विकास र सम्मृद्धि गर्ने या रूसी नक्कलको रूपमा चिनियाँ राजनीतिलाई लैजाने भन्ने बहस र विवादको प्रतिबिम्बन त्यतिबेरको सांस्कृतिक आन्दोलनमा परेको थियो। चुनाई सम्मेलनमा माओ नेतृत्व तहमा आएपछि मूलतः १९४० मा माओले नयाँ जनवादको राजनीति र नयाँ जनवादको संस्कृतिको अवधारणा प्रकाशमा ल्याएपछि यो समस्या हल भएको थियो। यो कार्यदिशा पार्टीभित्रको ‘वामपन्थी’ विचलनका विरुद्ध माओको संघर्षको परिणाम थियो।

नयाँ जनवाद र जनवादी संस्कृति

माओले १९४० मा प्रकाशमा ल्याएको नयाँ जनवादको राजनीतिले चीनको वर्ग संरचानात्मक स्थिति, अन्तर्विरोध, शत्रु, मित्र र संयुक्त मोर्चा लगायत चिनियाँ क्रान्तिको स्वरूप र दिशालाई प्रष्ट पार्‍यो। चिनियाँ क्रान्तिको बाटो रूसको भन्दा फरक हुने हुनाले यहाँ सांस्कृतिक आन्दोलनले पनि त्यसै दिशालाई पछ्याउँछ भनेर माओले चीनको विशेषतालाई प्रष्ट पारेर अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकले लिने क्रान्तिको बाटोलाई प्रस्ट पारे। माओको विशेष ध्यान मार्क्सवाद लेनिनवादलाई चिनियाँ परिस्थितिको विशेषता र मौलिकतामा कसरी लागू गर्ने र यसलाई कसरी थप समृद्ध तुल्याउनेमा नै रह्यो।
यसका लागि माओले राजनीति र सांस्कृतिक हरेक क्षेत्रमा अन्धनक्कल प्रवृत्तिका विरुद्ध लड्नु पर्‍यो। कुन नीति, कुन दिशा र को नेता हुने भन्ने कुराका साथै बाह्य मुलुकसितको स्वतन्त्र सम्बन्धको विकासमा समेत र स–साना कुरामा समेत रूसी निर्देशन र आदेशमा चलेको चिनियाँ कम्युनिस्ट पार्टीले लिएको संस्कृतिकै विरुद्ध पनि माओले सबैभन्दा पहिले संघर्ष गर्नुपर्‍यो। यो कुरा हामी नयाँ जनवादको दस्तावेजबाट सहजै अनुभूत गर्न सक्छौं र ‘एनान प्रवचन’बाट त सबैभन्दा बढी अनुभूत गर्न सक्छौं। यथार्थतः नयाँ जनवादको दस्तावेज चिनियाँ समाज र चिनियाँ कम्युनिस्ट आन्दोलनको विगत र वर्तमानको समीक्षा र भावी कार्यदिशाको रूपरेखा थियो।

चुनाई सम्मेलनपछि आफ्नो भूमिका बिस्तारित भएपछि माओले समग्र पक्षको विश्लेषण र संश्लेषण गरे। उनको एउटा जोड मौलिकता र अर्को जोड व्यापकतामा थियो। मौलिकता र व्यापकता अन्तर्सम्बन्धित थिए। यसको केन्द्रमा नयाँ जनवादी राजनीतिक उद्देश्य प्राप्तिका विभिन्न आधार र सन्दर्भहरू थिए। यसको एउटा महत्त्वपूर्ण पक्ष सांस्कृतिक मोर्चा थियो। सांस्कृतिक क्षेत्र सँगसँगै छापामार युद्ध, आधार इलाकाको निर्माण र प्रत्याक्रमण लगायत माओले अघि सारेको एउटा महत्त्वपूर्ण पक्ष जनसम्बन्ध विस्तार र जनदिशा लागू गर्नु थियो। प्रमुख दुश्मनका विरुद्ध बढीभन्दा बढी जनतालाई गोलवद्ध गर, यही नै हो माओको लडाइको विशिष्ट चरित्र। मूल उद्देश्य प्राप्तिका लागि जनमत सिर्जना र प्रतिरोध, यसको पछाडि यही उद्देश्य रहेको छ।

