सेनाका एक अधिकृतले पाए राष्ट्रसंघमा सेक्टर कमाण्डरको जिम्मेवारी

लोकपाटी न्यूज

काठमाडौं। नेपाली सेनाका अर्का एक अधिकृतलाई संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी मिलेको छ। सेनाका सहायकरथी दीपक बानियाँलाई साउथ सुडानको अनमिस मिसनमा सेक्टर कमाण्डरको जिम्मेवारी मिलेको हो।

साउथ सुडानस्थित अनमिस मिसनमा सेक्टर कमाण्डर फोर्स कमाण्डर र डेपुटी फोर्स कमाण्डरपछि तेस्रो उच्च तहको पद हो। उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरीको २ हजार फौज समेत कार्यरत छ। उक्त मिसनअन्तर्गत २२ हजार फौज रहेको छ। हाल जुम्लास्थित सेनाको २४ बाहिनीको बाहिनीपति रहेका बानियाँ सेक्टर कमाण्डरका रूपमा छनौट भएका हुन्। उनी २७ बेसिकका सैनिक अधिकृत हुन्।

अनमिस मिसनमा नर्थ, इस्ट, वेस्ट, साउथ र जुवा गरी पाँच वटा सेक्टर रहेका छन्। यसअघि सेनाकै सहायकरथी नैनराज दाहाल पनि दुई वर्षअघि मात्र साउथ सुडानमा सेक्टर कमाण्डरका रूपमा छनौट भएका थिए। त्यसै गरी कंगोमा नेपाली सेनाका सहायकरथी देव घले र लोक थापा मगर र पूर्व युगोस्लाभियामा सहायकरथी सरोजराज शर्माले उक्त जिम्मेवारी पाइसकेका छन्।

नेपाली सेनाका उपरथी ईश्वर हमाल गत महिना मात्र अनडफ मिसनमा फोर्स कमाण्डरका रूपमा छनौट भएका थिए। विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने संसारका १ सय २२ मुलुकमध्ये नेपाल गत साता मात्र पांचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको थियो।

संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न १२ (बाह्र) वटा द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ भएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु कार्यरत रहेका छन्। नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जनाको फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्