कोरोना नियन्त्रणका विषयमा पर्यटनमन्त्री भट्टराई र चिनियाँ राजदूतबीच छलफल

Yogesh-bhattarai n chniya rajdut pic
लाेकपाटी न्यूज

काठमाडौं, २७ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे छलफल भएको छ। मंगलबार भएको भेटमा पर्यटनमन्त्री भट्टराई र चिनियाँ राजदूतबीच कोरोना रोकथामको विषयमा छलफल भएको हो।

भेटमा कोरोना भाइरसको संक्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपाय र पूर्व तयारीबारे छलफल भएको पर्यटन मन्त्रीको नीजी सचिवालयले जनाएको छ। कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारेमा जानकारी गराउँदै राजदूत यान्छीले कोरोना सङ्क्रमणबाट पीडित ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी गराइन्।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताइन्। उनले कोरोनाको सम्भावित जोखिमबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गरिन्।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन सरकार तयार रहेको उनले बताइन्। भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै कोरोनाको जोखिम रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए। अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालमा शैयाको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा समेत मन्त्री भट्टराईले जानकारी गराए।