विशाल जनसङख्या भएको चीनमा बाहिरी सहयोग र समर्थन मात्र पुग्दो छैन। मूल कुरा मुलुककै आधारभूत वर्ग, तह र समुदायलाई समेटेर मात्र यो लडाइँ पूरा गर्न सकिन्छ भन्ने युद्ध योजना माओले १९३८ मै प्रष्टताका साथ उल्लेख गरेका छन्। सम्पूर्ण स्थितिलाई ध्यानमा राख, बहुसङ्ख्यकलाई ध्यानमा राखेर सोच र हाम्रा सहयोगीहरू सँग मिलेर काम गर’ दस्तावेज यसैको प्रमाण हो। १९३९ मा गएर चिनियाँ क्रान्तिका आधारभूत शक्तिहरूको उल्लेख गर्दै माओले श्रमजीवी वर्ग, किसान, बौद्धिक जगत र वुर्जुवा वर्गको प्रगतिशील हिस्साको नाम लिएर यसलाई प्रष्ट पारेका छन्।

माओले सर्वहारा वर्गले लड्ने लडाइँमा बौद्धिक सांस्कृतिक मोर्चाको भूमिकालाई उच्च महत्त्व दिएको र यसको कुशलतापूर्वक प्रयोग गरेको कुरा पछिल्ला दिनहरूमा अझ प्रष्टिएको छ। यो कुरा हामी नयाँ जनवादमा उल्लेखित ‘नयाँ जनवादको संस्कृति’ र ‘एनान प्रवचन’बाट थप अवगत गर्न सक्तछौं।

‘नयाँ जनवादको संस्कृति’ चिनियाँ सांस्कृतिक आन्दोलनको दार्शनिक, वैचारिक र व्यवहारिक तीन वटै क्षेत्रको कार्य दिशा र कार्यनिर्देशिका हो। सांस्कृतिक क्षेत्रका कार्यनीति, योजना र कार्यक्रमहरू, लडाइँका सारा मोर्चागत तयारी र तारतम्य यसैको सेरोफेरोमा केन्द्रित र विकसित छन्। माओले माथि भनेझैँ मौलिकता, व्यापकता र प्रतिरोध व्यापक आयामभित्र नयाँ जनवादको संस्कृतिको मूल्य निरूपण गरेका छन्। माओले पहिले दार्शनिक तथा सैद्धान्तिक तहमा मार्क्स, एङ्गेल्स र लेनिनलाई अगाडि राखेका छन्। चिनियाँ क्रान्तिको चरित्र, विशेषता र दिशाको आलोकमा चिनियाँ सांस्कृतिक आन्दोलनको विगत, वर्तमान र भविष्यको अभिरेखाङ्कन गरेका छन्।

चिनियाँ सांस्कृतिक आन्दोलनको आधारभूत प्रस्थापना र भावी दिशालाई अभिव्यक्त गर्ने केही उद्धरणहरू प्रस्तुत गर्नु आवश्यक देखिएको छ, १. कुनै विशेष संस्कृति कुनै समाज विशेषको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो। २. नयाँ संस्कृतिको हकमा यो नयाँ राजनीति र नयाँ अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो, यसले त्यसैको हितमा काम गर्छ।

३. यस नयाँ सांस्कृतिक शक्तिको सबैभन्दा ठूला र आँटिला अगुवा लुसुन हुनुहुन्थ्यो। उहाँ चिनियाँ सांस्कृतिक क्रान्तिका महारथी हुनुहुन्थ्यो। उहाँ ठूलो साहित्यिक मात्र होइन, एकजना ठूला विचारक र क्रान्तिकारी पनि हुनुहुन्थ्यो। ४. नयाँ जनवादी संस्कृति सर्वहारा वर्गको नेतृत्वमा चल्ने विशाल जनसमूहको साम्राज्यवाद, सामन्तवाद विरोधी संस्कृति हो।

५. वर्तमान चिनियाँ क्रान्ति विश्व सर्वहारा समाजवादी क्रान्तिको अङ्ग भएकोले चीनको वर्तमान नयाँ संस्कृति पनि विश्व सर्वहारा समाजवादी नयाँ संस्कृतिको अङ्ग हो र यसको ठूलो सहयोगी पनि हो। यस अंशमा समाजवादी संस्कृतिका प्रमुख तत्त्वहरू रहे पनि समग्र रूपबाट हेर्दा राष्ट्रिय संस्कृति विश्व सर्वहारा समाजवादी नयाँ संस्कृतिको धारामा सम्पूर्ण रूपबाट समाजवादी संस्कृतिको हैसियतले होइन, बरु व्यापक जनसमूहको सामन्तवाद साम्राज्यवाद विरोधी नयाँ जनवादी संस्कृतिको रूपमा सामेल भएको छ।

