२८ देशसँग नेपालको व्यापार नाफामा

527131905
लाेकपाटी न्यूज

मंसिर १७, काठमाडौं । उच्च आयातसँगै व्यापार घाटा तीब्र रुपले बढिरहदा २८ देशसँग भने नेपालको व्यापार नाफामा देखिएको छ । नेपालले १ सय ३८ देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा २८ वटासँग मात्र नाफामा देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अमेरिका, अष्ट्रिया, फिनल्याण्ड, लेबनान, स्लोभेनिया, आइसल्याण्ड, अफ्गानस्तिान, लक्जमवर्ग, माल्दिभ्स, सुडान, कोलम्बिया, उरुग्वे, काजकिस्तान, पानामा लगायतका २८ देशसँगको व्यापार नाफामा रहेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै अमेरिकासँग नेपालको व्यापार ४७ करोड १० लाख रुपैयाँले नाफामा रहेको छ ।

४ महिनामा अमेरिकाबाट ३ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात हुदा नेपालबाट ३ अर्ब ८० करोड ७२ लाख रुपैयाँ बराबरको समाग्री निर्यात भएको छ । यस्तै फिनल्याण्डसँग २० करोड, अष्ट्रियासँग १८ करोड, अफ्गानस्तिानसँग १ करोड ९७ लाख र माल्दिभ्ससँग ५४ लाख रुपैयाँले नाफामा रहेको भन्सारको तथ्याङक छ । नेपालबाट गलैंचा, कफी, वनस्पती घ्यु, धागो, लगायतका सामाग्री तेस्रो मुलुकमा निर्यात हुदै आएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा मुलुकबाट २९ अर्ब २८ करोड रुपैयाँको निर्यात हुदा भारत लगायतका तेस्रो मुलुकबाट ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँको सामाग्री मुलुक भित्रिएको छ । पछिल्लो ४ महिनामा मुलुकको व्यापार घाटा ४ खर्ब ५४ अर्ब पुगेको भन्सार विभागको तथ्याङ्क छ । समाचार कान्तिपुरमा छ ।