रिङरोडमा नयाँ ट्राफिक नियम : फेरिएकाे नियममा के छ ?

Ring road
लोकपाटी न्यूज

काठमाडौं, २८ फागुन। उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले लेन प्रयोगको नयाँ नियम कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (दुर्त) लेनबाट मात्र चलाउने व्यवस्था चैत्र २ गतेदेखि लागू गरिने भएको छ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनले भने – “यो सडक व्यबस्थित र सुविधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्रा्ष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको छ।”

उक्त सडक खण्डलाई व्यबस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुदाँ यसको प्रभाबकारी कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायरसंघ संस्था, यातायात सञ्चालक र व्यवसायीहरू, नागरिक समाज आदिसँग छलफल गरेको छ। यस नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरि अनुगमनका लागि सम्बन्धित सम्पूर्णबाट प्रतिनिधित्व हुने गरि समितिसमेत गठन गरिएको छ।

देशकै पहिलो १० कि.मी. लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ् रहेको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए।

महाशाखाले उक्त सडक खण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ। यस नियम यसअघि नै महाशाखाले जडिवुटी–सूर्यविनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्