६. चीनको संस्कृतिको आफ्नै स्वरूप हुनुपर्दछ, यसको आफ्नै राष्ट्रिय स्वरूप हुनुपर्दछ। विषयवस्तुमा नयाँ जनवादी र शैलीमा राष्ट्रिय। यही हो हाम्रो आजको नयाँ संस्कृति।

७. क्रान्तिकारी संस्कृति व्यापक जनसमूहका लागि एक शक्तिशाली क्रान्तिकारी हतियार हो। क्रान्ति सुरु हुनुभन्दा अगाडि यसले क्रान्तिकारी विचारधारा फैलाएर क्रान्तिको निम्ति सैद्धान्तिक बाटो तयार पार्छ। क्रान्तिताक स्वभावतः क्रान्तिकारी मोर्चामा यो एउटा महत्त्वपूर्ण एकदमै महत्त्वपूर्ण जुझारु मोर्चा हो। यस सांस्कृतिक मोर्चामा लागेका क्रान्तिकारी सांस्कृतिक कर्मीहरू विभिन्न दर्जाका कमाण्डरहरू हुन्।

८. सबै प्रगतिशील सांस्कृतिक कार्यकर्ताहरूले जापान विरोधी लडाइँमा आफ्नै निजी सांस्कृतिक सेना राख्नैपर्दछ र यो सेना भनेको व्यापक जनसमूह हो। जनतासित नभिज्ने क्रान्तिकारी सांस्कृतिक कार्यकर्ता सेना नभएको एउटा कमाण्डरझै हो, जसको गोली गट्ठाले बैरीलाई परास्त गर्न सकिँदैन।

माथि लामो उद्धरण लिनुको अर्थ र सन्दर्भ माओले प्रतिपादन गरेको सांस्कृतिक आन्दोलनको दिशालाई प्रस्ट पार्नु हो। यथार्थतः यो माओले लडेको लडाइँको मोर्चाको मानचित्र हो। र प्रष्ट कुरा के हो भने माओको सांस्कृतिक चिन्तनको महत्त्वपूर्ण दस्तावेज एनान प्रवचन यसै प्रस्थापनाको सैद्धान्तिक तथा व्यवहारिक प्रस्तुति हो।

माओको एनान प्रवचन नौलो जनवादको राजनीति र संस्कृतिको घोषणाको दुई वर्षपछि अर्थात् १९४२ मा आएको थियो। सांस्कृतिक सेना, प्रतिबद्धता, साहित्य र राजनीतिको अन्तर्सम्बन्ध, रूप र सार, यथार्थ र प्रतिबिम्बन, पक्षधरता र उपयोगिता र संयुक्त मोर्चा जस्ता विषयमा केन्द्रित यो प्रवचनलाई मार्क्सवादी सौन्दर्यशास्त्रको क्षेत्रमा महत्त्वपूर्ण दस्तावेजको रूपमा लिइन्छ। यसको र्सार्वभौम र विशिष्ट दुवै महत्त्व रहेको छ। दार्शनिक र वैचारिक सार्वभौमिकतामा रहेर माओले त्यस समयको चिनियाँ जनसांस्कृतिक आन्दोलनको आवश्यकता र औचित्यलाई प्रष्ट पारेका छन्। नयाँ जनवादको सैद्धान्तिक प्रस्थापनामा उठाएका मान्यताहरू, मूलतः मौलिकता, व्यापकता, जनसम्बन्ध र प्रतिरोधात्मकताको समग्रताको जगमा ‘एनान प्रवचन’ केन्द्रित छ।

त्यतिबेला प्रतिक्रियावादीहरूसितको संघर्ष मात्र नभई पार्टीभित्रकै दुईलाइन संघर्षको रोचक तर निर्मम लडाइँको चित्र पनि यसमा पाउन सकिन्छ। यो प्रवचन सार्वभौम र गहन छ। तत्कालीन चिनियाँ पार्टीको सांस्कृतिक आन्दोलनमा देखिएको वैचारिक संघर्षसित जोडेर यसको अध्ययन गर्दा यो एकदमै रोचक पनि अनुभूत हुन्छ। खास गरेर अराजकतावादीहरू, अन्धनक्कलवादीहरू र ट्रटस्कीवादीहरूसितको माओको लडाइँको गम्भीर र रोचक पक्ष यस प्रवचनमा अभिव्यक्त भएको छ। त्यसैले पनि यसको सार्वभौम सौन्दर्यशास्त्रीय अर्थ र सन्दर्भ रहेको छ।

रूसमा ट्राटस्कीवादीहरू र जिनानोभ र कामोनोभ विरुद्धको आन्दोलनलाई अगाडि बढाइरहेका स्टालिनको ध्यान चीनमा पनि उत्तिकै रूपमा थियो। रूसमा आफूले विदेशी दलालहरूका विरुद्ध चलाएको अभियानको नकारात्मक प्रभाव चीनमा नपरोस् भन्ने उनी चाहन्थे। रूसमा ट्राटस्कीवादीहरूको प्रभाव घट्दै गएको भए पनि चीनमा बौद्धिक र सांस्कृतिक क्षेत्रमा ट्राटस्कीवादीहरूको भूमिका भने निकै सक्रिय देखिन थालेको थियो। जङ्गली फूलका लेखक वाङसिवेइले यसको नेतृत्व गरेका थिए। एनान गोष्ठीमा माओले नाम नलिइकन पूँजीपतिवर्गबाट आएका लेखकहरू भनेर सिवेइमार्काका लेखकहरूको भण्डाफोर गरेका छन्।

एनान आधार इलाकाबाट प्रकाशित हुने लिबरेशन डेली नामक पत्रिकामार्फत् मात्र नभई ट्राटस्कीको पक्ष र माओको विरुद्धमा पर्चा र पोस्टरहरू समेत प्रकाशित हुनुका साथै आधार इलाकाकै विरुद्धमा पनि लेखहरू छापिन थालेपछि माओले राजनीतिक र सांस्कृतिक क्षेत्रमा यस किसिमका प्रवृत्तिका विरुद्ध अभियाननै चलाएका थिए। ट्राटस्कीको जीवनी चिनियाँ भाषामा उल्था गरेर ट्राटस्कीलाई महान् भन्ने र स्टालिनको विरोध गर्ने वाङसिवेइले पछि आफू कोमिन्ताङको जागिरे भएको कुरा स्वीकारेका थिए।

(चाउयाङ, अ ग्रेट डिबेट अन द लिटरेरीथ्योरी, तेस।, बेजिङःफर्हेन लङ्वेज प्रेस, १९६५। (यस पुस्तकमा चाउयाङले त्यतिबेलाको अन्तर्विरोध र विवादका बारेमा कुरा उठाए पनि पछिल्ला दिन खास गरेर सांस्कृतिक क्रान्तिकालमा भने उनकै भूमिका ठीक नभएका कारण उनीमाथि पनि कार्वाही गरिएको थियो।)

माओले पार्टीलाई नयाँ दिशा र गति दिन खोजे पनि सांस्कृतिक क्षेत्रमा हिजो लुसुनकै पाला देखिका ट्राटस्कीवादीहरू, कलावादी र अराजकतावादीहरूले अड्डा जमाएका थिए। दिङलिङ, चेनसिसिया, फेङसुफेङ, चियाङफेङ, सियाओचुवान, वाङसिवेइ जस्ता लेखकहरू अभिव्यक्ति स्वतन्त्रताका नाममा आधार इलाकामा बसेर ट्राटस्कीवाद र अराजकतावादको पुर्पक्ष गरिरहेका थिए। माओको एनान प्रवचनको सूक्ष्म रूपले अध्ययन गर्दा यी सबै विरुद्धको लडाइँ प्रष्ट रूपमा बोध गर्न सकिन्छ। सांस्कृतिक क्षेत्रमा माओको सन् १९४९ सम्मको मूल लडाइँ एनान गोष्ठीको महत्त्व र सार्थकतालाई अगाडि बढाउने र यसको विरोध गर्नेहरू बीचको संघर्षका साथ विस्तारित र विकसित भयो।

सन् १९४२ मा माओले ‘रुढीग्रस्त लेखनको विरोध गरौं’ मार्फत विचार निर्माणको पक्षमा जोडदार आवाज उठाएर १९४४ मा गएर ‘सांस्कृतिक मोर्चामा संयुक्त मोर्चा‘मार्फत् फुटेर र विभाजित भएर होइन, एकताबद्ध भएर जापानी अतिक्रमणका विरुद्ध लड्न आह्वान गरे। सांस्कृतिक रूपबाट सुसंस्कृत नभएको कुनै पनि सिपाहीले युद्ध जित्न सक्तैन र भुत्ते चक्कुले दुश्मनमाथि प्रत्याक्रमण गर्न सक्तैन भनेर माओले सशक्त, सङ्गठित, योजनाबद्ध र आक्रामक र प्रतिरोधात्मक सांस्कृतिक आन्दोलनमा जोड दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्